कर्णालीमा बढ्दै दीर्घ रोगका विरामी २२ हजार नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

ओम शाही
सुर्खेत, २६ साउन ।
कर्णाली प्रदेशमा वषेर्नी नसर्ने रोगका विरामीहरु बढ्दै गएको पाइएको छ । प्रदेश सरकारले नसर्ने रोगलाई समयमै रोकथाम, उपचार तथा परामर्श गरी न्यूनिकरण गर्ने उद्देश्यका साथ २१ बैशाख २०८१ बाट सुभारम्भ गरेको निःशुल्क नागरिक स्वास्थ्य परीक्षण कार्यक्रममा सहभागी भएका २२ हजार सात सय ५१ जना मध्ये चार हजार सात सय ५८ जनामा दीर्घ रोग पहिचान भएको प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक देखाउँछ ।
मन्त्रालयले कर्णाली प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने ४० वर्षमाथीका नागरिकमा नसर्ने रोगको जोखिम न्यूनीकरण, रोकथाम, उपचार तथा परामर्श गर्न नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम अघि बढाएको थियो । ४० वर्ष कटेका प्रदेशभरका नागरिकमा नसर्ने रोगहरू मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगको निःशुल्क परीक्षण गरी भविष्यमा आउन सक्ने जोखिमलाई समयमै व्यवस्थापन गर्र्ने उद्देश्यले निशुल्क नागरिक स्वास्थ्य कार्यक्रम सुभारम्भ भएको हो ।

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आफ्‌ना एक वर्षे कार्यप्रगति सार्वजनिक गर्दै कर्णालीमा हरेक वर्ष नसर्ने रोगहरू जस्तै, उच्च रक्तचाप, मधुमेह तथा दीर्घ श्वासप्रश्वास सम्बन्धी रोगको भार बढदै गएको बताए । नसर्ने रोगको बढ्दो प्रकोप कम गरी उपचारमा लाग्ने आर्थिक व्ययभार कम गर्न समुदायस्तरमा समयमै रोगको पहिचानमार्फत प्रभावित जनसंख्यालाई उपचारको पहुँचमा ल्याउन नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन ल्याइएको उनले बताए ।
‘नसर्ने रोगहरू जस्तै, उच्च रक्तचाप, मधुमेह र मृगौलाको परीक्षण तथा दीर्घ श्वासप्रस्वास सम्बन्धी रोगको समुदायस्तरमै पहिचान गरी नजिकको अस्पतालमा बिरामीलाई उपचारको दायरामा ल्याउन सरकारले ४० वर्ष कटेका नागरिकको निशुल्क स्वास्थ्य जाँच कार्यक्रम अघि सारेको हो,’ मन्त्री भण्डारीले भने ।
नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमलाई व्यवस्थितलाई बनाउँन सामाजिक विकास मन्त्रालयले नागरिक स्वास्थ्य परीक्षण सम्बन्धी कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याएको समेत उनले बताए । यसका साथै कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशिका २०७४ लगायत मार्गदर्शन तथा निर्देशिका बमोजिम यस प्रयोजनका लागि स्वीकृत बजेटको परिधि भित्र रही जिल्ला जनस्वास्थ्य/स्वास्थ्य सेवा कार्यालयहरू र स्थानीय तहसँग समन्वय गरी प्रारम्भिक चरणमा कर्णाली प्रदेशका आठ जिल्लाका विभिन्न १३ स्थानीय तहमा नागरिक स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरिएको मन्त्री भण्डारीले बताए ।
‘नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्रभावकारी बनाउँन स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरूलाई अभिमुखीकरण गर्दै आएका छौं,’ मन्त्री भण्डारीले भने, ‘जिल्ला जनस्वास्थ्य/स्वास्थ्य सेवा कार्यालयबाट खरिद हुने आवश्यक सामाग्रीहरू स्वास्थ्य सेवा निर्देशनालयको आर्थिक तथा प्राविधिक सहयोगमार्फत निःशुल्क नागरिक स्वास्थ्य जाँच सेवा दिइँदै आएको छ ।’ पहिलो चरणको कार्यक्रममा सफलता मिलेसँगै यसै वर्षभित्र प्रदेशका ७९ वटै पालिकामा सेवा विस्तार गरिने मन्त्री भण्डारीले बताए ।

नसर्ने रोग र तिनको जोखिम समयमै पहिचान गरी उचित परामर्श र उपचार सेवा दिई नागरिक समक्ष स्वास्थ्य सेवाको दायरा विस्तार गरिदै लगिने मन्त्री भण्डारीको दावी छ । यसका साथै मन्त्री भण्डारीले योग र ध्यानका माध्ययमबाट शारीरिक मजबुती र मानसिक स्वास्थ्यमा सुधार ल्याउन जिल्ला सदरमुकाममा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको बताए । यी कार्यकमलाई प्रभावकारी रूपमा अघि बढाउँन थप सुदृढीकरण कार्ययोजनामा जोड दिइएको उल्लेख गर्दै नागरिक स्वास्थ्य परीक्षणबाट प्राप्त तथ्यांकका आधारमा भावी कर्णालीको स्वास्थ्य रणनीति तय गरिने मन्त्री भण्डारीले बताए ।
मन्त्री भण्डारीका अनुसार हालसम्म हुम्लाको नाम्खा र खार्पुनाथ गाउँपालिका, मुगुको मुगुमकार्मारोङ गाउँपालिका, जुम्लाको पातारासी र कनकासुन्दरी गाउँपालिका, दैलेखको डुङ्गेश्वर र भगवतीमाई गाउँपालिका, सुर्खेतको गुर्भाकोट नगरपालिका, सल्यानको कपुरकोट र कालिमाटी गाउँपालिकामा निशुल्क नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सुभारम्भ भएको छ । यस्तै, डोल्पाको त्रिपरासुन्दरी नगरपालिका, जाजरकोटको छेडागाड नगरपालिका र शिवालय गाउँपालिका पनि नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम विस्तार भएको छ ।

यस्तो छ जिल्लागत नसर्ने रोगको तथ्यांक
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार नागरिक स्वास्थ्य परीक्षण तथा स्कृनिङ्ग कार्यक्रमबाट प्रदेशभर २२ हजार सात सय ५१ जना लाभाविन्त भएका छन् । जसमा दुई हजार पाँच सय ३६ जना उच्च रक्तचाप, एक हजार चार सय २८ जना मधुमेह र सात सय ९४ जना मृगौलाका रोगीहरु पहिचान भएका छन् ।
जिल्लागत तथ्यांक अनुसार सल्यानमा तीन हजार ७३ जनाको स्वास्थ्य परीक्षण भएकोमा चार सय ४९ जना उच्च रक्तचाप, एक सय ८७ जना मधुमेह र एक सय २२ जना मृगौला रोगीहरु फेला परेका छन् । त्यस्तै, डोल्पामा एक हजार एक सय १६ जनामा गरिएको स्वास्थ्य परीक्षणमा ५० जनामा उच्च रक्तचाप र नौ/नौ जनामा मधुमेह र मृगौला रोग पहिचान भएको छ ।
दैलेखमा चार हजार आठ सय ९२ जनाको स्वास्थ्य परीक्षण गर्दा चार सय २२ जनामा उच्च रक्तचाप, तीन सय ८९ जनामा मधुमेह र दुई सय २३ जनामा मृगौला सम्बन्धी रोग देखा परेको छ । त्यस्तै, सुर्खेतमा तीन हजार चार सय ३७ जनाको निशुल्क स्वास्थ्य परीक्षण भएको छ ।
जसमा आठ सय ३५ जनामा उच्च रक्तचाप, तीन सय ७९ जनामा मधुमेह र दुई सय ७७ जनामा मृगौला सम्बन्धी रोग पहिचान भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । चार हजार एक सय ३३ व्यक्तिको निशुल्क स्वास्थ्य परीक्षण भएको जाजरकोटमा दुई सय ३४ जनामा उच्च रक्तचाप, दुई सय १५ जनामा मधुमेह र ६८ जनामा मृगौला सम्बन्धि रोग फेला परेको छ ।
त्यस्तै, हुम्लामा दुई हजार एक सय १२ जनाको निशुल्क स्वास्थ्य परीक्षण हुँदा ८६ जनामा उच्च रक्तचाप, ४० जनामा मधुमेह र २७ जनामा मृगौला रोग पत्ता लागेको मन्त्रालयले जनाएको छ । मुगुमा सात सय ४७ जनाको स्वास्थ्य परीक्षण भएकोमा ९९ जनामा उच्च रक्तचाप, १८ जनामा मधुमेह र १२ जनामा मृगौला सम्बन्धि रोग देखा परेको छ । यस्तै, जुम्लामा तीन हजार दुई सय ४१ जनाको निशुल्क स्वास्थ्य परीक्षण भएको छ । जसमा तीन सय ६१ जनामा उच्च रक्तचाप, एक सय ९१ जनामा मधुमेह र ७६ जनामा मृगौला रोग देखा परेको मन्त्रालयले जनाएको छ ।

कर्णालीमा बढ्दै दीर्घ रोगका विरामी २२ हजार नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

चार महिनामा विपद्का दुई हजार ६ सय

कर्णालीमा बढ्दै दीर्घ रोगका विरामी २२ हजार नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

सम्पादकीय : रिक्त निकायलाई तत्काल पूर्णता देऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *