नासिँदै खस राज्यको इतिहाँस


सिंजा सभ्यताको विकास तथा संरक्षण गर्न पहिलो पटक कर्णाली १० असोज २०७८ सालमा कर्णाली प्रदेशसभामा कर्णाली सरकारका पूर्व कानूनमन्त्री तथा जुम्लाबाट तत्कालिन निर्वाचित प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘गैरसरकारी विधेयक’ दर्ता गराएका थिए ।

‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ प्रदेशसभामा दर्ता भएर पनि छलफलका लागि अघि बढेको थियो । २४ माघ २०७८ प्रदेशसभा बैठकमा टेबुल भएको थियो । माघ २५ गते विधेयकमाथि सैद्धान्तिक छलफल भएर र फागुन १८ गते सामाजिक विकास समितिमा थप छलफलका लागि सभाले पठाएको थियो ।

प्रशासनिक खर्च धेरै लाग्ने भन्दै पछि सरकारले कार्यन्वयन आलटाल गरेका कारणले विद्येयक तुहियो । सिंजा सभ्यता भनेको जुम्ला मात्रै नभएर दैलेखको दुल्लू र सुर्खेतको वीरेन्द्र्रनगरमा सिंगो कर्णाली भएकाले मैले त्यो विद्ययेक ल्याएको पूर्वमन्त्री भण्डारीले बताए । ‘जुम्लासँग मात्रै सिंजा सभ्यता जोडिएको छैन, दैलेखको दुल्लू हुँदै सुर्खेतको काँक्रेविहारसम्म जोडिएको छ ।’ उनले भने, ‘अझैँभन्दा सिंगो नेपालसँग जोडिएको विषय हो । तर, सरकारी अनुदारका कारणले अहिलेसम्म लागु भएन् ।’

विधेयकको सैद्धान्तिक छलफल भएर फागुन १८ गते सामाजिक विकास समितिमा थप छलफलका लागि विधेयक सभाले पठाएको थियो । तत्कालिन सरकारले विद्येयक फिर्ताको प्रस्ताव गरेपछि समितिले सरकारको धारणा माग गरेको थियो ।

सरकारले समितिले मागेको धारणामा उक्त विधेयक अघि बढाउन नसक्ने मनसाय देखाएको हो । सरकारले उक्त विधेयकको विषयमा सामाजिक विकास समितिलाई पाँच बुँदे धारणा पठाएको थियो । पाँच बुँदे धारणामा उक्त विधेयक पारित भइ ऐनको रुपमा कार्यान्वयन गर्दा आर्थिक व्ययभारका कारण अघि बढाउन नसक्ने मनसाय सरकारले देखाएर सरकारले आफ्नो पाँच बुँदे धारणमा भनेको थियो, ‘विधेयक पारित भइ ऐनको रुपमा कार्यान्वयन गर्दा भौतिक संरचना निर्माणमा लाग्ने खर्चबाहेक प्रदेश सरकारले वार्षिक ३० करोड रुपैयाँ भन्दा बढी प्रशासनिक खर्च व्यर्होनुपर्ने भएकाले कर्णाली प्रदेशका जनताको आधारभुत आवश्यकताको परिपूर्ति र विकासका न्यूनतम पूर्वाधार संरचनाको निर्माण गर्न नसकिरहेको वर्तमान अवस्थामा प्रस्तुत विधेयकको सम्बन्धमा सम्मानित कर्णाली प्रदेश सभा र सो माहतको सामाजिक विकास समितिबाट उपयुक्त निर्णय हुने कुरामा प्रदेश सरकार विश्वस्त रहेको छ ।’

विद्येयकमा सत्र सदस्यीय सभा, छ सदस्यीय कार्यकारी परिषद्, पूर्णकालिन उपाध्यक्ष, समिति कार्यकारी निर्देशक, प्राधिकरण, कर्मचारी तथा प्रशिक्षकलगायतको प्रशासनिक संरचनाको व्यवस्था प्रस्ताव गरिएकोले खर्च धान्न नसक्ने तत्कालिन प्रदेश सरकारको भनाई थियो ।

संरक्षणको पर्खाइमा सभ्यता
संरक्षणको अभावमा जुम्ला सिंजा उपत्यकामा रहेको खस राज्यको सभ्यता तथा खस राज्यको दरबार क्षेत्रको संरक्षण हुन नसक्दा इतिहास नै ध्वस्त हुने अवस्थामा पुगेको छ । उचित संरक्षण उत्खलन नहुँदा इतिहास नै नरहने अवस्था अवस्थामा पुगेको हो ।

जुम्लाको सिंजा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ । त्यसैले नेपाली समाजमा सिंजा सभ्यताको छुट्टै र बिशिष्ट महत्व छ । तर, अहिले त्यही उपत्यकाको अस्तित्व र महत्व संकटमा परेको छ । सिंजाको खस सभ्यता ऐतिहाँसिक महत्व सिँजा क्षेत्रको विशेषता बोकेको यस क्षेत्रमा खस सभ्यता तथा हिन्दु साँस्कृतिको अनुपम संगम रहेको, उपत्यकामा रहेका पूर्व प्राचीनकालबाट बनाएका धार्मिक मठ, मन्दिर, गुफा, देवल, सिउ बाघ, चालचलन, रीतिरिवाज लगायतका पर्यटकीय क्षेत्रहरु अहिले संरक्षणको अभावमा ध्वस्त हुदैँ गइरहेको जुम्ला कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताए ।

‘नेपाली समाजमा सिंजा खस सभ्यताको छुट्टै र बिशिष्ट महत्व छ,’ उनले भने, ‘ऐतिहाँसिक क्षेत्रहरु अहिले संरक्षणको अभावमा ध्वस्त हुँदै गइरहेका छन्, गाउँपालिकाका एक्लैले चाहेर हुने कुरा पनि छैन् ।’ नेपाली भाषाको उद्गम स्थान जुम्ला सिंजा खस सभ्यता रहेको सिंजा कनका सुन्दरी मन्दिर, पान्डव गुफा, बुढु मष्टा, कनकासुन्दरी नैधारा मन्दिर, बिराट दरबार, नाख्या दुला, ह्रयाङग्रा देवता मन्दिर, लेकपर लामा मन्दिर, बातामालिका महादेव मन्दिर लगायत सिन्जा भेगमा रहेका ३ दर्जनभन्दा बढी साना ठूला देवी देउताका मन्दिरहरु जीर्ण भई ध्वस्त हुन लागेको स्थानीय अमरजंग शाहीले बताए । ‘प्राचिन सभ्यताका चिनारीहरु हराउन थालेका छन्,’ उनले भने, ‘कयौं मठ मन्दिरहरु जिर्ण अवस्थामा रहेका छन् र पुरानो राजाको दरबार पनि ध्वस्त हुँदै गएको छ ।’

त्यसैगरी पाँच भाई पाण्डव बस्ने पाण्डव गुफा र बिराट दरबारको अवषेशसमेत भेटिन मुस्किल पर्न थालेको छ । खस राज्य सञ्चालनको समयमा बनाइएका यी मठ मन्दिर, सिन्जा सिहु बाघ, ठूला ठूला ढुङ्गामा कँुदिएका चित्रकला, संकेत अक्षर र अंकहरु लेखिएका शिला लेखहरु समेत अहिले खेतबारी र पाखाहरुमा बेवारिसे अवस्थामा रहेको जुम्लाका विद्युत् प्राधिकरणका प्रमुखसमेत रहेका स्थानीय नरेशदत्त रावलले बताए ।
‘जुम्लामा रहेको खस राज्यको इतिहाँस नै मेटिन लागेको छ,’ उनले भने, ‘त्यसको संरक्षण जर्गेना गर्न कसैले पनि पहल चालेको छै्न ।’ यसैगरी प्रसिद्ध कनकासुन्दरी मन्दिर नजिकै पूर्वतिर धर्मशाला बनाउनको लागि जगा खन्ने क्रममा २०७६ सालमा पाँच वटा मूर्ति भेटिएको छ । तत्कालिन अवस्थामा कर्णाली पर्यटन प्रबद्र्धन विकास समितिको लगानीमा भक्तजनहरुलाई बस्नको लागि धर्मशाला बनाउने क्रममा पुराना ढुंगाका मुर्ति भेटिएका हुन ।

पाँच वटा मूर्ति मध्ये तीन ठूला र दुई साना रहेका तत्कालिन धर्मशाला निर्माणका ठेकेदार कालिकोटका पटकबहादुर शाहीले बताए । ‘विष्णु, जालाफा देवी, शिव, लक्ष्मी, साढे लगायतका मुर्ति रहेका छन् । मुर्ति भेटिएको ठाउँमा पहिले खस राजाको दरवार रहेको अनुमान गरिएको छ,’ उनले भने, ‘कनकासुन्दरी मन्दिर लगायत सिंजा क्षेत्रमा रहेका महत्वपूर्ण स्थानहरुको संरक्षण, संग्राहलय, उल्खनन् र सुरक्षाको आवश्यक रहेको छ ।’

कनकासुन्दरी मन्दीर क्षेत्रमा धर्मशाला निर्माण गर्दा तीन सय बर्षभन्दा पुरानो मुर्ति भेटिएका मुर्तिहरु सुरक्षाको लागि ईलाका प्रहरी कार्यालय हाडसिंजामा राखिएको अहिले ती मुर्तिको अवस्थाका बारे जानकार नभएको स्थानीय ताराजंग हमालले बताए । ‘मन्दिर क्षेत्र र खस राज्यको दरवार रहेको क्षेत्रमा उत्खननको आवश्यकता रहेको छ ।’ उनले भने,–‘यसले इतिहाँस के भन्नेसम्म पनि पत्ता लाग्न सक्छ ।’

यस्तो छ खस राज्य इतिहाँस
बलीराजका पालामा जुम्ला राज्य समृद्ध र शक्तिशाली भनाई रहेको छ । जुम्ला राज्यका अन्तिम राजा सूर्यमान शाहीले १८१६ मा राज्याभिषेक गरेका थिए । नेपाल एकीकरणको अभियानमा शिव नारायण खमीको गोर्खाली सेनाले १८४६ असोज ३ गते कब्जा नगरुन्जेलसम्म जुम्ला राज्यको अस्तित्व रहेको थियो ।

चौंथो शताब्दीमा सुरु भएको जुम्ला राज्य अठारौँ शताब्दीसम्म अखण्ड र शक्तिशाली रहेको थियो । कर्णालीका राजाहरुको मुख्य योगदान भनेको अहिले बोलीचालीको भाषाको रहेको खस भाषको उद्गम स्थल हो । सिञ्जा उपत्यकामा ई.सा. को १३ औं शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको थियो । सिंजा उपत्यका खस मल्लहरूको राजधानी थियो । १२ औं शताब्दी देखि ई.सा. को १४ औं शताब्दीसम्ममा नेपाली भाषाको उत्पत्ति सिञ्जामा भएको बिभिन्न इतिहाँसमा लेखिएको पाइन्छ । खस राज्यको अस्तित्व करिब २२६ वर्षसम्म रहेको थियो ।

नासिँदै खस राज्यको इतिहाँस

कोरिएला समृद्ध कर्णालीको खाका ?

नासिँदै खस राज्यको इतिहाँस

जुम्लामा फुल्न थाले गुराँस

This will close in 0 seconds