दलित महिला जनप्रतिनिधिले अझै विभेद भोग्नुपरेको गुनासो


दलित महिला जनप्रतिनिधिले वडाभित्रका योजनामा अझै पनि विभेद भोग्नुपरेको गुनासो गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाका दलित महिला जनप्रतिनिधिहरूले दलित लक्षित कार्यक्रमका लागि बजेट थोरै छुट्ट्याएर विभेद गरिएको गुनासो गरेका हुन् ।
दलित महिला संघ सुर्खेतले आयोजना गरेको एक कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिले वडामा दलित लक्षित कार्यक्रम र बजेटका लागि अझै दबाब दिनैपर्ने अवस्था रहेको बताए ।
वीरेन्द्रनगर नगरपालिका वडा नं १ की दलित महिला वडा सदस्य मनमाया विकले निर्वाचित भएको पहिलो वर्ष हस्ताक्षर गर्ने काममात्रै भएको बताइन् । वडाभित्र लक्षित कार्यक्रम तर्जुमा भन्दा समग्रताको कार्यक्रम राखेर सबैलाई एकै घानमा राख्न खोजिने उनको भनाइ छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं ४ का दलित महिला जनप्रतिनिधि डम्मरी नेपालीले बजेट छुट्याउने बेला थाहा नदिने र दलित लक्षितको बजेट रकमान्तर गरी अन्य योजनामा राखिने बताइन् । निर्वाचित भएको पहिलो वर्ष आफूहरुलाई ऐननियम बुझ्नै लागेको र त्यतिबेला दलित लक्षित कार्यक्रमको बजेट फिर्ता गएको उनले जानकारी दिइन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नं ६ का दलित महिला वडा सदस्य कमला नेपालीले दलित लक्षित योजना तथा बजेटका लागि दबाब दिनैपर्ने अवस्था रहेको बताइन् ।
सुरुमा काम गर्न अलमल भएको स्मरण गर्दै उनले अहिले सहज रूपमा नभए दबाब दिएर भए पनि काम गर्न र गराउन परेको बताइन् । कार्यक्रममा सहभागी पूर्वजनप्रतिनिधिहरूले पनि दलितका लागि कार्यक्रम र बजेट ल्याउन निकै संघर्ष भोग्नुपरेको बताएका छन् ।
वडा नं ७ का दलित महिला वडा सदस्य चन्द्रा नेपालीले भने आफूले वडामा कुनै पनि विभेद नभोगेको बताइन् । योजना बनाउँदा र बजेट छुट्याउँदा आफूसँग पनि सल्लाह गर्ने गरिएको उनको भनाइ छ ।
दलित महिला संघ सुर्खेतकी अध्यक्ष मञ्जु सुनारले दलित लक्षित बजेट र कार्यक्रमममा पनि दलित महिलारूलाई प्राथमिकतामा राख्न सुझाव दिइन् । उनले भनिन्, ‘हरेक तहमा बजेट र योजनाका लागि सहज रूपमा नपाइने हुँदा त्यसका लागि लड्नैपर्ने अवस्था अझै रहनु दुःखद् हो ।’






