वीरेन्द्रनगरको ड्रिम प्रोजेक्ट ‘भेरी लिफ्ट’ खानेपानी ग्लोबल टेण्डरमार्फत सुरु भयो प्याकेज–२ को प्रक्रिया

ओम शाही
सुर्खेत, १० पुस ।
नेपाल सरकारले विश्व बैंकको वित्तीय सहयोगमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग परियोजना अन्तर्गत कार्यान्वयन गरिरहेको भेरी लिफ्ट खानेपानी आयोजनाको दोस्रो प्याकेज अघि बढेको छ । संघीयता कार्यान्वयनपछि तीनैै तहका सरकारको लागत साझेदारीमा कार्यान्वयनमा आएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ड्रिम प्रोजेक्ट भेरी लिफ्टको प्याकेज–२ का संरचना निर्माण गर्न अन्तर्राष्ट्रिय सिलबन्दी बोलपत्र आह्वान भएको छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाइ कार्यालयले प्याकेज–२ का लागि ग्लोबल टेण्डर खुलाएको हो ।
आयोजना प्रमुख सन्जिवकुमार साहले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद विधिबाट सिलबन्दी बोलपत्रमार्फत निर्माण कम्पनी छनौट गर्ने प्रक्रिया अघि बढेको बताए । उनका अनुसार प्याकेज–२ अन्तर्गत झण्डै आठ सय किलोमिटर लम्बाइको पानी वितरण गरिने पाइप सञ्जाल निर्माण, झुप्रास्थित विद्यमान खानेपानी शुद्धिकरण प्रणालीको स्तरोन्नति, झुप्रा, खरिखोल, बोरिखोला तथा इत्रामस्थित इन्टेकको स्तरोन्नति, झुप्रा, खरिखोला–बोरिखोला तथा इत्रामबाट ट्रान्समिसन जडानका काम छन् ।
त्यस्तै, इत्राम क्षेत्रमा एक हजार पाँच सय घनमिटर क्षमताको ट्याङ्की निर्माण र स्वचालन तथा डाटा संकलन प्रणाली जडान पनि प्याकेज–२ अन्तर्गत पर्ने कार्यालय प्रमुख शाहले बताए । उनका अनुसार हाल प्याकेज–१ अन्तर्गतका संरचना निर्माणको काम जारी छ । उनले आयोजना कार्यान्वयन हुने क्षेत्रमा पर्ने चार सामुदायिक वनमध्ये दुईवटामा रुख कटानको काम सम्पन्न भएको छ । बाँकी दुईवटामा पनि रुख कटानको जारी छ । उनका अनुसार यी सामुदायिक वनमा सात किलोमिटर पाइप लाइनका लागि अबको केही दिनमा रुख कटानको काम सम्पन्न हुनेछ ।
साहले रुख कटानको काम सम्पन्न भएपछि आयोजनाको मुहान क्षेत्रमा इन्टेक र पानी शुद्धीकरण गरिने क्षेत्रमा संरचना निर्माणको काम सुरु हुने बताए । त्यसलगत्तै सात किलोमिटर मुख्य पाइप लाइन विस्तारको काम सुरु हुने उनको भनाइ छ । ‘प्याकेज–१ अन्तर्गत मुख्य प्रसारण लाइनमा पर्ने रुख कटानसँगै अमृत डाँडामा तीनवटा मुख्य ट्यांकी निर्माणको काम सुरु भएको छ,’ उनले भने, ‘बजार क्षेत्रका विभिन्न स्थानमा ट्यांकीसँगै पानी सप्लाई पाइप बिछ्याउने कार्य जारी छ ।’ उनले आयोजनाको मुहानसम्म पहुँचमार्ग निर्माणको काम पनि अघि बढाउन लागिएको छ । शाहका अनुसार पानी वितरणका लागि ३४ किलोमिटर पाइप लाइन बिछ्याउनु पर्नेमा हालसम्म २३ किलोमिटरको ठेक्का लागेर काम सुरु भइसकेको छ, जसमध्ये १२ किलोमिटर पाइप लाइन विस्तार सम्पन्न भएको छ ।
लामो समयको अध्ययनपछि गत वर्षको भदौमा वीरेन्द्रनगर नगरपालिकाले ड्रिम प्रोजेक्टका रूपमा आयोजनालाई कार्यान्वयनको चरणमा प्रवेश गराएको थियो । गत १३ भदौ २०८१ मा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाइ कार्यालय सुर्खेत र निर्माण व्यवसायीबीच निर्माण सम्झौता भई आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको थियो । प्याकेज–१ निर्माणको जिम्मा चिनियाँ कम्पनी सिञ्ज्याङ टर्म्स इन्टरनेसनल इकोनोमी एन्ड टेक्निकल को–अपरेसन कम्पनीले लिएको छ । आगामी तीन वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा ल्याउने गरी निर्माण कम्पनीसँग ३ अर्ब ५० करोड ८ लाख रुपैयाँ लागतमा सम्झौता भई काम अघि बढेको थियो । प्रदेशकै ठूलो नगरपालिकाका रूपमा रहेको वीरेन्द्रनगरमा आगामी २५ वर्ष (सन् २०५०) सम्म वृद्धि हुन सक्ने जनसंख्यालाई दीर्घकालीन खानेपानीको सहज आपूर्ति गर्ने लक्ष्यका साथ आयोजना अगाडि बढिरहेको छ ।
यसअघि ठूलो लगानीको आयोजना भएकाले बीचमा कुनै कारण डिजाइन फेल नहोस् भन्ने हेतुले पुनः परामर्शका लागि आयोजना कार्यान्वयनको जिम्मा पाएको खानेपानी तथा ढल व्यवस्थापन विभागले पटक–पटक विज्ञहरूको राय मागेको थियो । दुई खण्डमा गरी ६ अर्ब रुपैयाँको लागतमा सम्पन्न हुने यस आयोजनाको यसअघि नै तयार भइसकेको डीपीआरमाथि ‘रिभ्यु’ गर्न विभागले थप गरेको समयावधिमा इन्टेक निर्माण गरिने स्थान परिवर्तनबाहेक अन्य डिजाइन ठीक भएसँगै आयोजना निर्माणको चरणमा प्रवेश गरेको थियो ।
संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा चालु आर्थिक वर्ष २०८१–८२ बाट संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा एक सय मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’अन्तर्गत भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगर उपत्यकामा ल्याउन लागिएको हो, जसअनुसार संघीय सरकारको ८० प्रतिशत तथा प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको २० प्रतिशत लगानी हुनेछ ।
दिगो तथा सुधारिएको खानेपानी आपूर्ति र सरसफाइ सेवा उपलब्ध गराउनुका साथै सेवा प्रवाहमा स्थानीय क्षमतामा अभिवृद्धि गर्ने लक्ष्य राखेको आयोजनाको पहिलो चरणका काममा पानीको बहावलाई डाइभर्ट गरी नदी सतहदेखि करिब सात मिटर गहिरा दुईवटा इन्टेक निर्माण गरिनेछ । त्यसपश्चात् इन्टेकदेखि करिब चार सय मिटरको दूरीमा पानी प्रशोधन प्रणाली निर्माण, सात किलोमिटर पाइप लाइन विस्तारसँगै वीरेन्द्रनगर–११ स्थित अमृतडाँडामा मुख्य रिजर्भ ट्यांकी निर्माण हुनेछन् । यस्तै, पहिलो चरणकै काममा ट्यांकीदेखि वीरेन्द्रनगरसम्म मुख्य पानी प्रसारण लाइन विस्तार हुनेछ ।
दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गर्ने योजना छ । वितरण प्रणाली तथा डिस्ट्रिक्ट मिटर्ड एरिया (डीएमए) को बाँकी काम हुनेछ । पहिलो र दोस्रो चरणका लागि करिब ३–३ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । भेरीको पानी चार मिटर उचाइमा प्रशोधन ट्यांकीमा खसालिनेछ ।
त्यसपछि ट्यांकीको पानी करिब चार किलोमिटर लामो पाइपबाट अमृतडाँडामा निर्माण गरिने रिजर्भ ट्यांकीमा खसालिनेछ । पाँच सय ५० मिलिमिटर प्रतिसेकेण्ड क्षमताको पानी बोक्न सक्ने पाइप अमृतडाँडामा राखेर मुख्य ट्यांकीसम्म विस्तार गरिनेछ । अमृतडाँडामा ३० लाख क्षमताका तीनवटा रिजर्भ ट्यांकी निर्माण हुनेछन् । भेरीबाट पानी लिफ्टिङका लागि दुई मेगावाट विद्युत् आवश्यक पर्ने आयोजना प्रमुख साहले बताए ।
समयमै आयोजना सम्पन्न गर्ने गरी कार्यालयले आवश्यक प्राविधिक तथा व्यवस्थापकीय पक्षलाई ध्यानमा राखेर निर्माण व्यवसायी छनोट गरिएको उनले बताए । लिफ्ट प्रविधिमार्फत ल्याइने भेरीको पानी वीरेन्द्रनगर नगरपालिकामा १ देखि १३ वडासम्म वितरण गरिनेछ । तीन वर्ष निर्माणको समायावधि रहेको आयोजना निर्माण सम्पन्न भइसकेपछि पनि थप तीन वर्ष आयोजनाको सञ्चालन र व्यवस्थापको जिम्मा निर्माण कम्पनीले लिनेछ । त्यसपछि आयोजनाको सम्पूर्ण स्वामित्व वीरेन्द्रनगर नगरपालिकाको मातहतमा आउनेछ ।






