भूकम्पपीडितका लागी अस्थायी टहरा बनाउँदै तरुण दल

![]()
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल जाजरकोटमा भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माणमा जुटेको छ । ५० जना युवाहरुले चार वटा समूह बनाएर काम गरिरहेका छन् ।
जिल्ला सदरमुकाम खलंगामा स्थानीय युवा समेतको सहभागितामा निर्माणको काम गरिरहेको तरुण दलका केन्द्रीय अध्यक्ष भुवन गुरुङले बताए । यसबाहेक भेरी नगरपालिका–१ का रिम्ना लगायतका स्थानमा तीन समूह बनाएर काम गरिरहेको उनले जानकारी दिए ।
‘गत बुधवारदेखी हामी निरन्तर अस्थायी आवास निर्माणका जुटेका छौं,’ अध्यक्ष गुरुङले भने,’ ‘अहिलेसम्म ४० वटा घरको फाउन्डेसनको काम सकिएको छ । अब भोलिबाट यसमा टिनको छानो हाल्ने काम सुरु हुन्छ ।’
आफ्नै खर्चमा टिनसमेत ल्याएर भूकम्प प्रभावित क्षेत्रका निम्न वर्गिय घर–परिवारका लागी अस्थायी टहरा निर्माणमा जुटेको बताउँदै तरुण दलका केन्द्रीय सदस्य नरेश आचार्यले अबको तीन दिनभित्र ६० टहरा निर्माण गर्ने लक्ष्य अनुसार काम गरिरहेको बताए ।
‘काठपात बाहेक श्रमदान र टिन दिएर हामी ६० वटा अस्थायी टहरा बनाउँछौं,’ उनले भने, ‘यसपछी थप एकसता हामी जाजरकोटसँगै रुकुम पश्चिममा खटिएर स्थानीयकै काठपात र टिन प्रयोग गरी सकेसम्म धेरै अस्थायी टहरा बनाउन श्रमदान गर्नेछौं ।’






