कोहलपुरमा ७५ जना सिकलसेल–थालसेमिया संक्रमित फेला, थारू समुदायमा जोखिम उच्च

बाँके २३, बैशाख
बाँकेको कोहलपुर नगरपालिकामा सिकलसेल र थालसेमियाजस्ता अनुवांशिक रोगबाट संक्रमित बिरामीहरूको संख्या ७५ पुगेको छ। नगरपालिकाले विक्रम संवत् २०७७ साल चैत २९ गतेदेखि सिकलसेल परीक्षण र परामर्शका लागि छुट्टै युनिट स्थापना गरी सेवा सुरु गरेको हो।
नगरपालिकाका अनुसार हालसम्म ७० जना सिकलसेल र पाँच जना थालसेमियाका बिरामी पहिचान भएका छन्। चालु आर्थिक वर्ष २०८१/८२ मा मात्र १३६ जनाको परीक्षण गरिएको छ। परीक्षणमा १० जना सिकलसेल वाहक, चार जना सिकलसेल रोगी र एक जना थालसेमिया संक्रमित फेला परेका छन्।
नगरका सिकलसेल फोकल पर्सन शिव गौतमका अनुसार कोहलपुरका वडा नं. ३, ४, ५, ६, ७ र १५ मा थारू समुदायको बाहुल्यता भएकाले त्यहाँ जोखिम बढी छ। “थारू समुदायमा यो रोग बढी देखिने भएकाले समुदाय स्तरमै पुगेर सचेतना तथा अभिमुखीकरण कार्यक्रम गर्दै आएका छौं,” गौतमले बताउनुभयो।
गौतमका अनुसार सिकलसेल वाहकहरूले अर्को वाहकसँग विवाह गर्दा सन्तानमा रोग सर्न सक्ने भएकाले विवाहपूर्व परीक्षण अनिवार्य गर्नुपर्ने आवश्यकता छ। सिकलसेल रोग नियन्त्रणका लागि नगरमा ‘सिकलसेल नगर समिति’ समेत गठन गरिएको छ।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार रोग पुष्टि भएका बिरामीहरूलाई थप उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा रिफर गरिँदै आएको छ। “सिकलसेल तथा थालसेमिया परीक्षण युनिट स्थापना भएपछि रोग पहिचानमा निकै सहजता आएको छ,” प्रमुख आचार्यले बताउनुभयो।“यस कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै निरन्तरता दिइनेछ।”






