इन्धनको मूल्य घट्यो, यातायातको भाडा उस्तै

सुर्खेत । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँ र पेट्रोलमा तीन रुपैयाँका दरले मूल्य घटाइ सकेको छ । ०७९ चैत्र २० गतेदेखि पेट्रोलियम पदार्थको मूल्यमा समायोजन भएपनि सार्वजनिक यातायातको भाडा भने हालसम्म पनि घट्न सकेको छैन ।

निगमले तोकेको नयाँ मूल्य अनुसार हाल डिजेलको मूल्य एक सय ७५ बाट घटेर एक सय ६५ प्रति लिटरमा झरेको छ । यस्तै पेट्रोलको मूल्य एक सय ७८ बाट एक सय ७५ र मट्टीतेल एक सय ७५ बाट एक सय ६५ मा झरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा सार्वजनिक यातायातको भाडा बढाउन अग्रसर हुने यातायात व्यवसायीहरु मूल्य घट्दा भने बेखवर झै बनेका छन् । यातायात व्यवस्था विभाग भने अन्देखा झैं भएर बस्दा नागरिकलाई अचाक्ली भाडा तिर्न बाध्य हुनुपरेको छ ।

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडादर समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य पाँच प्रतिशत भन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडादर समायोजन प्रणाली अनुसार स्वचालित भाडादर कायम हुने उल्लेख गरेको छ । अन्तरप्रदेश सार्वजनिक यातायातको भाडादर बढ्ने वा घट्ने भन्ने विषयमा व्यवस्था विभागको २०७८ चैत १७ गतेको निणर्यानुसार २०७९ असार २७ गतेदेखि लागु हुने गरी नयाँ भाडादर कायम गरेको थियो ।

विभागले भाडा समायोजन ताका यस अघि डिजेलको मूल्यमा नौं रुपैयाँ बृद्धि भई समायोजनको आधार पाँच दशमलव ५२ प्रतिशत पुगेको भन्दै भाडा समायोजन गरिएको जनाएको थियो । जसबाट यात्रुवाहक सवारी साधनको भाडा एक दशमलव ७९ प्रतिशतले बढेको थियो । २५ किलोमिटरदेखि दुई सय ५० किलोमिटरसम्मका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसहरुले प्रतिव्यक्ति प्रति किलोमिटर दुई रुपैयाँ ९३ पैसा भाडा बढाएका थिए ।

विभागले तोकेको भाडा समायोजनको आधार हेर्नेहो भने ०७९ असार १२ मा एक सय ६३ कायम रहेको डिजेलको मूल्य असार २० गते नौ रुपैयाँ बढेर एक सय ७२ पुगेको थियो । समायोजनको आधार पाँच दशमलव ५२ प्रतिशत पुग्दा सोही मूल्यबाट १० रुपैयाँ घटेर डिजेलको मूल्य एक सय ६५ मा झर्दा भने आधार मूल्य बढि हुन जान्छ । यस अवस्थाले पनि सार्वजनिक यातायातमा भाडादर घट्नु पर्ने हो । तर, यायायात व्यवसायीले गाडीका अन्य पार्टपूर्जामा महंगी बढेकाले स्वचालित मूल्य प्रणालीअनुसार डिजेलमा घटेको मूल्य समायोजनको आधारभन्दा कम रहेको दावी गर्दै आएका छन् ।

‘विभागले नघटाए, हामीले कसरी घटाउने ?’

सार्वजनिक सवारी साधनको भाडा घटाउने विषयमा यातायात व्यवस्था विभागबाट हालसम्म कुनै जानकारी नआएको काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटा बताउछन् । ‘पहिले पनि पटक-पटक डिजेलको भाडा बढ्दा विभागले स्वचालित भाडा बढाएर पठाएको अवस्था थिएन’, अध्यक्ष सापकोटाले भने, ‘भाडा हामीले घटाउने होइन विभागले स्वचालित भाडादर घटाएर पठाएपछि हामी कहाँ घटिनै हाल्छ । विभागले नघटाएको खण्डमा यहाँ पनि नघट्नु स्वाभिक नै हो ।’

भाडादर तोक्ने विषय नितान्त यातायात व्यवस्था विभागको रहेको र आफूहरुलाई मनोमानी भाडा घटाउने वा बढाउने अधिकार नरहेको उल्लेख गर्दै अध्यक्ष सापकोटा भने, ‘सरकारले जति प्रतिशत भाडा बढाउछ त्यति नै भाडा बढ्ने हो । यो भन्दा अगाडि डिजेलको मूल्यमा धेरै पटक तलमाथी भएका कारणले पनि सरकारले यस पटक नबढाएको हुन सक्छ । यो हाम्रो आन्तरिक कुराभन्दा पनि नेपाल सरकारको विषय हो ।’

‘वैज्ञानिक मूल्यसूची अपनाउनुपर्छ’

बजारमा हुने विभिन्नखाले मूल्यवृद्धिको प्रत्यक्ष मारमा उपभोत्ता परेको र राज्यले यसलाई नियमन गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्च, कर्णालीका अध्यक्ष विन्दुलाल रेग्मी बताउछन् । ‘अहिले विभिन्न वहानामा बजारमा जे खालको अनियमिता बेतिथिहरु आइरहेका छन् त्यसको प्रत्यक्ष मार हामीले भोग्दै आएको अवस्था छ । खासगरी पेट्रलियम पदार्थको मूल्यवृद्धि हुने र घट्ने क्रम निरन्तरता जस्तै छ ।’ अध्यक्ष रेग्मी भन्छन्, ‘मूल्यवृद्धिको बाहानामा यातायात व्यवसायीहरुले उपभोक्तालाई जानकारी नै नदिइ फाइदा लिइरहेको देखिन्छ, यसप्रति राज्य जिम्मेवार हुनुपर्छ ।’

प्रशासन र सम्वन्धित पालिकाहरुलाई नियमन र व्यवस्थापन गर्ने अधिकार दिएको भएपनि नियमन गर्न नसकेको भन्दै सरकारले पनि मूल्यवृद्धि के आधारमा घटाउने वा बढाउने भन्ने विषयमा स्पष्ट मापदण्डका साथ जानुपर्ने रेग्मीको भनाई छ । यस विषयमा नेपाल आयल निगमको केन्द्रिय कार्यालयलाई वैज्ञानिक मूल्यसूचि अपनाउन बारम्बार अनुरोध गरिरहेको उनको भनाई छ ।

कति छ भाडा ?

यातायात व्यवस्था विभागले तोकेको नयाँ भाडादर अन्तर्गत सुर्खेत जनकपुर ६ सय ५७ किलोमिटर दुरीको भाडादर एक हजार आठ सय ७१ बाट बढाएर एक हजार नौ सय पाँच पुगेको छ । सुर्खेत-धनगढी दुई सय ५६ किलोमिटरको भाडा सात सय पाँच बाट सात सय ९९ रुपैयाँ, सुर्खेत-नेपालगन्ज-गुलेरिया एक सय चार किलोमिटरको चार सय ९९ बाट पाँच सय आठ रुपैया भाडा समायोजन भएको छ ।

यस्तै चार सय ६ किलोमिटर रहेको सुर्खेत-पाल्पा-पोखरा रुटमा एक हजार पाँच सय ७० भाडा दर रहेकोमा उक्त भाडा समायोजन भएर एक हजार पाँच सय नौं पुगेको छ । एक सय ५६ किलोमिटर रहेको सुर्खेत-भुरिगाउँ-कोठियाघाटसम्मको भाडा पाँच सय २९ तोकिएको छ । यस खण्डमा पुरानो भाडा दर पाँच सय २० रहेको थियो । यस्तै सुर्खेत-भैरहवा तीन सय ४५ किलोमिटरको भाडा यसअघि एक हजार २६ रहेकोमा अहिले एक हजार ४४ पुगेको छ ।

दुई सय ९० किलोमिटर सुर्खेत-मेहन्द्रनगरका लागि पुरानो भाडा दर आठ सय ८३ रहेकोमा नयाँ भाडा दर आठ सय ८९ रुपैयाँ छ । सुर्खेत-लमही-तुल्सीपुर दुई सय ४६ किलोमिटर सडकको भाडा सात सय ७७ रुपैयाँ कायम रहेकोमा नयाँ भाडा दर सात सय ९१ रुपैयाँ पुगेको छ ।

इन्धनको मूल्य घट्यो, यातायातको भाडा उस्तै

बेलिब्रिज पुल अपडेट : दुई जनकाे मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *