ढाका उद्यमबाट आत्मनिर्भर बन्दै कोहलपुरका महिला


सरला सुवेदी ।
बाँके जिल्लाको कोहलपुर नगरपालिका–१२ का महिलाहरु ढाका कपडा उत्पादन गर्दै आत्मनिर्भर बन्न थालेका छन्। आर्थिक उपार्जनसँगै परिवारको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलिरहेका यी महिलाले समाजमा पनि आफ्नो पहिचान बनाउन सफल भएका छन्।
चपरगौडी क्षेत्रका महिलाले सानो समूहबाट सुरू गरेको ढाका उत्पादन अहिले उद्यमशीलताको एउटा उदाहरण बनेको छ। ढाकाका कपडाबाट सारी, पछ्यौरी, कोट, टोपी, झोला लगायतका वस्तु उत्पादन गरिरहेका यी महिलाको मेहनतले परिवार चलाउन मात्रै नभई, आर्थिक बचतको बाटोसमेत देखाएको छ।
कोहलपुर–१२ चपरगौडीकी सुशीला योगीको केही वर्षअघिसम्म न त काम थियो, न त नियमित आयश्रोत। दिनहरु जति बित्थे, त्यति नै आर्थिक संकट गहिरिँदै गइरहेको थियो। तर, ढाकाका समान बुन्ने सीप सिकेपछि उनको जीवनले नयाँ मोड लियो। “स्वरोजगार बनेपछि घर खर्च चलाउन सजिलो भयो,” सुशीलाले भनिन्, “अब त मासिक केही रकम बचत गर्न पनि थालिएको छ।”
यस्तै, जानकी टोलकी करिना भण्डारीले ढाका कपडाको उत्पादनबाट मासिक २० देखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्ने बताइन्। “माग अनुसार उत्पादन गर्दा बजारको समस्या खासै हुँदैन,” करिनाले भनिन्।
चपरगौडीका ढाका उद्यमीले ‘ज्ञानज्योती महिला लघु उद्यमी समूह’ गठन गरेका छन्। १० सदस्यीय यो समूहले महिलालाई आर्थिक रुपमा सशक्त बनाउन महत्त्वपूर्ण योगदान गरिरहेको छ। समूहकी अध्यक्ष कमला विक भन्छिन्, “आर्थिक सबलीकरणले समाजमा हाम्रो पहिचान स्थापित गर्न सघाएको छ। अब महिला पनि पुरुषसरह आत्मनिर्भर हुन सक्छन् भन्ने प्रमाणित गरेका छौँ।”
स्थानीय सरकारको सहयोगले पनि यो क्षेत्रमा महिला उद्यमशीलता फस्टाएको छ। कोहलपुर नगरपालिकाले विभिन्न तालिम सञ्चालन गर्नुका साथै मेसिन तथा उपकरण पनि उपलब्ध गराएको उपप्रमुख संगीता सुवेदीले बताइन्। “महिलाहरुको सीप विकास र आयआर्जनमा नगरपालिकाले विशेष ध्यान दिएको छ,” उनले भनिन्।
चपरगौडीका ढाका उद्यमी महिलाहरुले ‘हातमा सीप भए बेरोजगार बस्नुपर्दैन’ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। उनीहरुका उत्पादनको गुणस्तर र परिश्रमले स्थानीय बजारमा मात्रै नभई राष्ट्रिय स्तरमा समेत माग बढ्दो छ।
समूहमा आबद्ध महिलाहरुको अनुभवले मिलेर काम गर्दा राम्रो परिणाम आउने देखाएको छ। “अहिलेका लागि यो उद्यम हाम्रो परिवार चलाउने आधार बनेको छ,” एक सदस्यले भनिन्।
चपरगौडीका महिला उद्यमीले आफ्नै पौरख र सामूहिक मेहनतबाट आत्मनिर्भरताको नयाँ परिभाषा दिएका छन्। “मिलेर केही गरौँ” भन्ने भावना पालना गर्दै अघि बढेका यी महिलाले अन्य स्थानका नागरिकका लागि पनि प्रेरणाको स्रोत बनेका छन्।
आफ्नो मेहनतले मात्र होइन, यो समूहले महिलाहरुको आर्थिक, सामाजिक, र व्यक्तिगत विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ। आत्मनिर्भरता र उद्यमशीलताको यो अभ्यासले कोहलपुर नगरपालिकाका महिलाको जीवन परिवर्तन गरेको छ, जसले बाँकी समाजलाई पनि नयाँ आशा र उत्साह दिएको छ।






