जनगणनामा छोरीको अनुपातमा छोरा धेरैः विज्ञ भन्छन्, लिङ्ग पहिचानपछिको गर्भपतन मुख्य कारण

काठमाडाै‌ । शुक्रबार सार्वजनिक गरिएको राष्ट्रिय जनगणनाको तथ्यांकमा नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । जनगणनाअनुसार बालबालिका (जनगणना अवधिभर १२ महिनाभन्दा कम उमेरका) ४ लाख १२ हजार ९ सय ३५ जना बच्चा जन्मिएका थिए । जसमध्ये २ लाख १८ हजार ७४ जना छोरा र १ लाख ९४ हजार ८ सय ६१ छोरी जन्मिएका छन् । अर्थात् छोरा ५२.८ प्रतिशत र छोरी ४७.३ प्रतिशत जन्मिएको पाइएको छ ।

यसलाई विभिन्न कारणसँग जोड्न सकिने विज्ञहरूले बताएका छन् । नेपाली समाजमा छोराको महत्त्वाकांक्षा बढी हुनुको एउटा कारण हुन सक्ने बताउँछन्, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव कपिल तिमिल्सिना ।

उनी भन्छन्, ‘कल्चरले छोरालाई महत्त्व दिने गरेको छ । छोराछोरा भन्ने चलन छ । यस्तो बेलामा टेक्नोलोजी आयो । अनि लिङ्ग पहिचान गरेर थाहा पाउन थाले । नेपालमा थाहा भएन भने भारत जान थाले । र, भारतमा लिङ्ग थाहा पाएर नेपाल आएर गर्भपतन गर्न थाले ।’

उनका अनुसार तथ्याङ्क हेर्ने हो भने गर्भपतन गराउनेको संख्या बढेको देखिन्छ । गर्भपतन बढ्नुको एउटा तथ्य यो पनि हुन सक्ने उनले बताए । ‘बालिकाको जन्मदर कम हुने र अर्कोतिर गर्भपतनको रेसियो बढ्ने भयो भने त्यसलाई रिलेट गर्न सकिन्छ । तर, कसैले पनि छोरी भएका कारण मैले गर्भपतन गराएँ भनेर भन्दैनन्’, उनले भने, ‘पहिलापहिला छोरा र छोरी पत्ता लगाउने टेक्नोलोजी नै थिएन । एक्सेस कम थियो । टेक्नोलोजी कम थियो । जनचेतना कम थियो ।’

त्यस्तै, समाजले छोरालाई धेरै महत्त्व दिन भएका कारण छोरीको जन्मदर कम भएको बताउँछिन्, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी उपसचिव रोशनी देवी कार्की । उनी भन्छन्, ‘हाम्रो समाजमा छोराको महत्त्व धेरै छ । र, छोरीको कम छ । धर्मले छोराछोरी नभने पनि समाजिक संरचनाले त्यस्तो भन्दो रहेछ ।’

स्वास्थ्य मन्त्रालयले १२ वटा जिल्लामा छोरा–छोरी जन्मदरमा एउटा अध्ययन गरेको थियो । जसमा छोराको जन्मदर धेरै भएको पाइएको छ । उसो त छोरा र छोरीको जन्मदरमा ४९ मा ५१ रेसियोलाई सामान्य मान्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले नै भनेको छ, ‘एक सय छोरी जन्मिँदा १०५ छोराको जन्म हुन्छ ।’ तर, मन्त्रालयले गरेको अनुसन्धानमा १ सय जना छोरी जन्मिदा १२७ जनाभन्दा छोरा जन्मिएको पाइएको छ । महिलामा एक्स क्रोमोजोम हुन्छ, र पुरुषमा एक्स अनि वाई दुवै क्रोमोजोम हुन्छ । एक्स क्रोमोजोमभन्दा वाई क्रोमोजोम अलि बढी नै सक्रिय हुने गर्छ । जसले गर्दा छोरा धेरै जन्मिन सक्छन् ।

यो भन्नुको अर्थ छोरीभन्दा केही संख्यामा छोराको जन्म धेरै हुन्छ । र, यही कारणले छोरीको तुलनामा छोराको संख्या अलिकति धेरै हुन सक्छ । तर, जनगणनाको कुरा गर्दा छोरीको रेसियो कम देखिएको छ । जसलाई लिङ्ग पहिचान गरेर हुन सक्ने गर्भपतलाई जोड्न सकिने प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. जागेश्वर गौतमले बताए ।

उनले भने, ‘प्राकृतिक रूपमा कम हुनु सामान्य हो । तर, अहिलेको अवस्थामा सरकारले कडाइ गर्नुपर्‍यो । लिङ्ग पहिचान गैरकानुनी कुरा हो । र, यो अमानवीय कुरा पनि हो । छोरी जन्मिनै नपाउने भन्ने हुँदैन । लिङ्गको पहिचान डाक्टरले गर्ने हो । यस्तो अनियमितताका बारेमा अनुगमन गर्न अत्यन्तै आवश्यक देखिन्छ ।’

सरकारले सुरक्षित गर्भपतनलाई मान्यता दिएको छ । तर, यही कुराको गलत फाइदा उठाइएको उपसचिव कार्कीले बताउँछिन् । उनी भन्छिन्, ‘सुरक्षित गर्भपतन गर्न पाउनुपर्ने महिलाको अधिकार हो भनिएको छ, तर यही सुरक्षित गर्भपतनभित्र रहेर लिङ्ग पहिचान गरेर नजानिँदो तरिकाले गर्भपत गर्ने गरेको देखिएको छ ।’

पहिलो बच्चा जन्मँदा फरक नदेखिए पनि दोस्रो बच्चा जन्मिँदा लिङ्ग पहिचानको समस्या देखिएको कार्कीले बताइन् । उनले भनिन्, ‘पहिलो बच्चामा फरक पाएका छैनौँ । तर, दोस्रो बच्चाको केसमा यो लिङ्ग पहिचान गर्ने गरेको पाइएको छ । फेरि पहिलो बच्चा छोरा छ भने फरक नपर्न सक्छ । यदि पहिलो बच्चा छोरी छ भने उनीहरूलाई छोराको चाहना हुन्छ । र, उनीहरूले लिङ्ग पहिचान गर्ने नै देखिएको छ ।’

लिङ्ग पहिचान सरकारी अस्पतालहरूमा भन्दा पनि निजी क्लिनिकहरूमा धेरै हुने गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘यो सरकारी अस्पतालमा भन्दा अन्य ठाउँहरूमा धेरै हुन सक्छ । हुन त सरकार तर्फबाट अनुगमनको पाटो हेर्ने हो भने एकदमै कमजोर देखिने गरेको छ ।’ तर, यसको अनुगमन हुन सकेको छैन । देश संघीयतामा गएसँगै स्वास्थ्य प्रणालीमा समस्या देखिएको छ । संघ, केन्द्र र स्थानीय तह गरी तीन तहका सरकार छन् । जसले गर्दा स्वास्थ्य संस्थाको अनुगमन कसले गर्ने ? अनुगमन नियमन गर्ने निकाय कुन हो भन्नेमा नै उनीहरू स्पष्ट छैनन् । संघीयतामा जानुभन्दा अगाडि सबै स्वास्थ्य संस्थाको अनुगमन स्वास्थ्य मन्त्रालयले हेर्दै आइरहेको थियो । अहिले तीन तहका सरकारले गर्नुपर्ने भएपछि समस्या देखिएको छ ।

प्रविधिको दुरुपयोग

गर्भावस्थामा हुने भ्रूण पहिचानमा प्रविधिको दुरुपयोग भइरहेको बताउँछन्, परिवार कल्यान महाशाखाका निर्देशक डा. विवेक लाल । उनी भन्छन्, ‘गर्भ अवस्था पत्ता लगाउन सक्ने प्रविधि दुरुपयोग भइरहेको छ । छोरीभन्दा छोरा चाहिने भएका कारण गैरकानुनी रूपमा लिङ्ग पहिचान गरिने गरेको छ ।’

अहिलेको जनगणनामा देखिएको रेसियोमा कुनै वैज्ञानिक कारण छैन । केही मात्रामा तलमाथि भए पनि ठूलो संख्यामा छोरीको रेसियो कम हुनुलाई लुकीछिपी भइरहेको गर्भपतनलाई लिन सकिन्छ । लाल भन्छन्, ‘केही मात्र तलमाथि हुनु फरक पर्दैन । तर, छोरा मात्रै जन्मिने भन्ने हुँदैन । उन्नत भएको प्रविधि छ । भारत र चीनमा जस्तो लिङ्ग पहिचान गरेर गर्भपतन गर्नेहरूको संख्या बढ्दो छ भन्ने अहिलेको जनगणनाले देखाएको छ ।’

तर, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ ले लिङ्गको पहिचान गरी गर्भपतन गर्न नहुने उल्लेख गरेको छ । नेपालमा ऐनविपरीत लिङ्गको पहिचान गरी गर्भपतन भइरहेको डा. लालले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्माचार्य भने लिङ्ग छनोटमा तीनवटा कारण मुख्य रूपमा देखिएको बताउँछिन् । उनी भन्छिन्, ‘एउटा बच्चा जन्मिनेबित्तिकै परिवार नियोजन गर्ने कुरा आउँछ । जसमा छोरा भए पनि हुन्छ र छोरी भए पनि हुन्छ । जसको कारण बच्चा धेरै नचाहनु नै हो । दोस्रोमा प्रजनन् दर कम भएको पाइएको छ । र, अर्को भनेको छोराकै लागि भनेर गर्भपतन गराउनु नै हो ।’

उनका अनुसार लिङ्ग पहिचान गरेर गर्भपतन पढेलेखेका व्यक्तिहरू र ग्रामीण क्षेत्रका व्यक्तिहरूमा यो समस्या उस्तै छ । कर्माचार्यले भनिन्, ‘तर, नपढेको भन्दा पढेका व्यक्तिहरूमा धेरै देखिएको छ । सेवा सुविधाको छनोट पनि शिक्षित वर्गहरूमा धेरै हुन्छ । फेरि खर्चको कुरा पनि आउन सक्छ । गरिबले पटकपटक खर्च गर्न नसक्ने अवस्था पनि हुन्छ होला ।’

गर्भपतन गर्न भारतबाट नेपाल

भारतमा लिङ्ग पहिचान गरेर गर्भपतन गर्न पाइँदैन । तर, खुल्ला सिमानाका कारण भारतबाट नेपाल आएर र नेपालबाट भारत गएर लुकीछिपी गर्भपतन गराइरहेको बताउँछिन्, कर्माचार्य । ‘यसलाई रोक्न सकिएन भने अझै विकराल रूप लिने अवस्था नआऊला भन्न सकिँदैन । सबैभन्दा धेरै सिमाना जोडिएका जिल्लाहरूलाई निगरानीमा राख्न आवश्यक देखिएको छ ।’

नेपालमा जस्तै भारतमा पनि छोरीको भन्दा छोराको महत्त्व धेरै राख्दै आएका छन् । र, कानुनविपरीत लिङ्ग पहिचान गरेर गर्भपतन गराउने गरेको उनले बताइन् ।

मन्त्रालयको १० वर्षे रणनीति

सरकारले सन् २०३२ सम्म विभेदपूर्ण लिङ्ग छनोट गर्ने तपाईं हाम्रो मनोवृत्तिको अन्त्य गर्ने योजनामा मन्त्रालय लागेको छ । उपसिचव कार्कीले भनिन्, ‘यसको मुख्य उद्देश्य लिङ्ग पहिचान गर्ने कसैको सोच नै नआओस् भन्ने हो । परिवारको क्षमताको विकास गर्ने र जनचेतनाको काम धेरै गर्नुपर्ने देखिन्छ । तीनै तहले के गर्ने ? कसको के जिम्मेवारी ? प्रत्येक वर्षमा के के गर्ने भनेर रणनीति बनाएका छौँ ।’

प्रदेश तहमा प्रदेशस्तरको सहजीकरण समिति र स्थानीय तहमा स्थानीयस्तरको सहजीकरण समिति भनेर कार्यान्वयन गराउने योजना बनाएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘सातवटै प्रदेशका स्वास्थ्य संस्थाहरूमार्फत स्थानीय तहमा समन्वय गरिदिन प्रत्राचार गरेका छौँ । भविष्यमा लैंगिक अन्तर नहोस् भन्ने नै हो । बालिका कम हुने भन्नेबित्तिकै सबै कुरामा ह्रास आउँछ । जसले गर्दा जन्मदरमा पनि कमी हुने भयो ।’

कार्कीका अनुसार प्रदेश तथा स्थानीय तहले आफूले गर्ने कार्यमा स्वास्थ्यका सम्पूर्ण कुराहरूलाई समावेश गरेर लैजान जरुरी छ । ‘यो प्रत्येक व्यक्ति, घर, समाजको कुरा हो’, उनले भनिन् ।

अन्तर्राष्ट्रियस्तरमा नेपालमा जस्तो लिङ्ग पहिचानपछि गर्भपतनको समस्या भितनाम, जर्जिया, बंगलादेशजस्ता देशहरूमा देखिएका थिए । भियतनाम र जर्जिया छोरीको संख्या नहुने अवस्थामा पुगिसकेका थिए ।

ती देशहरूले पनि नेपालले बनाएका जस्ता रणनीति अपनाएको कार्कीले बताइन् । उनले भनिन्, ‘जर्जियाले फादर्स क्लब भनेर सुरु गरेको छ । जसको केयरिङ र सेसिङमै बुबाको सहभागिता हुने गर्छ । अझ भनौँ न, सबै कुरा बुबाहरूले नै गर्छन् । त्यस्तै, अहिले नेपाल र बंगलादेशले पनि छोरी बचाउनका लागि नयाँ रणनीतिमा काम गरिरहेका छौँ ।’

यसको अर्थ छोराको जन्मदर घटाएर छोरीको बढाउनुपर्ने नभएको उनले बताइन् । कार्कीले भनिन्, ‘फेरि छोरी बचाउनुपर्छ भन्ने कुरामा यो होइन कि छोरालाई घटाएर वा विभेद गरेर अगाडि बढ्ने । मात्र के हो भने छोरा वा छोरीमा कुनै पनि खालको विभेद नगरौँ । लिङ्गको पहिचान नगरौँ । छोराको जत्तिकै छोरीलाई महत्त्व दियौँ भने उनीहरूले गर्न नसक्ने के नै छ र ?’ उनका अनुसार सबै छोरी आफ्नो मूल्यमा हुनुपर्छ ।

जन्मदर शून्य

अबको ५० वर्षमा नेपालमा बालबालिकाको जन्मदर शून्य हुने अनुमान गरिएको छ । जन्मदर घट्दै आएको छ । यो अवस्थामा जन्मदर शून्य हुने अवस्था नआऊला भन्न नसकिने कार्की बताउँछिन् ।

‘अहिले हामीले देखिरहेका छौँ । बिहे नै गर्न नचाहनेहरूको जमात बढ्दो छ । अर्को बिहे गरिहाले पनि बच्चा जन्माउन नचाहनेको संख्या पनि बढ्दो छ । परिर्वतन भइरहेको जीवनशैलीले प्रजनन् क्षमता कम हुँदै गइरहेको अवस्था छ,’ उनी भन्छिन्, ‘अर्कोतर्फ लिङ्ग पहिचान गरी गर्भपतन गर्नेको जमात उस्तै छ । जसले गर्दा चीनको जस्तो समस्या नेपालमा अनाऊला भन्न सकिँदैन ।’ (शिलापत्र‌)

जनगणनामा छोरीको अनुपातमा छोरा धेरैः विज्ञ भन्छन्, लिङ्ग पहिचानपछिको गर्भपतन मुख्य कारण

सुर्खेत वामपन्थी राजनीतिका मर्मज्ञ देवेन्द्र वीसी

जनगणनामा छोरीको अनुपातमा छोरा धेरैः विज्ञ भन्छन्, लिङ्ग पहिचानपछिको गर्भपतन मुख्य कारण

जिमएआरद्वारा २३ जना युवालाई व्यवसायिक तालिम प्रदान

Leave a comment

Your email address will not be published. Required fields are marked *