पहिरोको जोखिममा थापापाखा, सात परिवार विस्थापित


लगातारको वर्षाको कारण रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ घारीगाउँ माथी रहेको थापापाखा बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । पहिरोको कारण यस बस्तीका सात घरपरिवार विस्थापित भएका छन् ।

वडाध्यक्ष इन्द्रबहादुर गिरीले पानी पर्न नरोकिएमा घर नै पहिरोमा पुग्ने डर भएकोले सात परिवार मुख्य घर छोडेर टहरा र आफन्तको घरमा विस्थापित भएको जानकारी दिए । स्थानीय हिउसर थापा, बिरबल थापा, परि थापा, दिलबहादुर थापा, जुपी थापा र काले थापाको घर र टहरा पहिरोको जोखिममा रहेका छन् । पाखो तथा भिरालो भागमा रहेका घरमूनि लेदोसहितको पहिरो झरिरहेको वडाध्यक्ष गिरीले जनाए ।

बस्तीमुनी खनिएको सडकको कारण यहाँका घरहरू जोखिममा रहेको स्थानीय तिलक भण्डारीले जानकारी दिए । पहिरोले घरको आँगन भत्काएको छ भने गोठमा समेत क्षति गरेको छ । यसका साथै यहाँका किसानले लगाएको मकै, केरा र आँपको खेती समेत पहिरोले गर्दा क्षती भएको छ । पाक्न लागेको बालीमा पहिरोले क्षती गरेपछि किसानहरु थप चिन्तित भएका छन् ।

घरको कुनाबाट पहिरो झरिरहेको र तत्लो भागमा रहेको खेती पुरिएको स्थानीय दिलबहादुर थापाले बताए । उनका अनुसार विस्थापित भएका परिवारलाई तत्काल राहत सामाग्रीको आवश्यकता रहेको छ भने पहिरो व्यवस्थापनको लागि दीर्घकालीन योजना आवश्यक रहेको छ ।

गाउँभन्दा माथिल्लो भूभागबाट आएको पहिरोसँगैको बाढीले सिङ्गो गाउँ र तल्लो बस्तीका खेतबारीमा समेत असर परेको छ । घारीगाउँ बजार हुँदै थापापाखा भएर कालिमाटी जाने उक्त सडकखण्डबाट पहिरो झरेको बताइएको छ । वर्षाको कारण अहिले उक्त सडक खोलामा परिणत भएको छ । स्थानीयले सडक मर्मतसँगै दिगो योजनाको समेत माग गरेका छन् ।

पहिरोको जोखिममा थापापाखा, सात परिवार विस्थापित

कर्णालीका आठवटा अलपत्र स्वास्थ्य भवन चालु आवमा

पहिरोको जोखिममा थापापाखा, सात परिवार विस्थापित

दुर्व्यसन र हिंसाका घटनाविरुद्ध सचेतना बढाउँदै प्रहरी