वर्तमान राजनीतिक अस्थिरताले भुराजनीतिक संकट बढ्यो : एमाले उपमहासचिव गुरुङ

सुर्खेत । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले वर्तमान राजनीतिक परिदृश्यले देशको भुराजीतिक अवस्था संकटमा पर्दै गएको बताएका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीले जुम्लामा आयोजना गरेको साधारणसभालाई सम्वोधन गर्न जानेक्रममा सुर्खेत पुगेका उपमहासचिव गुरुङले पत्रकारहरुसँग कुरा गर्दै वर्तमान राजनीतिक अस्थिरताले भुराजनीतिक संकट निम्ताएको बताएका हुन् ।

‘दक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना छैन र वर्तमान राजनीतिले नेपालको भूराजनीतिक सम्बन्धको अवस्था अझै जटिल बन्दै गइरहेको छ । सरकारले आर्थिक, सामाजिक, कुटनैतिक क्षेत्रमा सुधार ल्याएर मुलुकलाई सही दिशातर्फ लानुपर्ने आजको आवश्यकता हो, तर यसो हुन सकिरहेको छैन ।’ उपमहासचिव गुरुङले भने ।

देशको आर्थिक, सामाजिक क्षेत्र निकै कमजोर बन्दै गएको अवस्थामा सरकाले यसतर्फ ध्यान नदिएको उल्लेख गर्दै एमालेसामु यस्ता खालका विषयमा रचनात्मक कामहरू गर्ने जिम्मेवारी रहेको दावी गर्दै आफूहरु सरकार बनाउने र ढाल्ने पक्षमा नरहेको उनको भनाई थियो । विशेष परिस्थितबस कर्णाली प्रदेश सरकारलाई विश्वासको मत दिएको बताउदै राजनीतिमा वस्तुगत परिस्थिति र सन्तुलनमा आधारित हुने भएकाले प्रदेश संसदीय दल र प्रदेश कमिटीले विशेष निणर्य लिएको गुरुङको भनाई थियो ।

तपाईको प्रतिक्रिया