सामाजिक कुरीतिबिरुद्ध भण्डारीबाडाका आमाहरु गाउँबस्तीमा जनचेतना फैलाउँदै


समाजमा जरा गाडेर बसेको सामाजिक कुरीतिबिरुद्ध जुम्लाको चन्दननाथ नगरपालिक–२ भण्डारीबाडाका आमाहरु गाउँबस्तीमा सचेतना फैलाउन जुटिरहेका छन् । पहिलो चरणमा सदरमुकाम खलंगामा सडक नाटक र देउडा गीतबाट समाजमा हुने हरेक हानिकारक बेथितिविरुद्ध लाग्न सन्देश दिएका उनीहरु अहिले दुर्गम क्षेत्रका गाउँबस्ती र विद्यालयमा सचेतना फैलाइरहेका हुन् । चन्दननाथ–२ की हिमालक्ष्मी भण्डारीको नेतृत्वमा वडा २ भण्डारीबाडाका आमाहरु जुम्लाको तातोपानी गाउँपालिकामा रहेको हिमशिखर माध्यमिक विद्यालयमा पुगेका थिए ।
नगरका आमाहरु एकाएक विद्यालयमा पुग्दा विद्यार्थी अचम्मित भए भने शिक्षकहरु अकमक्क भए । स्थानीय पोशाकमा ठाटिएका आमाहरु साउण्ड सिस्टम बोकेर विद्यालयमा आएका थिए । जब आमाहरुले विद्यालयमा माइकिङ गरेर जनचेतना फैलाउन आएको सन्देश दिए,जब शिक्षक विद्यार्थीहरु भेला भए ।
उनीहरुले बालविवाह, छाउपडीप्रथा, लागुऔषध दुर्व्यसन, मादक पदार्थ सेवन, जुवातासविरुद्धका सडक नाटक प्रस्तुत गरे । महिलाहरुले ४ वटा विषयवस्तुमा सडक नाटक देखाइएका थिए । बालविवाह,मादक पदार्थ सेवन,लागुऔषध सेवन र जुवातास विरुद्धको नाटक प्रदर्शन गरेका हुन् । उनीहरु एकल तथा सामूहिक गीतहरु गाएर पनि सन्देश छरिरहेका थिए ।
उनीहरुले बालबालिका नै सबै बेथितीविरुद्ध लाग्नुपर्ने सन्देश दिएको शिक्षक शक्तिसिंह कठायतले बताए । ‘लागुऔषध दुर्व्यसनीको दलदलमा बालबालिका पसेका छन् । मादक पदार्थको सेवनले घरेलुहिंसा बढिरहेका छन् । छाउपडी हुँदा गोठमै बस्दा कैयन आमा रोग पालेर बसेका छन् । केही आमाले ज्यान गुमाउनु परिरहेको छ,’ हिमालक्ष्मी भण्डारीले भनिन्, ‘बालविवाहले सयौं किशोरीको भविष्य बिग्रिएको छ । यी सबैको रोकथामका लागि हाम्रो सचेतना अभियान निरन्तर चलिरहेको छ ।’
यसअघि चन्दननाथ नगरपालिकाको बालमन्दिरमा सचेतना कार्यक्रम गरेका आमाहरुले आफ्नै लगानीमा अभियान संचालन गरेका हुन् ।
उनले भनिन्,‘हामी पहिलो चरणमा विद्यालयमा, दोस्रोमा समुदायमा र तेस्रोमा साना बजारमा सचेतना फैलाएर सबैखाले विकृतीजन्य क्रियाकलाप रोक्न चाहन्छौं । त्यसैको लागि हाम्रो अभियान चलिरहेको छ ।’ आमाहरूले शिक्षकलाई विद्यार्थीको नियमित रेखदेख र सामाजिक विकृतिका विषयमा बेलाबेला कक्षा सञ्चालन गर्न पनि आग्रह गरिन् । अर्की गोमादेवी भण्डारीले जनप्रतिनिधि, कर्मचारी र जिल्ला स्थिति राजनीतिकदलसँग पनि छलफल चलाएर सबै खाले विसंगतीको भण्डाफोर गर्ने कार्यक्रम भइरहेको बताइन् ।
उनी नजिकैको स्थानीय सरकारले आफ्नो अनुकुलको कानुन बनाएर नियमन गर्न सक्ने बताउँछिन् । गोमाले भनिन्,‘अब एउटा गाउँका आमाहरु लागेर मात्र सम्भव छैन । सबै क्षेत्रका आमा एक भएर सामूहिक रुपमा हानिकारक विकृति विरुद्ध प्रतिकार गर्नुपर्ने आवश्यक छ ।’ विद्यालायका व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण न्यौपानेले आमाहरु संगठित भएर चेतना फैलाउने कार्य गरेकोमा प्रशंसा गरे ।
उनले भने,‘पहिले विद्यार्थीले आमाहरुलाई सिकाइरहेका हुन्थे । अहिले आमाहरु विद्यालयमै पुगेर सामाजिक हानिकारक अभ्यासविरुद्ध लाग्न सुझाइरहेका छन् ।’ आमाहरुले बढ्दो इन्टरनेटको दुरुपयोग रोक्न, विद्यालयस्तरमै बालविवाहविरुद्धका कक्ष सञ्चालन गर्न, लागुऔषधको ओसारपसार र सेवन, मादक पदार्थ सेवन निषेध गर्न समेत विद्यार्थीलाई सुझाव दिए । यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक विवेक खनालले आमाहरुले चालेको अभियान समाज सुधारको मिसाइल भएको बताए ।
बालविवाह,लागूऔषध सेवनले र पार्ने असर तथा कानुनी ऐनका बारेमा पनि जानकारी गराएका थिए । उनले यस्तो कार्य सुरुवात गर्ने महिलाहरूलाई धन्यवाद दिए । उनले समाज सुधारका काममा प्रहरीले खुलेर सहयोग गर्ने प्रतिवद्वता जनाए ।






