सडक पूर्वाधार निर्माणमा फड्को : राष्ट्रिय सडक सञ्जालमा जोडियो हुम्ला

नेपालका ७७ वटै जिल्लाहरुमा सडकको राष्ट्रिय सञ्जाल विस्तार भएको छ । सडको ट्र्याक खोल्न सुरु भएको झण्डै एक दशकपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । भौगोलिक रूपमा कठिन तथा चुनौतीपूर्ण स्थानहरूमा पूर्वाधार निर्माणको जिम्मा लिँदै आएको नेपाली सेनाले हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडेको हो । हुम्लाको लालीबगरदेखि दुल्लीकुनासम्मको ११ किलोमिटर कडा चट्टानी पहाडमा सेनाले ट्र्याक खोलेसँगै कर्णाली करिडोर सञ्चालनमा आउने भएको हो । यो काम सेनाले गत चैतमै सके पनि अहिले सडक चौडा पार्ने र ग्रेड मिलाउने काम गरिरहेको छ । यद्यपी हाललाई सडकमा सवारी साधान सञ्चान भने हुने छैनन् ।

ट्र्याक खोलेको खण्डलाई स्तरोन्नति गरी यसै आर्थिक वर्षमा सडक विभागलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको सैनिक प्रवक्ता एवम् सहायक रथी गौरवकुमार केसीले बताए । ‘अहिले सेनाले जिम्मा लिएको खण्डको ट्र्याक खोल्ने काम भएको छ,’ प्रवक्ता केसीले भने, ‘ट्र्याक खुलेको खण्ड भएर केही टिपर र ट्र्याक्टर सदरमुकाम पुगेका छन्, राम्रोसँग सवारीसाधन गुड्न मिल्ने गरी सडक सुधारको काम भइरहेको छ ।’ कर्णाली करिडोरअन्तर्गतको लालीबगर–दुल्लीकुना सडकको ट्र्याक खुलेसँगै उत्तरको छिमेकी चीनसँग स्थलमार्गबाट कर्णाली र सुदूरपश्चिम प्रदेश जोडिएका हुन् । सेनाले अहिले काम गरिरहेको लालीबगर–दुल्लीकुनाअन्तर्गत पर्ने छहारेदेखि लिप्चेसम्मको भीर सबैभन्दा कठिन हो । कडा चट्टान फुटाउनका लागि ब्लास्टिङको काम सकेर आठ सय मिटर सडकखण्डको लेबलङिग सेनाले गरिरहेको छ । यस्तै हाल सडक विभागले काम गरिरहेको बोक्चे गौँडा, भी–गौँडा, दुली कुना र याङ्चुका मोड काट्नुका साथै सडकको लेभल मिलाउने जिम्मेवारी पनि सेनाले पाएको छ । यो सडकमा साना सवारी सञ्चालन रहे पनि ठूला सवारी सञ्चालन गर्न कठिन हुने गरेको छ ।

कर्णाली करिडोर नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सडक हो । भारतसँगको सिमाना लुम्बिनी प्रदेशको बाँकेअन्तर्गत जमुनाहदेखि चीनसँगको सिमाना हिल्सासम्मको सडकको दूरी पाँच सय पाँच किलोमिटर पर्दछ । यो सडक बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, सुदूरपश्चिमको बाजुरा, हुम्ला सदरमुकाम सिमकोटहुँदै चीनको सीमा क्षेत्र हिल्सासम्म पुग्छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हिल्सा पुग्न चार सय १९ किलोमिटर पार गर्नुपर्ने हुन्छ । कर्णाली करिडोर कालीकोटको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि सुरु हुन्छ । सुदूरपश्चिमको बाजुरा भएर हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरको छिमेकी चीन जोड्ने यो सडकको बाँकी खण्डमा यातायातका साधन सञ्चालन भइरहेका छन् । हुम्ला सदरमुकाम सिमकोटदेखि चीनको सिमाना हिल्सासम्म र कर्णाली करिडोरको बाँकी खण्डमा पनि यातायातका साधन चलिरहेका छन् ।

सेनाले कर्णाली करिडोरअन्तर्गत कालिकोटको घाटपारी चौरदेखि बाजुराको झुम्काखोलासम्मको ११ दशमलव पाँच किलोमिटर सडकको चौडा पार्ने काम गरिरहेको छ । यो सडक खण्ड निर्माण भए कर्णाली करिडोर आठ किलोमिटर छोटो हुनेछ । ११ दशमलव पाँच किलोमिटरमध्ये तीन दशमलव पाँच किलोमिटर सडकको ट्र्याक सेनाले खोलेको छ । चालु आर्थिक वर्षमा थप एक दशमलव पाँच किलोमिटर सडकको ट्र्याक खोल्ने लक्ष्य सेनाले राखेको छ ।
संघीय सरकारले उत्तरको छिमेकी चीन जोड्ने कर्णाली करिडोरअन्तर्गतको दुल्लीकुना–लालीबगर खण्ड निर्माणको जिम्मा दुई वर्षअघि नेपाली सेनालाई दिने निर्णय गरेको थियो । २०७८ साउनमा सेनाले कर्णाली करिडोरअन्तर्गतको खुलालु–हिल्सा सडकको एक सय २२ किलोमिटर सडक निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको थियो । सल्लीसल्लादेखि सिमकोटसम्मको ५१ किलोमिटर खण्डमध्ये बाँकी खण्डमा ट्र्याक खुलिसकेको छ । हुम्ला सदरमुकाम सिमकोटदेखि हिल्सासम्मको ९४ किलोमिटर सडक अहिले पनि सञ्चालनमा छ ।

संघीय सरकारले चालु आर्थिक वर्षका लागि कर्णाली करिडोर सुधारका लागि ९७ करोड रुपैयाँ छुट्याएको छ । कर्णाली प्रदेश दक्षिणको छिमेकी भारतसँग जोडिएको छैन । त्यसैले पनि उत्तरको छिमेकी चीनसँग स्थलमार्गबाट जोडिनु कर्णालीका लागि महत्त्वपूर्ण छ । कर्णाली करिडोर सञ्चालनमा आएसँगै हाटभोटको व्यापार पुन सुरु हुनुका साथै मानसरोवर यात्रा गर्नेका लागि यो करिडोर स्थालमार्गबाट सबैभन्दा छोटो र सहज हुनेछ । ट्र्याक खोल्ने काम भए पनि सहज सवारी साधन चल्ने सडक बनाउन समय लाग्ने सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताए । अध्यक्ष भण्डारीका अनुसार हाल ट्र्याक खोलेको सडकलाई चौडा गर्ने, ग्रेड मिलाउने र पुल निर्माणको काम भइरहेका छन् ।

यो खण्डमा अझैपनि आधा दर्जन बढी जोखिमपूर्ण स्थानमा सडक चौडा पार्न बाँकी रहेको अध्यक्ष भण्डारीले बताए । यी भीर चौडा पार्न र ग्रेड मिलाउने जिम्मा सेनालाई दिने तयारी भइरहेको सडक विभागले जनाएको छ । सेनालाई दिन लागिएको हिल्सातर्फ चार सय मिटरको एल्वाङ र तीन सय ५० मिटरको च्याछर भीर छ । यस्तै, एक सय मिटरको याङचु खोला नजिकको चट्टान, दुई सय मिटरको भिगौंडा, एक सय ५० मिटरको बोक्चे गौंडा र दुई सय मिटरको दुल्लीकुन्ना भीर चौडा गर्ने जिम्मा सेनालाई दिने गरी तयारी थालिएको छ ।

तपाईको प्रतिक्रिया