३५ जनाले ज्यान गुमाएकाे ३७ वर्षपछि सुनथराली विमानस्थल तयार

सुर्खेत । कालिकोटको सुनथराली विमानस्थलमा यसअघि २०७३ साल माघ २९ गते परीक्षण उडान गरिएको थियो । विमानस्थलको कच्ची धावनमार्गमा सो समय भएको परीक्षण उडानको ६ वर्षपछि आगामी नयाँ वर्षमा विमानस्थलमा अन्तिम परीक्षण उडानको तयारी छ ।
आगामी वर्ष २०८० सालको वैशाख महिनामै विमानस्थलमा परीक्षण नको तयारी थालिएको हो । वैशाखको पहिलो हप्तामा विमानस्थलमा परीक्षण उडानको तयारी छ, सुनथराली विमानस्थल आयोजनाका सुपरभाईजर गणेशबहादुर विष्टका अनुसार विमानस्थलमा पक्की धावनमार्ग, टावरलगायतका पूर्वाधार निर्माण सम्पन्न भएसँगै परिक्षण उडानको तयारी गरिएको हो ।
विमानस्थल निर्माणको सुरुवात भने वि.सं. २०४२ साल देखि भएको हो । तत्कालिन जिल्ला विकास समितिले विमानस्थल निर्माणका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो बजेटमा तीन वटा उपभोक्ता समितिमार्फत विमानस्थलका लागि भीर हटाउने काम सुरु गरिएको थियो । तर देशको तत्कालिन राजनैतिक समयले विमानस्थललाई अघि बढ्न भने दिएन । द्वन्द्वको चपेटामा विमानस्थल कार्यमा निकै सुस्तता आयो । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१, कोटबाडामा रहेको यो विमानस्थल निर्माण क्रममा ३५ जनाले ज्यान समेत गुमाएका थिए ।
गत वर्ष मात्रै विमानस्थलको धावनमार्ग कालेपत्रे गर्ने काम भएको हो । २०७३ सालमा यस विमानस्थलको कच्ची धावनमार्गमा भएको उडान परीक्षणताका तत्कालीन पर्यटनमन्त्रीमा जीवनबहादुर शाही थिए । उनि अहिले कर्णालीका मुख्यमन्त्री समेत भईसकेका छन् । विमानस्थल निर्माणकार्य चाँडो अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले ठेकेदार कम्पनीलाई समयसीमा समेत दिएको थियो । विमानस्थल निर्माणका लागि हालसम्म पटक–पटक गरी करिव आधा अर्व रुपैयाँ बजेट विनियोजन भईसकेको थियो ।

वि.सं. २०७३ सालमा सुनथराली विमानस्थलमा जहाज पुगेपछि जहाज हेर्न आएका स्थानीयहरु । (फाइल तस्विर)
पछिल्लो समय गौरी पार्वती श्याम एण्ड शंकर जेभीले पक्की धावनमार्ग, नाला, माटो काट्ने गरी १३ करोड ८१ लाख रुपैयाँमा र पिआर ईन्फ्रास्टक्चरले भवन र टावर निर्माण तर्फ तीन करोड ४७ लाख ७४ रुपैयाँमा विमानस्थल पूर्वाधार निर्माणको ठेक्का पाएका थिए । विमानस्थल सञ्चालनमा आएमा त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने विश्वास स्थानीयहरु बताउछन् । यसैगरी विमानस्थलले अछाम, बाजुरालगायतका क्षेत्रलाई कालिकोटसँग जोड्न समते मदत गर्नेछ । योगी नरहरीनाथको जन्मस्थल नरहरीनाथमा रहेका दर्जनौं पर्यटकीय क्षेत्रमा पर्यटकीय गतिविधि बढ्ने स्थानीयहरु बताउछन् । विमानस्थलमा ६ सय ४० मिटरको धावनमार्ग निर्माण भएको छ ।
विमानले विर्साउला द्वन्द्वको घाउ ?
विमानस्थलको निर्माण कार्यमा सुस्तता मात्रै होइन, यहाँ मजदुरले समेत ज्यान गुमाएको घटना छ । २०५८ सालमा यहाँ काम गरिरहेका मजदुरहरुलाई तत्कालिन राज्य पक्षले गोली हानी हत्या गरेको थियो । हत्या भएका मजदुरहरुमा धादिङका १७ सहित ३५ जना मजदुर थिए । हत्या भएका मजदुरहरुको शव तत्कालिन शाही नेपाली सेनाले हालको विमानस्थल परिसरमै जमिनमा गाढेको थियो ।
२०६३ पछि माओवादी र राज्य पक्षबीच शान्ति सम्झौता भएपछि मात्र विमानस्थल निर्माणले गति लिएको थियो । शान्तिसम्झौतापछि मृतक मजदुरका परिवारलाई राज्यले जनही १० लाख रुपैयाँ राहत उपलब्ध समेत गराएको भने थियो । विमानस्थलमा गाडीका मजदुरको आत्मा शान्तिका लागि समेत विमानस्थल चाडो सञ्चालनमा ल्याइनुपर्ने सुनथराली विमानस्थल सरोकार समाजका संयोजक धनराज वास्तविक बताउछन् । उनले भने, ‘विमानस्थल सञ्चालनका लागि धेरै लामो समय लागेको छ । अब भने सञ्चालन हुन्छ कि भन्ने अन्तिम विश्वास मानेका छौँ ।’





