कर्णालीका ८२ प्रतिशत जन संख्यामा ऊर्जाको पहुँचमा,दुई सय भन्दा बढि आयोजनाहरू सम्पन्न

सुर्खेत ।
कर्णाली प्रदेशमा ८२ दशमलव ९३ प्रतिशत नागरिक ऊर्जाको पहुँचमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कर्णालीमा विद्युत उत्पादन क्षमता २० हजार मेगावाट रहेको छ ।
विभिन्न चरणमा प्रवेश गरेर १० हजार मेगावाट क्षमताका जलविद्युत आयोजना विभिन्न प्रक्रियामा छन् । हालसम्म ८२ प्रतिशत नागरिकको घरमा ऊर्जाको पहुँच पुगेको हो ।कर्णालीमा अहिले ऊर्जा उत्पादनको अवस्था १६ दशमलव ५४ मेगावाट क्षमताका रहेको छ । प्रदेशमा तीन लाख ७१ हजार दुई ६५ घरधुरी रहेका छन् ।
जसमध्ये तीन लाख सात हजार आठ सय ७२ घरधुरीमा विद्युतीकरण गरिएको छ ।
जसमा राष्ट्रिय प्रसारण लाइनबाट दुई लाख ४६ हजार एक सय ३१ घरधुरी विद्युतीकरण भएको र बाँकी ६१ हजार सात सय ४१ घरधुरीमा अन्य नवीकरणीय ऊर्जाबाट विद्युतीकरण भएको छ ।
प्रदेश भर ६३ हजार तीन सय ९३ घरधुरीमा विद्युतीकरण हुन बाँकी रहेको छ । दुई वर्षभित्र कर्णालीका सम्पूर्ण घरधुरीमा विद्युतीकरण गर्ने लक्ष्य सरकारको छ ।
कर्णालीमा सम्पन्न भएका आयोजना
सानाठूला गरेर कर्णालीमा दुई सय ३६ वटा आयोजनाहरू निर्माण सम्पन्न भएका छन् । जसमध्ये दैलेखको नौमूले गाउँपालिकामा रहेको पदमखोला जलविद्युत आयोजना चार दशमलव आठ मेगावाट र द्वारीखोला जलविद्युत आयोजना ३.७५ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् ।
दैलेखमा नै निर्माण भइरहेको अप्पर लोहोरे खोला जलविद्युत आयोजना ४.० मेगावाट पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिन लागेको छ । यो आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएपश्चात् कर्णाली प्रदेशमा उत्पन्न ऊर्जा सङ्कट समाधान हुने अपेक्षा गरिएको छ ।
प्रदेश सरकारको तर्फबाट १० प्रतिशत लागत साझेदारी हुने गरी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट सञ्चालन भएका जाजरकोट जिल्लाका जुनी सौर्य मिनिग्रिड आयोजना (३५ किलोवाट), कुशे ठाँटिकाँध सौर्य मिनिग्रिड आयोजना १६० किलोवाट निर्माण सम्पन्न भएका छन् । नलगाड नगरपालिका– ८ मसिरी सौर्य मिनिग्रिड आयोजना १८ किलोवाट निर्माणाधीन अवस्थामा रहेको छ ।
सानाठूला गरेर ७० वटा आयोजनाहरू विभिन्न चरणमा रहेका छन् । कुनै सर्वेका लागि, कुनै उत्पादन अनुमति लगायतका चरणमा रहेका छन् । १४ वटा लघुजलविद्युत आयोजनाहरू हाल बन्द रहेका छन् । कमजोर व्यवस्थापन, प्राकृतिक विपद् (बाढी पहिरो) का कारणले गर्दा सञ्चालनमा आउन नसकेका हुन् ।
हाल कर्णाली प्रदेशमा १७ वटा जलविद्युत तथा सौर्य ऊर्जा आयोजनाहरूले निर्माण अनुमति प्राप्त गरेका छन् । निर्माणाधीन आयोजनाहरूबाट नौ सय २४ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । आयोजना अध्ययनकार्य सम्पन्नसरि आयोजना निर्माण अनुमति पेस गरिएका नौ वटा आयोजनाहरूबाट दुई हजार चार सय ९१ मेगावाट विद्युत उत्पादनको क्षमता हुनेछ ।
नेपाल सरकारबाट अध्ययन सम्पन्न भएका ६ वटा आयोजनाहरूबाट एक सय ५४ मेगावाट विद्युत उत्पादनको क्षमता रहेको छ । सरकारबाट नै हालअध्ययन भइरहेका १० वटा आयोजनाहरूबाट दुई हजार ३६ मेगावाट विद्युत उत्पादनको क्षमता हुनेछ । प्राविधिक तथा आर्थिक हिसाबले निर्माण गर्न सकिने करिब २० हजार मेगावाट क्षमताका जलविद्युत आयोजनाहरू मध्ये समग्रमा कर्णाली प्रदेशमा हाल दश हजार मेगावाटका साना ठुला गरी ७० वटा आयोजनाहरू विभिन्न चरणमा छन् ।






