चार कठ्ठा जग्गा खान एक व्यक्तिलाई दुई पटक ‘मारियो’


एउटा व्यक्तिको मृत्यु कति पटक र कति ठाउँमा हुन्छ ? एक पटक र एकै ठाउँमा। तर, सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका एक पुरुषको दुई पटक मृत्यु भयो, त्यो पनि फरक–फरक ठाउँमा । पहिला उनको नेपालमा मृत्यु भयो । त्यसको दुई वर्ष, दुई महिनापछि पुनः भारतमै उनको मृत्यु भयो ।
यसरी दुई पटक, दुई ठाउँमा मृत्यु भएका व्यक्ति हुन् वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ गुप्तिपुरका बलबहादुर बुढा । उनको मृत्यु २०६५ जेठ ९ मा भएको हो । तर उनको नामको सम्पत्ति हत्याउन उनका परिवारका सदस्यले मृत्यु मिति र मृत्यु स्थानै बदलिदिए ।
जसको प्रभावले अहिले उनका छोरा १९ वर्षीय कर्णबहादुर बुढा पुख्र्यौली सम्पत्तिहीन भएका छन् ।
उनको मृत्यु हुनु अगाडि नै ०५७ फागुन १२ मा उनीसहित भाइ , बा आमाबीच कानुनी रूपमा अंशबन्डा भएको थियो । मालपोत कार्यालय सुर्खेतबाट साबिक लाटिकोइली गाउँ विकास समिति ६ (ग) कित्ता नम्बर १६८ बाट कित्ताकाट भएर बलबहादुरको नाममा चार कट्ठा जग्गा अंशमा आयो। उनको जग्गाको कित्ता नम्बर ३०२ कायम भयो ।
२०६५ मा उनको मृत्यु भयो । त्यसपछि श्रीमती मोतीकला बुढाले ०६६ जेठ १८ मा आफ्नो नाममा उक्त जग्गा ल्याउन घरपरिवारसँग सल्लाह गरिन् ।
तर, उनका बलबहादुरका बुवा रनबहादुर बुढा, आमा बिजकला बुढा र भाइ पूर्णबहादुर बुढाले मानेनन् । वडा कार्यालयमा गएर उनीहरूले सिफारिस समेत रोके ।
उनीहरूको तर्क थियो, दुई नातिहरू सानै छन् । परिवारबाट असहयोग भएपछि मोतीकलाले आफ्ना नाबालक छोरा कर्णबहादुर र पप्पुलाई लिएर दिदीको घर चौकुने गाउँपालिका–१ बडासेन गइन् । उनले दिदीकै घरमा बसेर ज्याला मजदुरी गरेर सात वर्षसम्म छोराहरूलाई पालनपोषण गरिन् ।
सात वर्षपछि मोतीकलाले अर्को विवाह गरिन् । त्यसपछि कर्णबहादुर र उनका भाइ पप्पुको बिचल्ली भयो । कर्णबहादुर नाबालक भाइलाई लिएर भारत गए ।
बेलाबखतमा कर्णबहादुर नेपाल आउँथे । त्यही बेला उनकी आमाले तिम्रो बुवाको नाममा जग्गा रहेको भन्दै सुनाउँथिन् । सानै उमेर भएकोले कर्णबहादुरले त्यति वास्ता गरेनन् ।
जब कर्णबहादुरको उमेर १९ पुग्यो उनी भारततिर जान–आउन नागरिकता चाहियो । त्यसपछि २०८१ को दसैँमा उनी आफ्नो बुवाको जन्मघर वीरेन्द्रनगर गए नागरिकता बनाउन ।
जग्गा खोज्न जाँदा खुल्यो रहस्य
कर्णबहादुरसँग बुवाको नागरिकता थिएन । आमाले बनाइदिएको जन्मदर्ता र बुवाको नाममा रहेको जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि थियो । त्यही लिएर उनी २०८१ असोज ११ मा वीरेन्द्रनगर नगरपालिका–२ को वडा कार्यालयमा गए ।
जग्गाधनी पुर्जामा उनका बुवाको नागरिकता नम्बर भएपछि वडाले उनलाई नागरिकता बनाउन सिफारिस दियो । सोही दिन नै उनले नागरिकता पाए । उनी आफ्नो नागरिकताको प्रतिलिपीसहित असोज १४ गते मालपोत कार्यालय सुर्खेतमा बुवाको नाममा भएको जग्गाको स्रेस्ता उतार गर्न गए । तर जग्गा उनको बुबाको नाममा थिएन ।
दिएको प्रतिलिपिमा उनको बुवाको नामको रहेको कित्ता नम्बर ३०२ को जग्गा चार लाख ६० हजार रुपैयाँमा २०७५ माघ २१ मा वीरेन्द्रनगर नगरपालिका–४ की हिमाकुमारी धौलाकोटीको नाममा विक्री भएको देखियो ।
बुबाको नामको जग्गा उनको हजुरआमा बिजकला बुढाले बिक्री गरेको देखियो । त्यसपछि कर्णबहादुर आफ्नो बाबुको नाममा भएको जग्गा कसरी हजुरआमाले बेच्न सकिन् भनेर खोज्नतिर लागे ।
खोज्दै जाँदा त्यसका मुख्य सहयोगी देखिए का पूर्णबहादुर बुढा, तत्कालीन वीरेन्द्रनगर–२ का वडा अध्यक्ष बलबहादुर रोकाय र मालपोत कार्यालय सुर्खेतका तत्कालीन प्रमुख लक्ष्मी खत्री ।
काका पूर्णबहादुर र वडाध्यक्ष बलबहादुरले उनको बाबुको मृत्युबारे दोस्रो पटक मृत्यु दर्ता बनाएर विवाहित बलबहादुर बुढालाई एकल बनाए । अविवाहित अवस्थामै मृत्यु भएकाले उनको कुनै सन्तान नभएको सर्जमिन मुचुल्कासहित वडाबाट सिफारिस बनाए ।
त्यसैको आधारमा मालपोत कार्यालयका तत्कालीन प्रमुख लक्ष्मी खत्रीले जुन दिन कागजपत्र पेस भयो त्यही दिन जग्गा पास गर्न प्रक्रिया अगाडि बढाइन् ।
कसले कहाँ गरे चलखेल ?
बलबहादुरको मृत्युपछि दुई छोरा कर्णबहादुर र पप्पु अंशका हकदार थिए । ०६५ जेठ ९ मा उनको मृत्यु भएको भनेर मृत्यु दर्ता प्रमाण पत्र बनिसकेको थियो ।
तर तर पूर्णबहादुर र तत्कालीन वडाध्यक्ष बलबहादुर रोकायले पुनः ०६७ साउन ५ मा अविवाहित अवस्थामा भारतमा मृत्यु भएको भन्दै नक्कली मृत्यु दर्ता बनाए ।
झुटो सर्जमिन मुचुल्का खडा गरेर अंशबन्डा भई छुट्टिएको कर्णबहादुरकी हजुरआमा बिजकला बुढा अंशियार बनिन् । ०७५ माघ १५ मा उनको नाममा जग्गा आयो । अनि उनले ०७५ माघ २१ मा त्यही जग्गा हिमाकुमारी धौलाकोटीको नाममा बिक्री गरिन् ।
कर्णबहादुर र पप्पुको जन्मदर्ता थियो । उनीहरूका बुवा बलबहादुर बुढाको मृत्यु भारतमा नभई नेपालमै भएको थियो । उनको नामको जग्गाको स्रेस्ता कायम भइसकेको थियो भने मृत्युदर्ता पनि भइसकेको थियो । यी सबै प्रमाणले जग्गा स्वतः कर्णबहादुर र पप्पुको नाममा आउनु पर्ने थियो । तर बिचैमा खेल भयो ।
श्रीमतीले अर्को विवाह गरिसकेकी थिइन् । कर्ण र पप्पु भारततिर थिए । त्यही बेलामा बलबहादुर अविवाहित रहेकै बेलामा मृत्यु भएको भन्दै उनको अंशको हकदार आमालाई बनाइयो । उनको नाममा जग्गा आए लगत्तै योजना अनुसार विक्री गरे ।
मालपोत कार्यालयले सम्पूर्ण विवरण एकिन गरी कोही कसैको हकदावी भए–नभएको सम्बन्धमा जग्गा प्रशासन निर्देशिका, २०५८ को दफा २००, २०३ र २०४ ले निर्दिष्ट गरेको कार्यविधि अवलम्बन नगरी जग्गा एकलौटी रूपमा बिजकला बुढाको नाममा नामसारी गरेको देखिन्छ ।
अनि कर्ण गए अदालत
आफ्नो बाबुको नाममा रहेको सम्पत्ति झुटो प्रमाणको आधारमा विक्री भइसकेको खुलेपछि कर्णबहादुर काका पूर्णबहादुर बुढा, तत्कालीन २ नम्बर वडा अध्यक्ष बलबहादुर रोकाय र तत्कालीन मालपोत कार्यालयका प्रमुख लक्ष्मी खत्रीसहित १६ जना विरुद्ध सुर्खेत जिल्ला अदालतमा गए ।
उनले मङ्गलवार नामसारी बदर, राजीनामा लिखत बदर र जालसाजीको तीन वटा मुद्दा दर्ता गरे ।
‘तत्कालीन वडा अध्यक्ष बलबहादुर रोकाय र सोही वडाका प्रशासन सहायक सोभानसिं न्यौपानेले हस्तबहादुर बुढा, भागीराम थारु, रुकुमा बुढा, गंगाकुमारी वली (बुढा), बलिराम चौधरीलाई साक्षी राखेर हाम्रा बुवा बलबहादुर बुढा विवाहित भई दुई छोराहरू जन्मिसकेको थाहा हुँदा पनि हामीलाई काका र वडाध्यक्ष लगायतले अन्याय गरे,’कर्णबहादुर भन्छन्, ‘गलत कागज खडा गरेर हामीलाई सम्पत्तिविहीन बनाए। अदालतले न्याय दिने आस छ ।’
तत्कालीन समयमा मतियारको भूमिका खेल्ने मिना कुमारी चौधरी, हिरा कुमारी चौधरी, अनिता चौधरी, बलिराम चौधरी साक्षीहरू र मालपोत कार्यकाल सुर्खेतका तत्कालीन खरिदार कृष्णबहादुर थापा र रवीन्द्र थापालाई समेत विपक्ष बनाइएको छ ।
जग्गा प्रकरणमा संलग्न हजुरआमा बिजकला बुढा र हजुरबा रनबहादुर बुवाको मृत्यु भइसकेकोले उनीहरूलाई विपक्षी बनाएका छैनन् उनले ।
वडाध्यक्ष बलबहादुरले स्विकारे
यो प्रकरणमा प्रत्यक्ष संलग्न देखिए तत्कालीन वडाध्यक्ष बलबहादुर रोकाया । उनले बलबहादुर अविवाहित हुँदै मृत्यु भएको भनेर सिफारिस दिएको स्विकारे ।
‘ठुलो वडा छ । सबै कुरा जनप्रतिनिधिलाई थाहा हुँदैन । प्रहरी प्रशासन र स्थानीयको रोहवरमा सिफारिस दिएका हुँ,’ उनले भने ‘बलबहादुर बुढामा छोरा रहेछन् भन्ने कुरा अहिले मात्रै थाहा भयो ।’
त्यस्तै कर्णबहादुरका काका पूर्णबहादुर बुढाले आफूले यस विषयमा कुनै काम नगरेको र आमाले नै गरेको भन्दै पन्छिए ।
‘मैले केही पनि गरेको छैन । आमाले सबै प्रक्रिया गर्नुभएको हो’,’उनले भने, ’मैले त धेरैपछि मात्रै थाहा पाएको हुँ ।’(उकेरा)






