नेपालगञ्जको कान्तितालमा चराको बासस्थान सङ्कटमा


सीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान सङ्कटमा पर्ने जोखिम बढेको छ । तालको स्वरूप परिवर्तन गरेर त्यहाँ मोटरबोट चलाउन प्रयास भएकाले चराको बासस्थान सङ्कटमा परेको संरक्षणकर्मीले बताएका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर २१ र २२ मा पर्ने २५ बिघा क्षेत्रफलमा फैलिएको तालमा संरक्षित चराका रूपमा रहेको दुर्लभ सारसलगायत परम्परागत र आगन्तुक चराको बासस्थान सङ्कटमा परेको ‘फ्रेन्ड्स फर वाइल्ड लाइफ कन्जरभेसन’का अध्यक्ष आशिष चौधरीले बताए ।
यो ठाउँमा साइबेरिया, थाइल्याण्ड र मलेसियाबाट आगन्तुक चरा आउने गर्छन् । पक्षी संरक्षण समाज र नेपाल चराविज्ञ एशोसिएसनको विज्ञ टोलीले गरेको अनुसन्धानमा ३२ प्रकारका परम्परागत र आगन्तुक चराको बासस्थान रहेको तालमा तीन प्रजातिका कमलका फूल फेला परेको छ ।
संरक्षणकर्मी चौधरीले तालमा चराको प्राकृतिक आवास भएकाले मोटरबोट चल्दा त्यसले पर्यावरणमा समेत नोक्सानी हुने बताए ।






