‘पालिकाका नागरिकलाई विपद् बीमाको पहुँचमा ल्याएका छौं’

स्थानीय स्तरमा रहेर नागरिकले प्रत्यक्ष अनुभुत गर्नेगरी सुशासनसहितको सेवा प्रवाह गर्नु स्थानीय तहको मुख्य दायित्व हो । संविधानले स्थानीय तहलाई विशेष अधिकार दिएको छ । सोही अधिकार भित्र रहेर पालिकालाई आवश्यक पर्ने कानून निर्माण, आन्तरिक स्रोतको परिचालनसमेत स्थानीय तहले गर्न पाउँछन् ।

संघीयताको दोस्रो कार्यकालमा आइपुग्दा स्थानीय तहले संविधानमा तोकिएका अधिकारको प्रयोग गर्नुभन्दा पनि संघीयताको मर्मअनुसार काम गर्न नसकेको गुनासोहरु नागरिकस्तरबाट उठ्न थालेका छन् । जनप्रतिनिधिले मनलाग्दी सेवा सुविधा लिने र खर्च गर्ने परिपाटीले व्ययभार बढेको छ । महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले

स्थानीय तहमा भ्रष्टाचार र अनियमितता व्यापक मौलाएको देखिन्छ । आन्तरिक आम्दानी न्यून भएका पालिकाले संघ तथा प्रदेशबाट प्राप्त अनुदानको चरम दुरुपयोग गरी आर्थिक मितव्ययिता कायम गर्न नसकेको महालेखाको प्रतिवेदनबाट प्रष्ट हुन्छ । यसो हुँदा एकातिर राज्यलाई थप व्यभार बढेको छ भने अर्कोतर्फ विकास निर्माण प्रभावित बनेका छन् । बेरुजु बढ्दो ग्राफमा छ । नागरिकले सुशासनको प्रत्याभुति गर्न पाएका छैनन् ।

अतः स्थानीय तहका जनप्रतिनिधिले आफ्ना पालिकामा विद्यमान नीतिगत व्यवस्थामा सुधार ल्याई नागरिकलाई सुशासनसहितको सेवा प्रवाहमा कसरी काम गरिरहेका छन् ? वित्तीय अनुशासन कामयमा कसरी काम गरेका छन् ? जनतामाझ गरेका प्रतिवद्धताहरु पुरा गर्न के गर्दैछन् ?, लगायतका विषयमा रहेर कालिकोटको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीसँग युगआह्वानकर्मी ओम शाहीले गरेको कुराकानीको सम्पादित अंशः

नीतिगत सुधार र सुशासनसहितको सेवा प्रवाहको अवस्था कस्तो छ ?

स्थानीय सरकार भनेको सबैभन्दा सानो सरकार हो । जनतासँग नजिकको सरकार भएको भएपनि हामी कहाँ बजेट तथा स्रोत साधनको अभावले त्यस्ता ठुला खालका आयोजनाहरु अगाडि बढाउन सकिने अवस्था छैन । हाम्रो काम भनेको जनताका प्रत्येक्ष सरकोकारलाई सम्बोधन गर्नु हो । त्यसैले जनताको सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने हो । त्यसो हुँदा हामीले स–सानो काम गरेर जनतालाई सुशासनसहितको भ्रष्टाचारमुक्त र पारदर्शी सेवा कसरी दिने भन्नेमा हामीले ध्यान दिदै आएका छौं ।

सोही अनुसार हामीले मुस्कान सहितको सेवा दिने, नगर प्रमुख देखि लिएर उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतसँग भेटघाट गर्नका लागि सहायता कक्षको निर्माण, ट्रोल फ्रि नम्बर, सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेका छौँ । विद्युत् वितरण केन्द्र रास्कोटमा बनाएका छौँ ।

वृद्ध, अपाङ्ग नागरिकहरूले चर्को गर्मीमा लट्ठी टेकेर उभिनु पर्ने बाध्यतालाई हटाएर गाउँघरमै बृद्ध् भत्ता भन्ने पहिलो कार्यक्रम ल्याएका छौँ । एमबीबीएस डाक्टरको टोली लिएर गाउँघरमा शिविर मार्फत उपचार सेवा प्रवाह गरिरहेका छौ । त्यस्तै, खाद्यान्न सामग्री नुन तेल पनि किन्न टाढा जान नपर्ने व्यवस्था गरेका छौँ । हरेक वडालाई पहिलो बनाउनुपर्छ भनेर एक वडा एक प्राविधिक बनाएका छौँ ।

सिंह दरबारको अधिकार गाउँघरमा भनेर नारा दिने तर पनि अधिकार नगरपालिकाको वरिपरि घुमाउने होइन । त्यो अधिकार प्रत्येक्ष जनता माझ पुग्नु भन्ने हो । सोही अनुरुप अधिकारहरू वडा तहसम्म पु¥याउने प्रयास भइरहेको छ ।
रास्कोटका सबै घरका नागरिकलाई विपद् बीमा कार्यक्रममा जोडेका छौँ । झन्डै तीन हजार घरधुरी बीमाको पहुँचमा आएका छन् । यस्तै नगरवासीसँग भएको लालपुर्जा र नागरिकताले बीमा क्लेम गर्न सक्ने वातावरण बनाएका छौँ ।
साथै, स्थानीय पाठ्यक्रम निर्माण कार्य तीव्र रूपमा अगाडि बढाएको छौँ भने नयाँ शैक्षिक सत्रमा जेठ भित्र प्रत्येक विद्यालयमा पाठ्यक्रम दिने तयारीमा छौँ ।

इन्टरनेटको पहुँच पनि घरघरमा पु¥याउनको लागि जडान सेवाको अन्तिम चरणमा छौँ । नगरपालिकाका वडामा, सरकारी कार्यालय, विद्यालय र सार्वजनिक सबै ठाउँमा सञ्चालनमा गर्ने छौँ । नगर प्रहरी स्थापना गरेका छौँ ।
यस्तै, एक घर, एक धारा नारामा मात्रै सीमित नभएर घर घरमा खानेपानी पु¥याउनका लागि हामीले बृहत खानेपानी योजना निर्माण गरेका छौँ ।

चुनावका बेला जनतामाझ गरेका प्रतिवद्धता अनुसार एक वर्षमा के–के काम गर्नुभयो ?

चुनावमा हामीले जनता सामु त्यस्ता ठुला सपना बाडेका थिएनौं । नागरिकका तत्कालका समस्याहरू कसरी समाधान गर्न सक्छौँ भन्नेमा जोड दिएका थियौँ । नगरमा बस सेवा दिन्छौँ भनेका थियौँ आगामी वर्षसम्ममा सञ्चालनमा ल्याउने तयारी छ । पानी र विद्युतमा छुट दिने प्रतिबद्धता गरेका थियौँ । पुराना घर र अव्यवस्थित बजार भएको हुँदा स्मार्ट सिटी बनाउनका लागि मिनी मार्केटको कन्सेप्टमा नयाँ बजारमा लागेका छौँ ।

पाँच वर्षको अवधिमा विकासका पुर्वाधार निर्माण हाम्रो पहिलो प्राथमिकता हो । जसमा शिक्षा, स्वास्थ्य, खानेपानी र सिंचाइ लगायतका विकासमा जोड दिएका छौँ । त्यस्तै, अंग्रेजी माध्यमबाट समेत विद्यालयमा पठन पाठन सुरु गरिसकेका छौँ । उच्च निम्न वर्गका सबै व्यक्तिहरूलाई मध्यनजर गर्दै उनीहरूको गुणस्तरीय शिक्षाका लागि रास्कोटका विद्यालयहरूमा पनि अंग्रेजी माध्यमबाट पढाइ हुने व्यवस्था गरेका छौँ । वाणिज्य बैङ्कको सेवाका लागि सहकार्य गरेका छौँ ।

महालेखाको प्रतिवेदनले स्थानीय तहमा अनियमितता र फजुल खर्च हुने गरेको देखाएको छ । बेरुजु पनि उत्तिकै बढी रहेको अवस्थामा यसलाई रोक्न र वित्तीय अनुशासन कायम गर्न के गरिरहनु भएको छ ?

हामी यसमा उत्कृष्ट त हुन् सकेका छैनाै। तर, वित्तीय सुशासनमा तेस्रो पालिकाको रूपमा स्थापित हुन सफल भएका छौँ । हामीले गतवर्ष केही नियमहरू पालना गर्दागर्दै पनि केही पुगेनन् । आगामी दिनमा उत्कृष्ट पालिका हुनेमा प्रयत्न गर्नेछौँ ।
यस्ता नियमहरू पालना गर्नका लागि हामी अग्रसर भएका छौँ । यसमा लुकिछिपी बेइमानी गर्नुपर्ने केही छैन । हामी कहाँ सैद्धान्तिक र संस्थागत बेरुजु बढी छ । यसलाई रोक्ने तर्फ विशेष ध्यान पु¥याएका छौं । कर्मचारी तथा पदाधिकारीको फजुल खर्च घटाउन लागि परेका छौं । आन्तरिक आम्दानी पनि हामी कहाँ न्यून छ ।

तपाईंको कार्यकालपछि रास्कोटले के पाउँछ ?

स्मार्ट सिटीको परिकल्पना सहित मिनी मार्केटको तयारी भइरहेको छ । कर्णाली करिडोरदेखि रास्कोट नगरपालिकाको मुख्यालयसम्म कालोपत्रेको तयारी गर्दै छौँ । मेरो कार्यकालमा यो सडक पूर्णरुपमा कालोपत्रे हुनेछ । शिक्षा क्षेत्रमा कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट पढाइ हुनेछ । खानेपानी, विद्युत्, सिंचाई र स्वास्थ्यमा पनि सुधार हुनेछ । शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई र नगरपालिकाका नागरिकलाई आम्दानीमा कसरी जोड दिन सकिन्छ यसतर्फ हाम्रो विशेष ध्यान रहने छ । पालिकामा सुशासन, पारदर्शीताको नियमितता दिनुछ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

विकास निर्माण भनेका क्रमश् हुने कुराहरु हुन् । हामीप्रति पालिकावासीका अपेक्षाहरु बढी नै छन् । समृद्ध रास्कोट बनाउनका लागि हामी लागि परेका छौं । हामी सबै कुरामा पोख्त पनि छैनौं । पालिकाको समृद्धीका लागि हामीले गर्न खोजेका हरेक कामहरुमा नगरवासीको सहयोगको अपेक्षा सदैव राखेका छौं । समृद्ध रास्कोट निर्माणका लागि पालिकावासीको रचनात्मक सुझाव र आलोचनाको सदैव अपेक्षा गरेका छौं ।

‘पालिकाका नागरिकलाई विपद् बीमाको पहुँचमा ल्याएका छौं’

कर्णालीमा बढ्न थाल्यो रैथाने उत्पादन

‘पालिकाका नागरिकलाई विपद् बीमाको पहुँचमा ल्याएका छौं’

भेरीगंगामा निःशुल्क योग शिविर

Leave a comment

Your email address will not be published. Required fields are marked *