नगरको उच्च बस्ती माझखर्कमा लिफ्ट खानेपानी सञ्चालन

दुर्गा विसि
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका– १२ को माझकर्क निगालचुलामा लिफ्ट खानेपानी आयोजना समुदायलाई हस्तान्तरण गरिएको छ । सल्यान प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा शुक्रबार विशेष कार्यक्रमकाबीच उक्त आयोजना हस्तान्तरण गरिएको हो ।
दुरदराज र उच्च भू–भागमा खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतीकरणमा यसरी नै विकास गर्न सके उच्च बसाइसराइको दरलार्इ समेत रोक्न सकिने ज्वालाको भनाइ रहेको थियो । सबैका लागि दिगो खानेपानी सरसफाइ स्वच्छता आयोजना (सुस्वा) र बनगाड कुपिण्डे नगरपालिकाको ७८ लाख ९६ हजार आठ रुपैयाँ, उपभोक्ताको नगद योगदान दुई लाख ७९ हजार र श्रमदान १९ लाख १० हजार ती सय २३ रुपैयाँ गरेर एक करोड ८५ हजार ३ सय ३१ रकम वृहत् लिफ्ट खानेपानी आयोजनाको निर्माण भएको हो ।
निगालचुलाको माझखर्कमा खानेपानी सहजता पुगेपछि स्थानीय खुसी बनेका छन् । दुई सय मिटर भर्टिकल हाइटमा लिफ्ट खानेपानी आयोजनाबाट पानी माथि फालेर खानेपानी सुख्खा क्षेत्रमा नगरपालिकाले खानेपानीको सहजता थपेको छ । नगरले उच्च भेग माझखर्कमा पानी पुगेपछि र स्थानीयको दुःख कष्टकर जीवनमा सुविधा थपेकोमा नगर प्रमुख कर्णबहादुर बुढाथोकी बताए । पालिकाभर एक घर एक धाराको अबधारणा अनुसार नगरपालिका अघि बढेको बुढाथोकीको भनाइ छ ।
उक्त खानेपानी आयोजनाले ६५ घरधुरीका करिब तीन सय जनालाई लाभ पुगेको छ ।






