दुना–टपरी उद्योगबाट बारबर्दियाका महिलाहरू आत्मनिर्भर

बर्दिया, ५ असोज ।
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका महिलाहरूले स्थानीय स्रोतको सदुपयोग गर्दै आर्थिक आत्मनिर्भरता हाँसिल गर्ने उदाहरण प्रस्तुत गरेका छन् । बारबर्दिया नगरपालिका–७ का मध्यवर्ती सामुदायिक वन उपभोक्ता महिलाहरूले वनमा खेर गइरहेका सालका पात संकलन गरी दुना–टपरी उद्योग सञ्चालन थालेका हुन् ।
आर्थिक अवस्था कमजोर भएका १० जना महिलाले समूह बनाई यस उद्योगलाई अगाडि बढाएका छन् । नगरपालिकाले तालिम, वडा कार्यालयले दुना–टपरी बनाउने मेशिन उपलब्ध गराएपछि उनीहरू व्यवसायिक रूपमा सक्रिय भएका हुन् । यसले महिलाहरूको जीवनस्तर सुधारसँगै वातावरणमैत्री उत्पादनलाई पनि प्राथमिकता दिएको छ ।
दुना–टपरी बनाउने समूहकी सदस्य मीना थारू भन्छिन्, “पहिले पैसा कमाउने विकल्पै थिएन । घरधन्दा गरेर जीवन गुजारिन्थ्यो। तर अहिले सालको पात प्रयोग गरेर दुना–टपरी बनाउन थालेपछि आम्दानी बढेको छ । मासिक ५ देखि ६ हजार रुपैयाँ कमाइ हुन्छ । यसले हाम्रो घरखर्च चलाउन ठूलो सहयोग पुगेको छ ।” उनका अनुसार बजारमा दुना–टपरीको माग बढ्दै गएको छ । विवाह, पूजापाठदेखि दैनिक प्रयोजनसम्म यसको प्रयोग भइरहेकाले उत्पादन सजिलै बिक्री हुने गरेको छ ।
त्यस्तै, अर्की सदस्य सीता कुमारी चौधरीले भनिन्, “यसअघि हामीलाई बाहिर काम गर्न लाज लाग्थ्यो। अहिले भने आफ्नै घर नजिकै बसेर उत्पादन गर्न पाइन्छ । यसले आत्मविश्वास बढाएको छ । आम्दानीसँगै समाजमा हाम्रो भूमिकाबारे मान्यता पनि बढेको छ ।”
सीताको भनाइमा दुना–टपरी व्यवसायले महिलाहरूलाई परिवारको भरमा मात्र निर्भर रहनु नपर्ने अवस्था सिर्जना गरेको छ । “पहिले श्रीमान वा छोराछोरी कमाइ गरेर ल्याएपछि मात्रै खर्च चल्थ्यो । अहिले आफ्नै आम्दानी भएकाले केही किन्न, छोराछोरीलाई पढाउन सजिलो भएको छ,” उनले थपिन् ।

त्यस्तै, समूहकी अर्की सदस्य मञ्जु थारूले भनिन्, “हामीले सामूहिक रूपमा सुरु गरेको यो कामले धेरै कुरा सिकायो । तालिमपछि अब अरू महिलाहरूलाई पनि सिकाउन सक्ने आत्मविश्वास आएको छ। सामूहिक रूपमा काम गर्दा खर्च, आम्दानी र जिम्मेवारी बाँडफाँड गर्न सजिलो भएको छ ।”
स्थानीय वडा कार्यालयले महिलाहरूको यो प्रयासलाई निरन्तर साथ दिइरहेको छ। वडा अध्यक्ष इन्द्रप्रसाद थारूका अनुसार दुना–टपरी उद्योग महिलालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण माध्यम बनेको छ । उनले भने, “सालको पात खेर गइरहेका थिए । महिलाहरूलाई तालिम दिएर मेशिन उपलब्ध गराइएको छ । यसले महिलालाई आय–आर्जनको बाटो खोल्नुका साथै वातावरण संरक्षणमा पनि योगदान पुगेको छ ।” उनका अनुसार दुना–टपरी प्रयोगले प्लास्टिकको प्रयोग घटाउने र स्थानीय उत्पादनलाई प्राथमिकता दिने अभियानलाई बल पुग्छ ।
वातावरणमैत्री अभ्यास
सालको पातबाट बनेको दुना–टपरी पूर्ण रूपमा प्राकृतिक र नष्ट हुनसक्ने भएकाले यसले वातावरणमैत्री अभ्यासलाई प्रोत्साहन गरेको छ । प्लास्टिकका गिलास, प्लेट र चम्चाले वातावरणमा पर्ने नकारात्मक असरलाई कम गर्नेमा यस उद्योगबाट आशा गरिएको छ ।
समूहका महिलाहरूले प्लास्टिकको सट्टा दुना–टपरी प्रयोगलाई घर–घरमा प्रोत्साहन गरिरहेका छन् । यसले वातावरण जोगाउनका साथै स्थानीय स्रोतलाई प्रयोग गरेर उत्पादक बन्ने उदाहरण पनि देखाएको छ । महिलाहरूको यो सानो प्रयासले स्थानीय बजारमा ठूलो सम्भावना देखाएको छ । विवाह, ब्रतबन्ध, धार्मिक अनुष्ठानलगायत सामाजिक कार्यक्रमहरूमा दुना–टपरीको प्रयोग अनिवार्य झैँ हुने भएकाले माग निरन्तर रहन्छ ।
नगरपालिकाले अझ थप सहयोग गर्ने योजना बनाइरहेको छ । आगामी दिनमा उत्पादनलाई थप गुणस्तरीय बनाउन तालिम विस्तार गर्ने, बजार व्यवस्थापनमा सहयोग गर्ने र महिलाहरूलाई सहुलियत ऋण उपलब्ध गराउने योजना रहेको वडा अध्यक्ष थारू बताउँछन् ।
बारबर्दियाका महिलाहरूले सालको पात संकलन गरेर सुरु गरेको दुना–टपरी उद्योगले उनीहरूलाई आत्मनिर्भर बनाउन मात्र होइन, वातावरण संरक्षणमा समेत योगदान दिएको छ । मीना, सीता र मञ्जु थारू जस्ता महिलाहरूको अनुभवले देखाएको छ—स्रोत र अवसर उपलब्ध भए महिलाहरूले समाज र परिवार दुवैको विकासमा महत्वपूर्ण योगदान दिन सक्छन् ।








