सम्पादकीय : प्रभावकारी बनोस् नागरिक स्वास्थ्य परिक्षण

कर्णाली प्रदेश सरकारले नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम शुभारम्भ गरेको छ । नसर्ने रोगलाई समयमै रोकथाम, उपचार तथा परामर्श गरी न्यूनीकरण गर्ने उद्देश्यका साथ निःशुल्क नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम अघि बढेको हो । सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने ४० वर्षमाथीका नागरिकमा नसर्ने रोगको जोखिम न्यूनिकरणका लागि रोकथाम, उपचार तथा परामर्श गर्न नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन कार्यविधि-२०८१ तयार गरी कार्यक्रम कार्यान्वयनलाई अघि बढाएको छ ।

४० वर्ष कटेका प्रदेशभरका नागरिकमा नसर्ने रोगहरू मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगको निःशुल्क परीक्षणका साथै उपचार गर्ने उद्देश्यले कार्यक्रमको शुभारम्भ भएको हो । कार्यक्रमले उच्च रक्तचाप, मधुमेह, दीर्घ श्वाप्रश्वास, मिर्गौलासम्बन्धी रोग, क्यान्सर लगायत नसर्ने रोग न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । कार्यक्रम सञ्चालन कार्यविधि अनुसार प्रदेशका स्वास्थ्य चौकी, आधारभूत अस्पताल, रणनीतिक स्थानका अस्पताल तथा स्वास्थ्य संस्था, जिल्ला स्तरीय अस्पताल, प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा निःशुल्क परिक्षण हुनेछ ।

रणनीतिक स्थान वा माथिल्लो तहका स्वास्थ्य संस्थाहरूले सेवा वर्षभरी नियमित सञ्चालन गर्ने लक्ष्य सरकारको छ । कर्णालीका ७९ वटै पालिकामा सञ्चालन हुने कार्यक्रमको मुख्य उद्देश्य कर्णालीमा नसर्ने रोगको अवस्था पत्ता लगाउनु रहेको सरकारको दावी छ । पछिल्लो समय अस्वस्थ खानपान र जीवनशैलीले कर्णालीमा नसर्ने घातक रोगहरुको जोखिम उच्च बन्दै गएको छ ।

यस्तो अवस्थामा सरकारले थालेको नागरिकको स्वास्थ्य परिक्षण कार्यक्रम प्रशंसा गर्न लायक छ । हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहँुचमा पुरयाउनु राज्यको पहिलो दायित्व हो । संविधानले मौलिक हकका रुपमा परिभाषित गरेको आधारभूत स्वास्थ्यको प्रत्याभूत गर्नु तीनै तहका सरकारको जिम्मेवारी हो । यस अघि पनि कर्णालीमा नागरिकको हित हुने खालका यस्ता धेरै कार्यक्रमहरु शुभारम्भ भएका छन् । तर निकै महत्वका साथ अघि सारिएका कार्यक्रमहरु कार्यान्वयनको तहमा नजाँदा कागजमै सिमित भएको अवस्था छ ।

कर्णालीका कतिपय ग्रामीण भेगका नागरिकहरु आधारभूत स्वास्थ्य सेवाबाटै बञ्चित छन् । भौगोलिक विकटता, दक्ष जनशक्तिसहितका सुविधा सम्पन्न स्वास्थ्य संस्थाको अभाव नागरिकले झेलिरहेका छन् । स्वस्थ नागरिक नै समृद्ध राष्ट्रको मेरुदण्ड हुन् । सरकारले ल्याएको नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम एक सरह्रानीय र दूरदर्शी प्रयास हो । यस कार्यक्रमअन्तर्गत नागरिकहरूको नियमित स्वास्थ्य परीक्षण गरी रोगको प्रारम्भिक अवस्था नै पत्ता लगाउने र समयमै उपचार सुरु गर्ने पद्धती लागु गरिनु पर्दछ ।

कर्णालीका सबै नागरिकको पहँुचमा कार्यक्रम पुरयाउन भने निकै चुनौती छ । यसलाई प्रभावकारी बनाउन सेवालाई स्थानीयकरण गर्न जनचेतना तथा स्वास्थ्य प्रवद्र्धनका कार्यक्रमलाई व्यापक बनाउनु पर्ने देखिन्छ । कर्णालीका नागरिकलाई नियमित स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराउन सकेमा नसर्ने रोगको जोखिम घट्नेछ, स्वास्थ्य आर्थिक बोझ कम हुनेछ र समग्र प्रदेशको मानव विकास सूचकाङ्कमा सुधार आउनेछ । यसले राज्यलाई थप आर्थिक भार कम गर्नेछ । यसर्थ, कर्णालीमा स्वास्थ्य परीक्षण कार्यक्रमलाई केवल योजना र बजेटमा सीमित नराखी व्यवहारमा उतार्ने र प्रभावकारी बनाउनेतर्फ सरकारले ध्यान दिनुपर्दछ ।

सम्पादकीय : प्रभावकारी बनोस् नागरिक स्वास्थ्य परिक्षण

सुल्झदै कर्णालीका रणनैतिक महत्वका सडकमा कानूनी अल्झन

Leave a comment

Your email address will not be published. Required fields are marked *