सम्पादकीय : कर्णाली समृद्धिको ढोका

कर्णाली प्रदेश सरकारले मुलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडकअन्तर्गत सुरुवाती बिन्दु फलाटे–रानीघाट खण्डको झण्डै सात किलोमिटर सडकको स्तरोन्नति गर्ने प्रक्रिया थालेको छ । लामो समयपछि कर्णालीलाई दक्षिणको तराईसँग जोड्ने छोटो मार्गको पहिलो खण्ड स्तरोन्ती कार्यको सुभारम्भ भएको छ । कुल १० किलोमिटर सडकमध्ये ७ किलोमिटर सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्न बहुवर्षीय ठेक्का अन्तर्गत निर्माण कार्यको थालनी भएको हो ।
आगामी ३० पुस २०८३ मा सम्पन्न गर्ने कार्यदेशसहित सडक स्तरोन्तीको शिलान्यास भएको छ । आर्थिक वर्ष २०७६/७७ यता कर्णाली प्रदेश सरकारले यो सडकलाई प्राथमिकतामा राख्दै आएको छ । तर प्रगति भने निराशाजनक छ । २०७६/७७ मा दुई खण्डमा विभाजन गरेर सडक निर्माणको ठेक्का भएको थियो ।
पहिलो खण्डअन्तर्गत वीरेन्द्रनगर उपत्यकाको मूलपानीबाट रानीघाटसम्म १० किलोमिटर सडक स्तरोन्नतिका लागि ९ पुस २०७६ मा पूर्वाधार निर्देशनालय र श्याम एन्ड शंकर कन्स्ट्रक्सनबीच १० करोड २६ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
८ फागुन २०७८ सम्म निर्माण सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको भए पनि सडकले अझै पूर्णता पाउन सकेको छैन । यही खण्डमध्येको केही उपखण्ड स्तरोन्नति गर्न २०७९ माघमा अर्को निर्माण कम्पनीसँग दुई करोड ७५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । १३ मंसिर २०८० सम्ममा काम पूरा गर्ने सर्त भए पनि हालसम्म सात सय मिटर मात्र कालोपत्र भएको छ ।
प्रदेश सरकारले उक्त खण्डको निर्माण कार्य अघि बढाएसँगै रानीघाटमा पुल निर्माणका साथै रानीघाट–तेलपानी खण्डको सडक निर्माणमा आएको अवरोधलाई समाधान गर्न सरोकारवाला निकायलाई दबाब पुग्ने जनाइएको छ । मूलपानी–रानीघाट–भुरीगाउँ–तेलपानी सडक विस्तारको मुद्दा अहिलेको भने होइन ।
१६ असार २०७७ मा रानीघाट–तेलपानी सडकअन्तर्गत दोस्रो खण्ड रानीघाटदेखि तेलपानीसम्मको सडक स्तरोन्नति गर्न पूर्वाधार निर्देशनालय सुर्खेत र थोदुङ/जागृति जेभीबीच ठेक्का सम्झौता भएको थियो । तर सम्झौता मिति समाप्त हुन लाग्दा सडकको १० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।
२२ माघ २०८२ सम्म निर्माण सम्पन्न गर्ने गरी १३ करोड २६ लाखमा सम्झौता भए पनि हाल रुख कटान र जग्गा भोगाधिकारको अनुमति प्राप्त नहुँदा काम अघि बढ्न सकेको छैन । भुरीगाउँबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको दूरी ५१ किलोमिटर छ ।
यो सडक विस्तार भएको खण्डमा भुरीगाउँबाट वीरेन्द्रनगर एक घण्टाभित्रै पुग्न सकिन्छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–२, भुरीगाउँको अम्रेनीदेखि कर्णाली प्रदेशको बराहताल गाउँपालिकाको तेलपानीहुँदै कर्णालीसम्म चिट्ठीपत्र पु¥याउन तत्कालीन जिल्ला पञ्चायतले २०२५ सालमा हुलाकी सडकका रूपमा ट्र्याक खोलेको थियो । राजनीतिक इच्छा शक्तिको अभावले ट्याक खोलेको झण्डै ५५ वर्षसम्म पनि सडकले पूर्णता पाउन सकेको छ ।
ढिलै भएपनि पहिलो खण्डको स्तरोन्ती प्रक्रिया अघि बढेसँगै कर्णालीलाई तराईसँग छोटो दुरीमा जोड्ने सपनाले सार्थकता पाउने अपेक्षा नागरिकको छ । विगतमा प्राथमिकताका साथ अघि सार्ने तर कानूनी प्रक्रिया पुरा नगर्ने परिपाटी दोहोरिनु हुँदैन । स्थानीयस्तरमा देखा पर्ने कानूनी तथा अन्य विवाद सुल्झाएर निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गराउनतर्फ सरोकारवाला निकायले ध्यान दिन आवश्यक छ ।
सुर्खेत–भुरीगाउँ जोड्ने यो सडक स्तरोन्नति हुन सके यहाँको पर्यापर्यटनसँगै बजार विस्तार हुनुका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेश कर्णालीसँगको छोटो दूरीमा जोडिन्छ । यसले कर्णालीलाई समृद्धिको बाटोमा लैजाने छ । हाल कर्णालीका नागरिकलाई बर्दिया तथा सुदूरपश्चिम जान बाँकेको कोहलपुर पुग्नुपर्ने बाध्यता छ ।






