परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

काठमाडौँ, ३१ भदौ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबरको रकम देशभित्र पठाएका छन् ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव सात प्रतिशतले वृद्धि भई रु एक खर्ब ३६ अर्ब ६० करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई एक अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५ दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु एक खर्ब ९३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु एक खर्ब ४८ अर्ब आठ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४४ हजार ४६६ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या २३ हजार ६४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ थियो ।
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
देशभित्र कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब छ अर्ब चार करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चार दशमलव आठ प्रतिशतले वृद्धि भएको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा गत साउन मसान्तमा दुई दशमलव सात प्रतिशतले वृद्धि भई २० अर्ब तीन करोड पुगेको छ ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत साउन मसान्तमा चार प्रतिशतले वृद्धि भई रु २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु दुई खर्ब ६३ अर्ब चार करोड रहेकामा गत साउन मसान्तमा १२ प्रतिशतले वद्धि भई रु दुई खर्ब ९४ अर्ब ५८ करोड कायम भएको छ ।
गत साउन मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव चार प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २० दशमलव चार महिनाको वस्तु आयात र १६ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
समीक्षा अवधिमा चालु खाता रु ७८ अर्ब १४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ३३ अर्ब आठ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५६ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु एक अर्ब चार करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु २२ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु ६९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी रु ८० करोड रहेको थियो ।
सो अवधिमा शोधनान्तर स्थिति रु ८९ अर्ब ३० करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु ४० अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोडले बचतमा रहेको छ ।
कूल वस्तु व्यापारः रु एक खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात
चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा रु एक खर्ब १९ अर्ब ११ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा शून्य दशमलव चार प्रतिशतले वृद्धि भएको थियो । चालु आवको पहिलो महिना अर्थात् गत साउनमा कूल वस्तु आयात ११ दशमलव चार प्रतिशतले वृद्धि भई रु एक खर्ब ४३ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा शून्य दशमलव छ प्रतिशतले कमी आएको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव पाँच प्रतिशत, १४ दशमलव एक प्रतिशत र २० दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, चामल/धान, कोइला, रासायनिक मललगायत वस्तुको आयात बढेको छ भने हट रोल्ड सिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टस्, तेलहनलगायत वस्तुको आयात घटेको छ ।
समीक्षा अवधिमा निर्यातआयात अनुपात १६ दशमलव सात प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव पाँच प्रतिशत थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु १३ अर्ब ४३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु १३ अर्ब ९८ करोड बराबर भएको थियो ।
त्यस्तै, चालु आवको पहिलो महिनामा कूल वस्तु निर्यात ९५ दशमलव सात प्रतिशतले वृद्धि भई रु २३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा नौ दशमलव छ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १५६ दशमलव सात प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५ दशमलव दुई प्रतिशत र एक दशमलव चार प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैँची, जुटका सामानलगायत वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पिना, चियालगायत वस्तुको निर्यात घटेको छ ।
अध्ययनमा विदेशियो १४ अर्ब ३१ करोड
देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि रु १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्पmको व्यय गत वर्षको तुलनामा थोरै कम छ । चालु आवको पहिलो महिनामा अध्यनयका लागि रु १४ अर्ब ३१ करोड व्यय भएकामा गत आवको सोही अवधिमा रु १४ अर्ब ९६ करोड थियो ।
चालु आवको पहिलो महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय दुई दशमलव आठ प्रतिशतले कमी आई रु २१ अर्ब ७० करोड पुगेको छ । यस्तै, अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु २२ अर्ब ३२ करोड रहेको थियो ।
समीक्षा अवधिमा खुद सेवा आय रु १३ अर्ब ३९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु १५ अर्ब छ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२ दशमलव सात प्रतिशतले वृद्धि भई रु पाँच अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु चार अर्ब ७७ करोड थियो ।






