बालबालिकामा कुपोषण दर उच्च

कञ्चनपुर, ३० कार्तिक । 

भीमदत्त नगरपालिका–१८ जानकी टोलका पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुगे । शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए । तौल जाँच गराउँदा उनको  तौल ६ किलो ४०० ग्राममात्र थियो ।

उमेरअनुसार शिशुको तौल ११ किलो हुनुपर्थ्यो । तर उनको तौल उमेरअनुसार नभएपछि स्वास्थ्यकर्मीले महाकाली प्रादेशिक अस्पतालको पोषण पुनःस्थापना कक्षमा भर्ना हुन लगाए । अस्पताल पुगेपछि पूजाले शिशुलाई कुपोषण भएको थाहा पाए ।

अहिले उनी दुई साताअघिदेखि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको पोषण पुनःस्थापना गृहमा छोराको उपचार गराइरहेका छन् । “यहाँ भर्ना भएको १० दिन भएको छ, १० दिनमा मेरो शिशुको सात सय ग्राम तौल बढेको छ”, पूजाले भने, “घरमा र यहाँ खाना खुवाउने तरिका धेरै फरक पाएँ ।” उहाँले पुनःस्थापना गृहमा दिनमा चारपटक पोषणयुक्त खाना खुवाइने गरेको बताए ।

भीमदत्त नगरपालिका बागबाणीकी गीता सेवाको समस्या पनि उस्तै छ । अस्पतालमा खोप लगाउन आएका बेला शिशुको तौल जाँच गराउँदा उमेरअनुसार तौल नपुगेपछि उनी पनि अस्पतालको पोषण पुनःस्थापना गृहमा भर्ना भएको बताए । “घरमा हामीले खानेकुरा एक दुईपटक शिशुलाई खुवाउँथ्यौँ”, उनले भने, “यहाँ दैनिक चारपटक फरकफरक पोषणयुक्त खानेकुरा आमा र शिशु दुवैलाई खुवाउनुहुन्छ ।”

भीमदत्त नगरपालिका–३ की विस्ना बोहरा पनि एक वर्षीया शिशुलाई पोषण पुनःस्थापना गृहमा भर्ना गराउनुभएको छ । पछिल्लो समय शहरी क्षेत्रकै बालबालिकामा कुपोषण देखिन थालेको छ । ग्रामीण क्षेत्रका बालबालिकामा पनि कुपोषणदर उच्च रहे पनि पोषण पुनःस्थापना गृहमा पुग्न नसकेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

महाकाली प्रादेशिक अस्पतालको पोषण पुनःस्थापना गृहमा चालु आर्थिक वर्षमा ३२ शिशु भर्ना भएका छन् । अस्पतालका अनुसार पुनःस्थापना गृहमा पाँच वर्षमुनिका आमा र बच्चाका लागि निःशुल्क उपचार हुँदै आएको छ ।

वि.सं. २०६३ मा सञ्चालनमा आएको पोषण पुनःस्थापना गृह १०  शय्या (बेड) क्षमताको छ ।  पोषण पुनःस्थापना गृहका प्रमुख इन्द्रा भट्टले यहाँ भर्ना भएका बालबालिका निको भएर जाने दर बढेको बताए ।  “तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ भर्ना हुने बालबालिकाको सङ्ख्या कम भएको देखिन्छ”, उनले भने, “अहिले सहरी क्षेत्रकै बालबालिका बढी आएको देखिन्छ, अहिले समुदायमै कडा कुपोषणका बालबालिका कम भएका हुन् कि समुदायमै छुटेका छन्‌ु यो खोज्नुपर्ने विषय बनेको छ ।”

विगतको तुलनामा समुदायस्तरमा जतचेतानाका कार्यक्रम कम भएपछि यहाँ भर्ना हुन आउनेको सङ्ख्या पनि कम भएको उनको भनाइ छ । महिला काममै व्यस्त हुने र बालबालिकालाई समयमा खानासमेत खुवाउन नसक्ने हुँदा कुपोषित हुने गरेको उनले बताए । तर जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क हेर्ने हो भने जिल्लामा कडा कुपोषणका बालबालिका धेरै छन् ।

कार्यालयको तथ्याङ्कअनुसार आव २०७९/८० मा तीन सय ७५ बालिका र दुई सय ८१ बालकमा कडा कुपोषण देखिएको थियो भने चार सय ६५ बालिका र चार सय ४५ बालकमा मध्यम कुपोषण देखिएको थियो । आव २०८०/८१ मा छ महिनादेखि ५९ महिनासम्मका चार सय ४४ बालिका र तीन सय ९३ बालकमा कडा कुपोषण देखिएको थियो भने ८२ जना बालिका र ६१ बालकमा मध्यम कुपोषण देखिएको थियो ।

त्यसैगरी, ६ महिनाभन्दा कमका २४ बालबालिकामा कुपोषण देखिएको थियो । आव २०८१/८२ मा ६ महिनादेखि ५९ महिनासम्मका तीन सय ६३ बालिका र दुई सय ४६ बालकमा कडा कुपोषण देखिएको थियो । अठार बालिका र २६ बालकमा मध्यम खालको कुपोषण देखिएको थियो भने छ महिनाभन्दा कमका सात बालिका र २४ बालकमा पनि कुपोषण देखिएको थियो ।

चालु आवमा हालसम्म ६ देखि ५९ महिनाका ९५ बालिका र ९६  बालकमा कडा कुपोषण देखिएको छ । उनान्सठ्ठी बालिकामा र ३६  बालकमा मध्यम खालको कुपोषण देखिएको छ । त्यसैगरी छ महिनाभन्दा कमका नौ बालकमा कुपोषण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए । “यसको निदानका लागि राज्य गम्भीर भएर लागेको छ”, डा लेखकले भने, “तथ्याङ्कमा कुपोषण घट्दो क्रममा रहे पनि बाल मृत्युदर घटाउने चुनौती छ ।”

पछिल्लो समय रोजगारीलगायतका काममा व्यस्त हुँदा पूर्ण रूपमा स्तनपान गराउने आमाको सङ्ख्या पनि घट्दै गएकाले बालबालिकामा कडा कुपोषण देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन् । आमाको दूधमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पोषण हुने भएकाले छ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्छ । आमाको दूधमा विभिन्न सङ्क्रमणविरुद्ध लड्ने प्रतिरोधात्मक तत्व पाइने भएकाले पूर्ण स्तनपान नहुँदा कुपोषणजस्ता समस्या देखिने गर्दछन् ।

बालबालिकामा कुपोषण दर उच्च

व्यावसायिक फूलखेतीबाट रु आठलाख आम्दानी 

बालबालिकामा कुपोषण दर उच्च

कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए,

Leave a comment

Your email address will not be published. Required fields are marked *