मार्सी धान खरिद प्रक्रिया अगाडि बढाउदै : खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्ला


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले मार्सी धान खरिद प्रक्रिया अगाडि बढाएको छ । प्रथम चरणका खरिदका लागि दुई सय कोटा स्वीकृत भएको छ ।
चालू आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीको प्रस्ताविक वार्षिक निति तथा कार्यक्रम अन्तर्गत नेपाल सरकार मन्त्रीपरिषद्को गत असार २० गतेको निर्णय अनुसार मार्सी धान खरिद गर्न लागिएको हो । खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी लक्ष्मण शर्माका अनुसार प्रति क्वीन्टल १२ हजार रुपैयाँमा मार्सी धानको खरिद प्रक्रिया सुरु गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीको अध्यक्षतामा रहेको स्थानीय खरिद समितिले प्रतिकेजी १ सय २० रुपैयाँमा मार्सीधान खरिद गर्न मिल्ने मुल्य तोकेको हो । जिल्ला कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्र, उद्योग बाणिज्य संघ र स्थानीय चलनचल्तीमा रहेको मुल्य समायोजन गरेर धानको मुल्य तोकिएको सूचना अधिकारी लक्ष्मण शर्माले बताए ।
गत असोज २३ गते नै मार्सी धान खरिद कार्य सञ्चालन गर्न कम्पनीको खरिद विभागले पत्र पठाइसकेको थियो । खरिद विभागले तोकेको मापदण्ड अनुसारको मार्सी धान पाइने, नपाइने अन्योलता छ । ‘मार्सी धानको खरिद कोटा तोक्नु किसानहरूको हितमा छ,’ सूचना अधिकारी शर्माले भने,‘खरिद विभागले तोकेको मापदण्ड अनुसारको मार्सी धान पाइने हो या नपाइने हो भन्ने चिन्ताको बिषय बनेको छ ।’
खरिद विभागको मापदण्ड अनुसारको धान खरिदका लागि पहिलो चरणमा प्राविधिक टोली खटिएको छ । टोलीको प्रतिबेदनका आधारमा किसानहरू घरदैलोमा पुगेर धान खरिदको काम अघि बढ्नेछ । मार्सी धान घरमै बेच्न पाइने भन्दै किसान खुसी छन् । प्रतिकेजी मार्सी चामल एक सय ७० रुपैयाँमा बेच्दै आएका किसानहरू धान बेच्न पाउँदा निकै उत्साहित देखिन्छन् । खरिद विभागले मार्सी धान खरिदको लागि १८ प्रतिशत चिस्यान हुनुपर्ने, बाह्य पदार्थ २ प्रतिशत भन्दा बढी मिसिएको हुन नहुने, ५ प्रतिशत भन्दा बढी बिग्रेको दाना भेटिन नहुने र ८ प्रतिशत भन्दा बढी मिश्रण हुन नहुने गरेर मापदण्ड तोकेको छ ।
‘धान जिउँदो किरारहित, एकहन सफा, ढुसी नपरेका, कुनै अवाञ्छित गन्ध नभएको मानव उपयोगको लागि योग्य हुनुपर्ने छ ।’ ‘अहिलेसम्म त्यो मार्सी धानमा भेटाएनौं,’ उनले भने, ‘अहिले खरिद गर्ने कि नगर्ने अलमलमा छौं । प्राविधिक टोली गाउँमा परिचालन भएको छ ।’ रोडा, ढुंगा, माटो, बालुवा तथा जैविक वस्तु मिसावट हुन नहुने मापदण्डमा उल्लेख गरिएको छ ।’ जहाँ–जहाँ मार्सी धानको खेती हुन्छ, त्यहीबाट धान खरिद गर्ने तयारी छ । मार्सी धान खरिदको लागि जुम्लाका आठ वटै स्थानीय तहमा परिपत्र भइसकेको छ ।
‘यता जुम्लाको सिंजा गाउँपालिकामा खरिद सम्झौता समेत भइसकेको छ,’ शर्माले भने, ‘सिंजाले मापदण्ड अनुसारको धान दिन सकेन । हामीले धान उठाउन सकेनौं । न अहिले सम्झौता रद्ध भएको छ नत कार्यन्वयन नै भएको छ ।’ एक क्वीन्टल धान खरिद गर्दा ६५ केजी चामल आउनुपर्ने हुन्छ । तर, ‘मार्सी धानको गुणस्तरका आधारमा खरिद गर्ने र मार्सी चामलको प्रोत्साहनमा जोड दिनुपर्ने देखिन्छ ।’ पछिल्लो समयमा मार्सी धानमा मरुवा रोगको प्रकोप बढ्न थालेपछि उत्पादनमा गिरावट आएको छ । जुम्लामा कुल २ हजार ९ सय ५० हेक्टरमा धान खेती हुने गरेकोमा १ हजार २ सय हेक्टरमा मात्र मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाको तथ्यांक छ ।
धानमा झारनासक विषादीको प्रयोग गर्ने देखि बिउ पुरानो भएकोले गुणस्तरको मार्सी धान उत्पादन हुन नसकेको कृषि विज्ञहरू बताउँछन् । ‘मार्सी धानको बजारीकरण र प्रवद्र्धनको लागि कम्पनीले कोटा तोकेर खरिद गर्न थालेको छ,’ शर्माले भने, ‘किसानले पनि त्यही अनुसारको मार्सी धान उपलब्ध गराउन सक्नु प¥यो ।’ खरिद विभागको मापदण्ड अनुसारको मार्सी धान नभेटिए खरिद गर्न नसकिने कम्पनीको जुम्लाले जनाएको छ ।






