काम नगर्ने ठेकेदारलाई कारबाही गरिँदै

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका-१० रग्दा र रुकुम पश्चिम आठबीसकोट नगरपालिका-५ स्यालाखदी जोडने भेरी नदीको पुल सात वर्षसम्म निर्माण सम्पन्न नभएपछि सडक डिभिजन कार्यालय चौरजहारीले ठेक्का तोड्ने चेतावनी दिएको छ।
काठमाडौँको बसुन्धारास्थित मृत सञ्जीवनी ग्याल्वा जेभीले विसं २०७७ पुस १३ मा निर्माण सम्पन्न गर्ने गरी २०७३ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो। सम्झौता मिति पूरा भई दुईवर्ष बितिसक्दा एक ठाउँमा मात्र पिल्लर उठाएर निर्माण बीचमै छाडेपछि काम अलपत्र परेको छ।

पटक-पटक म्याद थप्दा पनि निर्माण कम्पनीले काम नगरी सम्पर्कविहीन भएपछि डिभिजन कार्यालय चौरजहारीले अन्तिम पत्र लेख्दै ठेक्का तोडने चेतावनी दिएको हो। काम गर्ने भए विश्वसनीय कार्ययोजनासहित १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अन्तिम पटक चेतावनी दिइएको डिभिजन प्रमुख आशुतोष कणर्ले बताए। यसअघि म्याद थप गर्दा गरिएका प्रतिबद्धता अनुसार काम नभएको भन्दै कार्यालयले १५ दिनभित्र विश्वासनीय स्पस्टीकरण र समयमै निर्माण गर्ने यथेष्ट कार्ययोजनासहित आउन अन्तिम चेतावनी पत्र लेखेको छ। कार्यालयले चेतावनी पत्रलाई अटेर गरी सम्पर्कमा नआए ठेक्का रद्द गर्ने चेतावनी दिएको छ। यहाँ काम गर्ने मजदुरले यसअघि काम गरेको पारिश्रमिकसमेत नपाएको नलगाड नगरपालिका-१० का सुरेन्द्र थापाले बताए।

रुकुम पश्चिम आठबीसकोट नगरपालिका ५ गोतामकोटका करवीर बस्नेतले काम गरेको रकम नपाएको गुनासो गर्नुभयो। गोतामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेका मजदुरले १० लाख र स्थानीय मजदुर जयलाल भण्डारीको नेतृत्वमा काम गरेका मजदुरले ६ लाख नपाएको बताएका छन्। स्थानीय चङ्खलाल नेपालीको ट्र्याक्टर प्रयोग गरेबापत निर्माण कम्पनीले ६ लाख र मजदुरले खाना बापतको रू दुई लाख भुक्तानी नगरेको भन्दै मजदुर आन्दोलनमा उत्रिएका छन्।

जाजरकोट खण्डमा सामान्य पिर उठाइएको छ। कम्पनीले छेडागाड नगरपालिकाका प्रमुख रत्न खड्काले बैंक ग्यारेन्टी राखेर काम सुरु गरेको थियो। सम्झौता मितिभन्दा बढी समय लगाएपछि पेश्की बराबरको रकम बैंकबाट कार्यालयले फिर्ता लिएपछि पुल निर्माण नगर्ने भन्दै प्रमुख खड्काले काम छोडेका थिए। नौ करोडमा पुल निर्माण गर्ने सम्झौतामा उल्लेख छ। खड्काले बीचमै काम छोडेपछि निर्माणको जिम्मा लिएको मृत सञ्जीवनी गाल्वा जेभीले हालसम्म काम अघि बढाएको छैन। भेरी करिडोरबाट रुकुम पश्चिम राप्ती लोकमार्गसँग जोड्ने उक्त पुल सात वर्षसम्म निर्माण नहुँदा यहाँको विकास निर्माणसमेत अवरुद्ध भएको छ। साथै भेरी करिडोर र राप्ती लोकमार्ग जोड्ने कामसमेत अवरुद्ध भएको छ।

त्यस्तै, पुष्पलाल मध्यपहाडी लोकमार्गसँग भेरी करिडोर जोड्ने रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको पूर्तिमकाँडा -गराइलाको बीचमा रहेको सानी भेरीको पुलसमेत नौ वर्षदेखि अलपत्र परेपछि सडक डिभिजन चौरजहारीले कारबाही गर्ने अन्तिम तयारी थालेको छ। सपना सैलुङ जेभीले ०७७ पुस १३ मा निर्माण सम्पन्न गर्ने गरी २०७१ मङ्सिर २ गते सडक डिभिजनसँग सम्झौता गरेको थियो। सम्झौताको भाका नाघेको दुई वर्ष पूरा हुँदासम्म पनि कामको सुरुवात नगरेकाले सडक डिभिजन कार्यालयले कारबाही गर्न सार्वजानिक सूचना निकालेको छ।

उक्त पुलले पुष्पलाल मध्यपहाडी, भेरी करिडोर सडकसँग जोडिने उद्देश्यले ठेक्का खोलिएको थियो। निर्माण कम्पनीले काम सुरु नगर्दा ठेक्का तोड्ने अवस्थामा पुगेको डिभिजन प्रमुख कणर्ले बताए। म्याद थप गर्दा गरिएका प्रतिबद्धताअनुसार काम नभएको भन्दै डिभिजन कार्यालयले १५ दिनभित्र काम गर्ने प्रतिवद्धतासहित कार्ययोजना तयार गरी सम्पर्क आउन अन्तिम चेतावनी पत्र लेखेको छ। “चेतावनी पत्रलाई अटेर गरेमा प्रचलित कानुन अनुुसार ठेक्का रद्द गरिने छ”, उनले भने। कामको जिम्मेवारी लिएर तोकिएको समयमा पूरा नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने प्रमुख कणर्ले बताए।

विद्यालयमा ठेकेदारले लगाए ताला
सल्यान ।गरेको कामको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले विद्यालयका २ भवनमा तालाबन्दी गरेपछि जिल्लाको त्रिवेणी गाउँपालिका-१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ। ८ कोठे र ४ कोठे दुई भवनमा तालाबन्दी हुँदा विद्यार्थीको पढाईमा समस्या भएको विद्यालयका सह प्रधानाध्यापक कृष्णबहादुर बुढाथोकीले बताए। विद्यालयमा तालाबन्दी हुँदा कक्षा ४, ५, ८, ९, १०, ११ र १२ कक्षाका विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको उनको भनाई छ।

ठेकेदारले ताला लगाएपछि भवन अभाव हुँदा दुइटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता रहेको उनको भनाई छ। एसइईको परीक्षा केन्द्र भएकाले थप समस्या भएको उनले बताए। उनले भने‚ ‘दुई भवनमा ठेकेदारले ताला लगाएपछि धेरै विद्यार्थीको पठनपाठन प्रभावित भएको छ भने १७ गतेदेखि हुने एसइईको परीक्षा केन्द्रसमेत यहीँ भएकाले त्यसको व्यवस्थापन कसरी गर्ने हो समस्या भएको छ।’

आफूहरुले पढ्दै आइरहेको भवनमा तालाबन्दी हुँदा जीणर् भवनमा जोखिम मोलेर पढ्न बाध्य भएको कक्षा १२ मा अध्ययनरत विद्यार्थी मिनराज खड्काले बताए। उनले भने‚ ‘नयाँ भवनमा डिजिटल प्रविधिबाट पढ्दै आइरहेका थियौं तर त्यहाँ ताला लागेपछि कक्षा ११ र १२ का विद्यार्थी साथै बसेर पढ्न बाध्य छौं।’ विद्यालय भवन निर्माण कम्पनी (ठेकेदार) विरुद्ध अख्तियारमा मुद्दा परेकाले विद्यालयको खातामा आएको रकम निकासा गर्न समस्या भएको विद्यालय प्रशासनले जनाएको छ।यता त्रिवेणी गाउँपालिकाले भने विद्यालयको खातामा रकम हालिसकेकाले ठेकेदारलाई रकम दिने नदिने विद्यालयको हातमा रहेको जनाएको छ।

अख्तियारले छानबिन गरिरहेकाले गाउँपालिकाका प्राविधिक गएर भवनको अन्तिम रिपोर्ट दिन नसक्ने गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले बताए। विद्यालयमा लागेको तालाबन्दी खोल्न सहजीकरणका लागि आफूहरु लागि परेको उनको भनाई छ। जिज्ञासु वीसी निर्माण कम्पनीले ८ कोठे भवनका लागि झण्डै २ करोड र ४ कोठे भवनका लागि १ करोड लागतमा निर्माण गर्ने सम्झौता गरेको थियो। निर्माण सम्पन्न भएको ६ महिनाभन्दा बढी भइसक्दा समेत आफूहरुले पाउनुपर्ने रकम नपाएको भन्दै ठेकेदार कम्पनीले गत शुक्रबार दुई भवनमा तालाबन्दी गरेको छ।

काम नगर्ने ठेकेदारलाई कारबाही गरिँदै

YUGAAWHAN NATIONAL DAILY (2079-12-10)

काम नगर्ने ठेकेदारलाई कारबाही गरिँदै

दुरसञ्चार सेवाकाे गुणस्तरियताका बारेमा छलफल

Leave a comment

Your email address will not be published. Required fields are marked *