सम्पादकीय: ठगीका मतियारले उन्मुक्ति नपाउन् 

सरकारले १४ वर्षअघि नै प्रतिवन्ध लगाएको नेटवर्किङ व्यवसायको अवैध धन्दामार्फत सुर्खेतमा व्यापकरुपमा बेरोजगार युवा ठग्ने कार्यमा संलग्न आठ व्यक्ति पुर्पक्षका लागि कारागार कार्यालय चलान भएका छन् । सुर्खेतको वीरेन्द्रनगर–४, मुलपानीस्थित स्काई ड्रिम इन्टरप्रेनर्स प्रालि नामको कम्पनीले ग्लोबल ओरियन्स प्रालिमा रोजगारी लगाइदिने प्रलोभनमा नेटवर्क सञ्जाल विस्तार गरी ठगी गर्ने कार्यमा संलग्न कम्पनीका सञ्चालक तथा कर्मचारीलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । ३० साउन २०८२ मा जिल्ला अदालत सुर्खेतका न्यायधीस दीपक ढकालको इजलाशले ठगीमा संलग्नलाई थुनामा राख्न आदेश दिएको हो । रोजगारीको प्रलोभनमा पारी बेरोजगार युवा तथा युवतीहरु व्यापक ठगिएको गुनासोपछि सुर्खेत प्रहरीले मुलपानीस्थित स्काई ड्रिमको कार्यालयमा छापा हानेर अनुसन्धान थालेको थियो ।

प्रहरीले एक्सन लिएपछि सम्पर्कमा आएका पीडितहरुले ५ साउन २०८२ मा स्काई ड्रिम इन्टरप्रेनर्स प्रालिमार्फत ग्लोबल ओरियन्स नेपाल प्रालिमा सीप सिकाई आकर्षक तलब सुविधासहित रोजगारी दिने प्रलोभनमा ठगिएको उजुरी दिएपछि उनीहरु पक्राउ परेका थिए । उनीहरु पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आफूहरु ठगिएको भन्दै ५१ जनाले  मुद्दा दर्ता गराएका थिए ।

यसरी आएका उजुरीको आधारमा अनुसन्धान थालेको सुर्खेत प्रहरीले ६४ लाख विगो र कैद सजायको माग गर्दै २७ साउन २०८२ मा जिल्ला अदालतमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा अदालतले दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । अन्य ६ जनाबाट अदालतले धरौटी मागेको छ । यद्यपी, धरौटी मागेर छाड्न भनिएकाहरु भने कारागार मुक्त हुने छैनन् । उनीहरुविरुद्ध पुनः जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ठगीको उजुरी परेपछि ६ जना नै कारागारबाट नछुट्ने भएका हुन् । उनीहरुविरुद्ध थप ३५ बढी युवायुवतीहरुले ठगिएको उजुरी दर्ता गरापछि धरौटी लिएर छाड्न भनिएकाहरुलाई पुनः कारागार चलान गरिएको छ । स्काई ड्रिम नामक कम्पनीको माध्यमबाट ग्लोबल ओरियन्सको बैंक खातामा सीप सिकाएर आकर्षक रोजगारी दिने प्रलोभनमा पारी प्रतिव्यक्ति ५० हजारदेखि दुई लाख ६० हजारसम्म रकम पठाएका प्रमाणसहित थप उजुरी आउन थालेपछि उनीहरुलाई थुनामै राखेर अनुसन्धान गर्ने निचोडमा प्रहरी पुगेको हो । प्रहरीका अनुसार प्रतिवन्धित नेटवर्किङ व्यवसायको ठगीमा परेका युवाहरु अधिकांश २५ वर्षमुनिका र कक्षा १२ सम्म अध्ययन गर्ने बढी छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट झण्डै पाँच सय बढी युवायुवतीहरु यस प्रकारको ठगीको सिकार बनेका छन् । यसरी ठगिनेहरु पढाईका शिलाशिलामा वीरेन्द्रनगरमा कोठा भाडामा बस्नेहरु बढी रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । युनिटी र हर्बो इन्टरनेसनललगायतले पिरामिड शैलीमा सञ्जाल विस्तार गरी सर्वसाधारणको अर्बौं रकम ठगी गरेको व्यापक गुनासोपछि १५ चैत २०६८ मा सरकारले यस्तो व्यवसायमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो । सरकारको नेटवर्किङ व्यवसायमा प्रतिबन्ध लगाउने उक्त निर्णय कानुनसम्मत भएको फैसला १४ वर्षअघि नै सर्वोच्च अदालतले गरिसकेको थियो । तर, सर्वोच्चको फैसला अपव्याख्या गरी सर्वसाधारण व्यापक ठगिएको नेटवर्किङ व्यवसायलाई २०७७ असारबाट सरकारले सञ्चालनको इजाजत दिन सुरु गरेसँगै पुनः सर्वसाधारण ठगिने क्रम बढ्दै गएको छ । व्यक्तिगतका लाभका लागि नेटर्वक सञ्जाल बनाएर ठगीमा संलग्न मतियारहरुले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हँदैन । यसरी सञ्जाल बनाएर युवाहरुबाट ठगिएको रकमको ब्याजसहित फिर्ता हुनु पर्दछ । सोझासाझा ठग्नलाई देशभर फैलिएका यस्ता ठगहरुका सटर तत्काल सदाका लागि बन्द गरिनु पर्दछ ।

सम्पादकीय: ठगीका मतियारले उन्मुक्ति नपाउन् 

कर्णालीमा बन्यो जीवनाशक विषादी व्यवस्थापन ऐन :

सम्पादकीय: ठगीका मतियारले उन्मुक्ति नपाउन् 

हरितालिका तीजमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

Leave a comment

Your email address will not be published. Required fields are marked *