कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने एमाले संसदीय दलकाे निर्णय

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ । आइतबार एमालेबाट सरकारमा सहभागी तीन मन्त्रीहरुले राजीनामा दिएसँगै आज बसेको प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा सचिवालयलाइ समर्थन फिर्ता लिएकाे जानकारी गराउने निणर्य गरेको हो ।

१० पुसमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायत दलहरु बिच केन्द्रमा बनेको सत्ता समिकरण अनुसार २७ पुसमा कर्णालीको मुख्यमन्त्री बनेका नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई एमालेले ६ माघमा पहिलो पटक र १७ फागुनमा दोस्रो पटक विश्वासको मत दिएको थियो । सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि दोस्रो पटक समर्थन दिएको दुर्ई साता नपुग्दै एमाले सरकारबाट बाहिरिएको हो । बदलिदो राजनीतिक परिवेशका कारण मुख्यमन्त्रीलाई सहज बनाउन मार्ग प्रसस्त गरेको एमालेको प्रतिक्रिया छ ।
एमालेका सभामुखसहित १० सांसद छन् ।
यो सँगै मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ । एमालेले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री शर्मा सुरक्षित छन् । अब उनलाई सघाउन नेपाली कांग्रेस सरकारमा सहभागी हुनेछ । कांग्रेससँग १४ सांसद छन् । ४० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २१ सांसद आवश्यक पर्दछन् । जस अनुसार माओवादी र कांग्रेसका गरी कुल सांसद संख्या २७ पुग्छ ।




