कोहलपुरमा सुत्केरी महिलालाई पौष्टिक आहार वितरण

बाँके, ७ मंसिर ।
बाँकेको कोहलपुर नगरपालिका–८ ले वडा भित्र बसोबास गर्ने सुत्केरी माताहरूको स्वास्थ्य सुदृढीकरणका उद्देश्यले पौष्टिक आहार वितरण गरेको छ । वडा कार्यालयको आर्थिक सहयोगमा शनिबार २८ जना सुत्केरी महिलालाई आमा तथा शिशु स्याहार कार्यक्रम अन्तर्गत आवश्यक पौष्टिक सामग्री प्रदान गरिएको हो ।
वडा नं. ८ का वडाध्यक्ष लालबहादुर रानाका अनुसार कार्यक्रमको मूल उद्देश्य सुत्केरी अवस्थामा महिलालाई आवश्यक पर्ने पोषण पूर्ति गर्नु तथा आमा–शिशु स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नु रहेको छ । उनका अनुसार यस पटक वितरण गरिएको सामग्रीमा एक क्यारेड अन्डा, एक लिटर खाने तेल, ब्रस र मन्जन एक–एक थान, साबुन एक थान, नुन एक प्याकेट, साढे एक किलो मम्फली दाना तथा हर्लिक्स एक थान समावेश थियो ।
वडाध्यक्ष रानाले भने, “वडा भित्र रहेका सुत्केरी महिलालाई आवश्यक पर्ने पौष्टिक आहार उपलब्ध गराएका छौँ । आमा र शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै यस्तो कार्यक्रमलाई चौमासिक रुपमा निरन्तर जारी राखिनेछ ।” उनका अनुसार सुत्केरी अवस्थामा पोषण अभाव हुँदा आमा र नवजात दुवैको स्वास्थ्यमा जोखिम बढ्ने भएकाले वडा कार्यालयले नियमित रूपमा सहयोग गर्दै आएको छ ।
सुत्केरी महिलाहरूले पनि यस्तो पहलप्रति खुशी व्यक्त गरेका छन् । कोहलपुर–८ निवासी सुत्केरी मिना बुढाले वडा कार्यालयको सहयोगले आफूजस्ता आमालाई ठूलो राहत पुगेको बताइन। “सुत्केरी भएपछि शरीर कमजोर हुन्छ, न्यानो–पोषिलो खानेकुराको आवश्यकता धेरै पर्छ,” उनले भनिन, “वडाले दिएको यो सामग्रीले केही हदसम्म खर्च पनि बचत भयो र पोषणसम्बन्धी आवश्यकता पूरा गर्न सहयोग पुग्यो । यस्ता कार्यक्रम निरन्तर भइरहे धेरै आमालाई फाइदा हुन्छ ।”
त्यस्तै, अर्की सुत्केरी रीता थापाले आमा र शिशुको स्वास्थ्यप्रति वडाले देखाएको चासो प्रशंसनीय भएको बताइन । “हामीले प्रायः गाउँठाउँमा सुत्केरी महिलाले आवश्यक पौष्टिक आहार नपाएर समस्या भोगेको सुन्ने गर्छौँ,” थापाले भनिन, “तर यहाँ वडाले आफैँ आइसकेर सहयोग गरेको देख्दा धेरै खुशी लाग्यो । यस्ता कार्यक्रमले आमाहरूलाई स्वास्थ्यप्रति सचेत बनाउन ठूलो भूमिका खेल्छ ।”
वडाका जनप्रतिनिधिहरूका अनुसार आगामी दिनमा आमा–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै नियमित स्वास्थ्य जाँच, पोषण सचेतना कार्यक्रम, तथा आवश्यक परे सूचनामूलक तालिमहरू पनि सञ्चालन गर्ने तयारी भइरहेको छ ।
सुत्केरी महिलाका लागि पौष्टिक आहार वितरण कार्यक्रम निरन्तर हुने जानकारी दिँदै वडाध्यक्ष रानाले वडा भित्रका प्रत्येक आमालाई सुरक्षित मातृत्व सुनिश्चित गर्ने लक्ष्य रहेको बताए । स्थानीयवासी तथा लाभान्वित महिलाले यस्तो कार्यक्रमले समुदायमा सकारात्मक सन्देश पुगेको बताउँदै भविष्यमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन् ।
कोहलपुरमा सुत्केरी महिलालाई पौष्टिक आहार वितरण

नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो

कोहलपुरमा सुत्केरी महिलालाई पौष्टिक आहार वितरण

बालविवाह अन्त्य गर्न कर्णाली प्रदेशले बनायो रणनीति

Leave a comment

Your email address will not be published. Required fields are marked *