गुराँस लगानी सम्मेलन आयोजना हुने

सुर्खेत। दैलेखको गुराँस गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँसभा अन्तरगत १२ औँ अधिवेशनको पहिलो बैठकमा शुक्रबार गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
‘गुराँसमा लगानी हुनेछ आम्दानी’ भन्ने नारासहित गुराँस लगानी सम्मेलन आयोजना गर्ने भएको छ । ‘रैथाने बाली लगाऔँ, हाम्रो भविष्य जोगाऔँ’ भन्ने कार्यक्रम अन्तरगर्त रैथाने बाली लगाउन प्रोत्साहन गरि कृषि उपजको बजारीकरण र संरक्षण गर्न रैथाने बाली बीउ बैंक स्थापना गर्ने नीति गाउँपालिकाले अघि सारेको छ ।
गाउँपालिकाले एक वडा एक उद्योगको नीति समेत अघि सारेको छ । गाउँपालिकाका अध्यक्ष बिसीका अनुसार सम्भाव्यता अध्ययनको आधारमा ‘एक वडा एक उद्योग’ स्थापना गरिने बताए । यो कार्यक्रम कार्यान्वयन भए गाउँपालिकाका आठ वटै वडामा उद्योग स्थापना हुनेछ ।
गरिबी निवारणका लागि स्थानीय श्रम, सीप र प्रविधिको अत्याधुनिक दक्षतापूर्ण उपयोगी कार्यक्रम लागु गरी स्वरोजगार तथा आय एवं सीप परीक्षण गरि उद्योग स्थापनामा गरिने अध्यक्ष बिसीको भनाइ छ । उद्यमी महिला, समृद्ध परिवार कार्यक्रम अन्तरगत ‘उपाध्यक्ष महिला उद्यमी’ कार्यक्रम सञ्चालन गर्ने नीति गाउँपालिकाको छ ।
गाउँ गाउँमा सहकारी, घर घरमा रोजगारी कार्यक्रमलाई प्राथमिकता दिएको गाउँपालिकाले कृषि तथा पशुपंक्षी विकासलाई विशेष प्राथमिकता दिएको छ । बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग, कृषकहरूसँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिकास्थित घोडावासमा रहेको टिस्युकल्चर आलु मुल बिउ उत्पादनलाई गुराँस कृषि विकास तालिम केन्द्रका रुपमा विकास तथा थप प्रभावकारी बनाउने गाउँपालिकाले जनाएको छ । एक घर एक बगैचाँ, कृषक प्रोत्साहन कार्यक्रमलाई नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले अघि सारेको छ ।
गाउँपालिका भित्र रहेका सम्भावित पर्यटकीय गन्तव्य स्थलहरुको पहिचान, विकास, प्रचारप्रसार, प्रकाशन, प्रोफाइल तयार गरी एकीकृत पर्यटकीय सर्किट विकास गर्दै आन्तरिक पर्यटनलाई बढवा दिइने गाउँपालिकाका अध्यक्ष बिसीले बताए । गाउँपालिकाले कर्णाली नदिमा ¥याफ्टिङ संचालनमा ल्याउने नीति अघि सारेको छ ।
आगामी आर्थिक वर्षमा जिपलाइन, प्याराग्लाइडिङ, बन्जी जम्पिङ, माउन्टेन बाइकिङ तथा क्लाइम्बिङ, म्याराथुन जस्ता साहसिक खेल पर्यटन मार्फत आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सम्भाव्यता अध्ययन गरी निर्माण कार्य समेत अघि बढाउने अध्यक्ष बिसीको भनाइ छ ।
हरियाली विद्यालय विशेष कार्यक्रम लागू गर्ने, सबै माध्यमिक विद्यालयमा सेनेटरी प्याड भेन्टिङ मेसिन र डिस्ट्रोय मेसिन सञ्चालनमा ल्याउने, एक शिक्षक एक ल्यापटप, एक कक्षाकोठा एक प्रोजेक्टर व्यवस्थापन गर्ने नीति गाउँपालिकाले अघि सारेको छ ।
उपाध्यक्षको इच्छा छोरी बुहारीलाई उच्च शिक्षा नारालाई सार्थक बनाउन उच्च शिक्षा अध्ययनमा उत्कृष्ट नतिजा हासिल गर्ने गुराँसका छोरी बुहारीलाई प्रोत्साहन गर्ने गाउँपालिकाको योजना छ ।






