वीरेन्द्रनगरको प्रशासनिक विस्तार हिजो, आज र भोली

प्रकाश पौडेल
वीरेन्द्रनगर न.पा.–७, सुर्खेत

सुरक्षेत्र अर्थात देवताहरुको स्थानको रुपमा मानिने साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम सुर्खेत जिल्लाको सदरमुकामका रुपमा रहेको वीरेन्द्रनगर नगरपालिका राज्यको पुर्नसंरचना संगै कर्णाली प्रदेशको राजधानीको रुपमा समेत परिचित छ । वैशाख २५ गतेको दीनलाई नगरपालिकाले आफ्नो स्थापना दिवशका रुपमा समेत मनाउने गर्छ, यसै सन्दर्भमा यसको संस्थागत विस्तारलाई खोतल्ने प्रयास यहां गरिएको छ ।

हिजोको वीरेन्द्रनगर
१२ औँ शताब्दी तिरै सुर्खेत व्यापारिक केन्द्र थियो । १६ औँ शताब्दीताका सुर्खेत एउटा बन्जर धर्तीको रूपमा रुपान्तरण भएको पाइन्छ । राजा रणबहादुर शाहको पालामा यहाँबाट थुप्रै मानिसहरू पलायन भएर जाने स्थिति बनेको थियो । पछि राणा शासनकालमा फेरी यहाँ बस्ती विकास क्रम सुरु भएको हो ।

त्यतिबेला यसलाई कालापानीको रुपमा पनि चिन्ने गरिन्थ्यो र विस्तारै मान्छेहरू थपिने क्रम बढ्यो । १९५० को दशकमा सुर्खेतमा आवादीप्रकृया सुरु भएको थियो भने १९७० ताका यहाँको जग्गा दर्ता हुने प्रकृया आरम्भ भएको देखिन्छ । । (https://karnaliutsav.hriti.org/3750/ : कोइराला २०८०)

पहिले चौहानचौर र २०२९ सालपछि वीरेन्द्रनगरको नामले परिचित यो नगरपालिका नेपालका गुरुयोजना भएका पुराना नगरपालिका मध्येको एक हो । वीरेन्द्रनगरमा वि.सं. २०२२ मा विमानस्थल स्थापना भई नियमित उडान र वि.सं. २०३८ मा रत्नराजमार्ग सडक निर्माण कार्य सम्पन्न भई नियमित रुपमा सडक यातायात सेवा शुरु भए पश्चात् वीरेन्द्रनगर कर्णाली प्रदेशका जिल्लाहरुको प्रवेशद्वारका रुपमा स्थापित भएको छ । कर्णाली प्रदेशमा उपभोग हुने सम्पूर्ण सामग्री वीरेन्द्रनगरबाट जाने हुँदा यो पश्चिम नेपाल कै प्रमुख व्यापारिक एवं शैक्षिक पर्यटकिय केन्द्ररुपमा रहेको छ । (नगर प्रोफाइल २०७५ )

वीरेन्द्रनगर नगरपालिकमा बसोबासको प्रारम्भ २०२३ सालबाट भएको थियो । यस भन्दा अगाडि नगरपालिकाको मैदानी भाग (उपत्यका क्षेत्रमा) औलो लाग्ने भएका कारण मानिसहरु दिनभरी उपत्यकामा खेति लगाएर राति बास वस्न करिव ४ किमि जति उकालो चढी कटकुवा गोठीकाँडा जर्वुटा वयलकाँडा र राम्रीकाँडा पुग्ने गर्दथ्ये भने केही राजी र थारु समुदायका मानिसहरु उपत्यकामा नै फाट्ट फुट्ट बसोबास गर्दथ्ये । (स्मारिका २०५९ः वालाराम)

तत्कालिन समयमा सुर्खेत जिल्लाको सदरमुकाम गढी गा.वि.स. मा रहेको थियो । औलो उन्मुलन भए पश्चात् उपत्यकामा बसोबास गर्न थालियो र सबै सरकारी कार्यालयहरुलाई वि सं २०२४ को सरकारी निर्णय अनुसार सुर्खेत जिल्लाको सदरमुकाम गोठीकाँडाबाट चौहान चौरमा स्थानान्तरण गर्ने निर्णय संगै सरकारी सेवा पनि चौहान चौरमा विकसित बजारदेखि नै उपलब्ध गराउन थालिएको पाइन्छ ।

यस नगरपालिकामा औलो उन्मुलन पश्चात् सुर्खेत जिल्लाका विकट पहाडी क्षेत्र लगायत दैलेख जिल्ला र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट बसाई सरी स्थायी बसोबास गर्दै आएका व्यक्तिहरुको बाहुल्यता पाइन्छ । विभिन्न स्थानबाट बसाई सरी आएकाले यहाँको चालचलन रीतिथिति र सँस्कृतिमा समेत विविधता पाईन्छ ।

वि सं २०२९ सालमा तत्कालिन श्री ५ को सरकारले राष्ट्रिय विकासका लागि क्षेत्रीय विकासको नीति अघि बढायो । स्वर्गिय राजा वीरेन्द्रको नाममा चौहानचौर वजारलाई वीरेन्द्रनगरको नामाकरण गरियो ।

तत्कालिन श्री ५ को सरकारले वीरेन्द्रनगरलाई मध्यपश्चिमाञ्चलको क्षेत्रको क्षेत्रीय सदरमुकाम सुर्खेत वीरेन्द्रनगरलाई कायम गरि क्षेत्रीय प्रशासनिक केन्द्रको रुपमा विकास गर्नु पर्ने तत्कालिन प्राथमिकता र स्व राजा वीरेन्द्रको इच्छा तथा स्पष्ट निर्देशन पाएर वीरेन्द्रनगरको शहरीकरणले द्रुतगति लियो । ब्यवस्थित र सन्तुलित विकास र शहरीकरणका लागि सुर्खेत उपत्यकाको भौतिक विकास योजनालाई सरकारले २०२९ माघ १६ गते नगरयोजना कार्यान्वयन ऐन २०२९ अनुसार स्वीकृति प्रदान गर्यो । (स्मारिका २०५९ः कृष्णवहादुर )

प्रस्तावित भौतिक विकास योजनालाई ब्यवस्थित गर्दे क्रमिक रुपले कार्यान्वयन गर्न सरकारको तर्फवाट अमेरिकाबाट शहरी योजनामा मास्टर्स गरेका माधवभक्त माथेमाको नेतृत्वमा भौतिक परियोजना टोलीको परिचालन र नगर आयोजना कार्यान्वयन समितिको कार्यालय वि.स. २०२९ माघ २० मा स्थापना गरी चौहानचौरबासीको भविष्य कोर्न सुरुवात भएको पाइन्छ ।

स्विकृत उपत्यकाको भौतिक विकास योजनाको मूल लक्ष्य “विकासको मूल फुटाउने सन्दर्भमा मध्यपश्चिममाञ्चल नेपालको क्षेत्रीय विकास केन्द्र सुर्खेत जिल्लामा विकासलाई अघि बढाउन तथा सर्वसाधारण जनताको आर्थिक हित स्वास्थ्य एवम् सुख सुविधा कायम राख्न योजनाबद्ध रुपमा नगर निर्माण योजना गरी आवश्यक भौतिक योजना समेत कार्यान्वयन गर्नु हो’ (स्मारिका २०५९ः कृष्णवहादुर) रहेको र यहि लक्ष्यलाई पुरा गराउन सुर्खेत उपत्यकाको भू–क्षेत्रको योजनाबद्ध विकास, भौतिक विकासका आधारभूत तत्वहरु समयोचित विकासतर्फ समन्वय कायम गर्ने, विकास निर्माणलाई गतिशिल तुल्याउन निर्माण सामाग्रीको उचित प्रवन्ध गर्ने, नगरस्तरीय जनजीवनका लागि आवश्यक संस्थागत पक्षलाई मजबुत तथा विकासमूलक बनाउने, जनभावना अनुकूल गर्न जनसहभागिताको अभिवृद्धि गर्ने उद्देश्य सहित कार्यान्वय अगाडी वढेको देखिन्छ ।

यस भौतिक विकास योजनामा वीरेन्द्रनगरलाई केन्द्रविन्दु मानि योजनामा उपत्यकाको भू उपयोग विभाजन वन तथा संरक्षण क्षेत्र, कृषि क्षेत्र, हवाई मैदान क्षेत्र, औधोगिक र अन्य क्षेत्र सहित सरकारी केन्द्र, कर्मचारी आवास क्षेत्र, आवासिय क्षेत्र, गोदाम क्षेत्र. ब्यापारिक क्षेत्र, सार्वजनिक प्लाजा, मनोरंजन खुल्ला क्षेत्र, शैक्षिक क्षेत्र, वुलवुले उद्यान, वसपार्क क्षेत्र जस्ता क्षेत्रहरुमा विभाजन गरेको देखिन्छ ।

यहि भौतिक विकास योजनाको कार्यान्वयन सुरुवातिसंगै हालको वीरेन्द्रनगर नगरपालिकाको स्थापना वि.सं. २०३३ सालमा सुर्खेत उपत्यका भित्र पर्ने कटकुवा, गोठीकाँडा र जर्बुटा गाँउ पञ्चायत भित्र पर्ने केही भागलाई मिलाएर ३६ वर्ग किमिको १२ वडा भएको वीरेन्द्रनगर नगर पञ्चायतका रुपमा भएको थियो ।

आजको वीरेन्द्रनगर
कर्णाली प्रदेशको राजधानी भएकाले वीरेन्द्रनगरमा गाडीसम्म पुग्दैन होला भनी अनुमान गर्नेपनि छन् । तर यहाँ आउनासाथ उनीहरूको धारणा फेरिन्छ । र वीरेन्द्रनगर त गजबको सहर रैछ भन्दै जान्छन् । यहाँका फराकिला सडक व्यवस्थित वस्ती सार्वजनिक पार्क र खुला क्षेत्र सबै योजनाकार माधवभक्त माथेमाकै देन हुन् ।  यद्यपि, वीरेन्द्रनगरको नगर योजना जुन उद्देश्यका साथ बनाइएको थियो उक्त उद्देश्य पूरा भयो कि भएन भन्ने प्रश्न छँदैछ ।(https://karnaliutsav.hriti.org/3750/ढकाल २०८०)

वीरेन्द्रनगरको भौतिक विकास योजनाले समग्र उपत्यकालाई ब्यवस्थित नगरका रुपमा विकास गर्ने परिकल्पना भएता पनि उपत्यका भित्र नै ३ वटा गाउँ विकास समितिहरु (उत्तरगंगा, लाटीकोइली, जर्वुटा) स्वतन्त्र अस्तित्वमा रहंदै आएकोमा नेपाल सरकारको नेपाल सरकारको मिति २०७१।०१।२५ गतेको निर्णय बमोजिम साविकका छिमेकी उत्तरगंगा र लाटिकोइली गाविस तथा मिति २०७१।०८।१६ गतेको निर्णय अनुसार जर्वुटा गा.वि.स गाभ्नुका साथै मिति २०७२।०३।१५ गतेको निर्णय बमोजिम एक वटा वडा थप गरी जम्मा वडा संख्या २५ कायम भएकोमा नेपाल सरकारको मिति २०७३।११।२७ गतेको निर्णयअनुसार विस्तारित नगरमा साविकका गढी, रतु र गर्पन गा.वि.स. समावेश गर्दै २४५.८५ वर्ग कि.मी., १६ वडा भएको स्थानीय तहका रूपमा वीरेन्द्रनगर नगरपालिका रहेको छ ।

भोलीको वीरेन्द्रनगर
कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको वीरेन्द्रनगरको शहरीकरण द्रुतगतिमा अगाडी वढेको छ, नगरमा स्थायीवासी भन्दा बाहिरका मानिसहरुको बसोबास बढी छ । नगरको जनसंख्या हेर्दा राष्ट्रिय जनगणना २०७८ अनुसार १५३८६३ भएता पनि यस नगरमा शहरी सुविधा लिने जनसंख्या ३ लाख भन्दा वढी रहेको आँकलन गर्न सकिन्छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८ को उपदफा १ को खण्ड ख वमोजिम उपमहानगर नगरपालिकाका लागि आवश्यक मापदण्डहरु कम्तीमा २ लाख जनसंख्या, कम्तीमा २५ करोड आन्तरिक आय, कम्तीमा एक सय शैयाको अस्पताल, फोहरमैला प्रशोधन प्रणाली, सभाहल तथा रंगशाला, विधुत, खानेपानी, संचारको उपलब्धता, पक्की सडक, उच्च स्तरीय शिक्षा, सार्वजनिक पार्क उद्यान, पशु वधशाला, सवदाहस्थल, पर्यटकीय स्तरका तारे होटल लगायत अन्य सहरी सुविधाहरु सबै पुरा गरेको देखिन्छ ।

यसै सन्दर्भमा वीरेन्द्रनगर नगरपालिकाको १६ औँ नगर सभावाट कर्णाली प्रदेशकै पहिलो एक मात्र उपमहानगर घोषणाकालागि प्रदेश सरकार मार्फत नेपाल सरकार समक्ष अनुरोध समेत गरेको देखिन्छ ।

वीरेन्द्रनगर नगरपालिकाको विकासक्रमलाई हेर्दा जन्म नै ब्यवस्थित योजना सहित भएको, हिजोको मध्यपश्चिमाञ्चलको सदरमुकाम होस वा आजको कर्णाली प्रदेशको राजधानी दुवै अवस्थामा यसले समग्र मध्यपश्चिम तथा कर्णालीवासीको आस्थाको शहर बन्दै आएको छ ।

साविकको वीरेन्द्रनगरको गुरुयोजनालाई मूर्तरुप दिन गुरुयोजना बमोजिमका अधिकांश चौडा वाटो, खुल्ला चौर र पार्कहरु निर्माणका साथै शहरी सौन्दर्यका कामहरु भै रहेका छन् भने विस्तारित नगर क्षेत्र साविकको उत्तरगंगा लाटीकोइली र जर्वुटा क्षेत्रमा भने गुरुयोजना विना नै अव्यवस्थित ढंगवाट शहरीकरण हुँदा ब्यवस्थित उपमहानगर निर्माणको सपनामा चुनौती श्रृजना भएको छ ।

“जब ५० वर्ष अगाडी बनेको गुरुयोजना अनुसार हामी अहिले काम गर्दैछौँ भने अहिले हामीले बनाउने नयाँ नगर योजनाले आउने सयौं वर्ष काम गरोस् भन्ने हुनुपर्छ ।“ ।(https://karnaliutsav.hriti.org/3750/ : ढकाल २०८०)

सुर्खेत उपत्यकाको गुरुयोजनालाई समय सापेक्ष परिमार्जन गर्दे विस्तारित नगरलाई नै कर्णालीकै सानका रुपमा ब्यवस्थित महानगरीय शहर वनाउन समयमै सरोकारवाला सबै पक्षले ध्यान दिई सुन्दर र ब्यवस्थित उपमहानगर बनाउन सबै पक्ष एक जुट भएर अगाडी बढ्न सुर्खेत उपत्यकालाई नै नगरपालिका वनाउने सरकारबाट निर्णय भएको दिन आज वैशाख २५ वीरेन्द्रनगरको स्थापना दिवसको अवसरमा सवैलाई शुभकामना ।
२०८१ वैशाख २५
सन्दर्भ सामाग्री
स्मारिका २०५९ वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
यो सहर, त्यो रहर ! – कर्णाली उत्सव https://karnaliutsav.hriti.org/3750/ : ढकाल २०८०)
नगर प्रोफाईल २०७५, वीरेन्द्रनगर नगरपालिका सुर्खेत

Leave a comment

Your email address will not be published. Required fields are marked *