वडाबाट विकासको मोड : टोल–टोलमा बेलु र मनमायाको प्रभाव

सुशिल खड्का
सुर्खेत, ९ भदौ।
समाज विनाको यात्रा व्यर्थको हुन्छ । समाजका सबै व्यक्ति अगुवा अर्थात् नेतृत्वदायी भूमिका लिएर अघि बढ्न पनि त सक्दैनन् । तर फेरि त्यहीँ समाजलाई सही लयमा लम्काइदिन कोही व्यक्ति अघि सर्नैपर्छ । समाजका हरेक समस्या सुन्ने, देखिएका समस्या समाजमै समाधान गर्ने, माथिल्लो तहमै पुग्ने समस्यालाई मार्गमा देखाइ दिन असल अगुवाको खाँचो समाजमा चाहिन्छ । अहिले वीरेन्द्रनगर १ का वडा सदस्य बेलु दर्लामी र मनमाया विक समाजको मियो बनिरहेकी छन् ।
२०७९ को स्थानीय तह निर्वाचनबाट वडा सदस्यमा निर्वाचित बेलु र मनमायाले सामाजिक हरेक समस्यालाई टोल तहमै समाधान खोजिदिने गरेका छन् । उनीहरुको दैनिकी समाजका हरेक समस्या र आवश्यकता बुझ्ने दिनचर्या बनेको छ । २०४२ सालमा जन्मिएकी बेलु राजनीतिमा लाग्नु पूर्व १७ वर्ष सहकारी क्षेत्रमा थिइन् । २०३६ सालमा साविक जर्वुटा गाविसमा जन्मिएकी मनमाया ईसाई दर्शन मण्डलीमा काम गर्थिन् । बेलु र मनमाया भूमिकाको हिसावमा प्रत्यक्ष रुपमा जनतासँग जोडिएकी पात्र हुन् । ‘सहकारीले प्रत्यक्ष नागरिकसँग भेट गराउथ्यो । हरेक नागरिकका पीडा र समस्याहरु बुझ्न पाइन्थ्यो,’ बेलु भन्छिन्, ‘सहकारीको यात्राले नै आज वडा सदस्यको जिम्मेवारी जनताले सुम्पिएर काम गरिरहेको छु ।’ दर्लामीले २०६० बाट त्रिपुरेश्वर सहकारी संस्थामा काम थालेकी थिइन् । स्नातकसम्म पढेकी दर्लाली मध्यम परिवारमा जन्मिएकी हुन् । सहकारीले समाजको यर्थाथता बुझाएकै कारण आफू जनप्रतिनिधिमा निर्वाचित भएको दर्लामी बताउँछिन् ।
श्रीमान र छोराहरुको साथले नै जनप्रतिनिधिको बाटोमा आउन सहज बनाएको मात्रै छैन् मनमायालाई गाउँ टोलका हरेक समस्याको पहिचान र तिनको निराकरणमा रक्षाकवच बनिरेहकी छन् । निर्वाचनमा प्रतिस्पर्धीलाई चुनाव कसरी जित्ने भन्ने पिरलो हुन्छ । जीतको त्यो क्षणपछि के गर्ने भन्ने अन्यौलता दुवैमा थियो । निर्वाचन जितेपछिको अनुभव सुनाउँदै दर्लामी भन्छिन्, ‘सहकारीमा हुँदा समाजबारे बुझाएको थियो । जनप्रतिनिधिपछि काम गर्दै समाजका खास समस्या पहिचानसँगै जनसम्पर्क बढायो । जसले पैरवी गर्नमा आत्मबल बढाइदियो ।’
वडा सदस्य पदले बस्ती, टोल, परिवार, जेष्ठ नागरिक, बालबालिका, महिला, सामाजिक हरेक घटनासँगै देखिएका हरेक समस्यालाई समाधान गर्नैपर्ने बाध्यता दिलाउने गरेको अनुभव बेलु र मनमायासँग छ । टोलमा देखिएका साना समस्याको पिरलोमा समाज अघि बढिरहेको छ । तर त्यसको चुरो समस्या पहिचान गर्न सकिरहेको छैन् । समाजका तिनै समस्यालाई बाटो देखाउने र समाधानको विधि खोजिदिँदा जनताले जनप्रतिनिधिप्रतिको विश्वास बढाइरहेको छ । ‘जनप्रतिनिधिपछि नागरिकका अपेक्षा बढी हुन्छन् । नबुझेको समाज, व्यक्तिको बुझाइ, नदेखिएका दृष्य यहीँ पदले जान्ने बनायो,’ बेलु थप्छिन्, ‘अचेल कता कता नागरिकहरु सामाजिक हुन छाड्दै गएको दृष्यले मन पोल्छ । प्रायः दैनिकी समाजका देखिएका तिनै विचलनलाई जोड्न टोलमै पुगेर समस्या समाधान गर्नमै बित्छ ।’
वीरेन्द्रनगर नगरपालिका १ नम्बर वडामा १४ वटा टोल छन् । यो वडामा १२ हजार बढी जनसंख्या छ । विपन्न, दलित बस्तीसँगै शिक्षाबाट बिमुखको संख्या धेरै छ । वडामा काम गर्दा एकाध बाहेक वडाध्यक्षसँग विमती भएर काम गर्नुपर्ने परिस्थिति बनेको छैन् । चार जना वडा सदस्यहरुमध्य सबैलाई कामको छुट्टाछुट्टै जिम्मेवारी दिइएको छ । बेलुले सामाजिक र शिक्षा क्षेत्र र बेलु स्वास्थ्य चौकीको उपाध्यक्षको जिम्मेवारी पाएकी छन् । चुनाव जितेपछि अहिलेको एक सक्षम वडा सदस्य बनाउनमा दुवैको क्षमता विकास, नेतृत्वदायी भूमिका, समस्या पहिचान र त्यसको समाधानको उपायको सारथी बनेको हो, दलित महिला केन्द्र नेपालद्धारा सञ्चालित निरन्तर मेन्टरसिप क्रियाकलापहरु । ‘चुनाव जितियो त्यसपछि कसरी काम गर्ने के हुन् जिम्मेवारी भन्ने अन्यौलता थियो,’ मनमाया भन्छिन्, ‘नेतृत्वदायी भूमिका निर्वाहमा स्थानीय सरकार सबलीकरण कार्यक्रमले थप उर्जा थपेको छ ।’ बेलु क्याम्पस पढ्दा नै राजनीतिप्रति झुकाव थियो भने मनमायालाई २०७९ को निर्वाचनको बेला संक्रिय राजनितिमा अघि बढाएको हो । बेलु २०७७ सालमा पूर्णकालिन राजनीतिमा सक्रिय भएकी हुन् । बेलु र मनमाया २०७९ को निर्वाचनमा टिकट दिएपछि निर्वाचन जितेकी हुन् । ‘अहिले राजनीतिज्ञप्रतिको बुझाइ नै गलत छ । यो भ्रमलाई चिर्न राजनीतिमै सक्रिय हुनेछु,’ बेलुले भनिन्, ‘अझै नेतृत्व गर्दै वडा र त्योभन्दा माथिल्लो पदसम्म पुग्ने लक्ष्य लिएको छु ।’
वडा सदस्यसँग टोलका महिलाहरुले विषयगत बजेटबारे जानकारी, आर्यआर्जन र सीपमुलक रोजगारी कसरी पाइन्छ भन्ने सवालमा रुची राख्ने गरेका छन् । मनमायाको अगुवामै अहिले खानेपानीको मुहान संरक्षणसँगै टोलटोलमा सहज वितरण कार्य मिलाइएको छ । ‘विगतमा अनुगमन र उपभोक्ता समितिको नेतृत्व लिँदा महिलाले पुरुषकै भनाईमा सहमति जनाउनुपर्ने अवस्था थियो,’ मनमाया भनिन्छ, ‘वडा सदस्य हुँदा महिलाहरुलाई जागरुकता गराएर विकास निर्माणका हरेक कामहरुमा अग्रसरतासँगै योजना तर्जुमादेखि टोलको जिम्मेवारी लिन अघि सर्ने गरेका छन् ।’ मनमायाका अनुसार वडामा १३० जना दलित बालबालिकालाई निःशुल्क पढाउने, अनाथलाई शैक्षिक सामग्री वितरण र निकै सास्ती पाइरहेको टोलमा सडक पूर्वाधारले गति लिएको छ ।






