सुर्खेत । वीरेन्द्रनगर नगरपालिका क्षेत्र अन्र्तगत तीन स्थानमा चौबीसैं घण्टा ‘एटीएम सेवा’ सञ्चालनमा आएका छन् । नगरको बजार क्षेत्र लक्षित गरी वीरेन्द्रचोक र यरीचोकमा एटीएमहरु समय खुल्ला हुन्छन् । यसैगरी प्रदेश अस्पताल क्षेत्रलाई लक्षित गरी अस्पताल परिसर नजिकै समेत एटीएम सेवा सञ्चालनमा रहेको छ ।
वीरेन्द्रनगर क्षेत्रभित्र हालको समया करिव ५०-५५ वटाको संख्यामा एटीएम खुलेका छन् । यहाँ वित्तइी सेवा प्रदान गरिरहेका सबै बैंकहरुका शाखा तथा शाखा मातहतका अन्य स्थानमा समेत एटीएम स्थापना भएका छन् । तर यीमध्ये रात्रीकालिन समयका लागि वीरेन्द्रनगरका तीन स्थानमा मात्र एटीएम सञ्चालनमा रहेको बैंकर्स एशोसिएसन कणर्ालीका अध्यक्ष राजनप्रसाद पोखरेल बताउँछन् ।
उनले भने, ‘सामान्य रुपमा बैंकहरुले १०-११ बजेसम्म एटीएम सेवा सञ्चालन गरेका छन् । त्यसपछि भने तीन स्थानमा चौबीसै घण्टा सेवा प्रवाह हुन्छ ।’
यसअघि चैत्र १४ गते युगआह्वान दैनिकले वीरेन्द्रनगरमा अत्यावश्यक सेवाका विषयमा ‘सूर्यास्तपछि सेवाविहिन’ शीर्षकमा समाचार समेत प्रकाशित गरेको थियो । गृह मन्त्रालयले अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल राजपत्रमा प्रकाशित गरी १७ वटा अत्यावश्यक सेवाको व्यवस्था गरेको छ । तर वीरेन्द्रनगरमा भने ती १७ वटा सेवाहरुमध्ये मुश्किलै केहि सेवा मात्र नागरिकले प्राप्त गरेका छन् । राजपत्रमा प्रकाशित अत्यावश्यक सेवाहरुमध्ये यात्री वा मालसामान ओसारपसार गर्न यातायात सेवा, पर्यटन आवास, मोटल, होटल, रेष्टुराँ र रिसोर्टसम्बन्धी सेवा, पेट्रोलिम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा तथा बैंकिङ सेवा अत्यावश्यक मुख्य सेवाभित्र पर्छन् ।
तर नगरमा सन्ध्याकालिन समयपछि नागरिकले अत्यावश्यक सेवाहरु प्राप्त गर्न भने मुश्किलनै पर्छ । वीरेन्द्रनगरमा अत्यावश्यक सेवा प्रवाह अवस्था सम्वन्धमा रात्रिकालिन समयमा समेत वित्तइी सेवा पुर्याउने विषयमा भने एटीएम सेवा मात्र नभई अन्य सुविधा समेत उपलब्ध रहेको पोखरेल बताउँछन् । हालको समयमा खाताको चेक लिएर बैंकमा नै लाईन लाग्नेहरुको संख्या घटेको छ । उनले भने, ‘अहिले बैंकमा नै पुगेर चेक साट्नेहरुको संख्या घटेको छ । यसको मुख्य कारण भनेकै अनलाइनमा सेवा लिनहरुको संख्या बढ्नु हो ।’
पोखरेलका अनुसार वीरेन्द्रनगरमा सञ्चालनमा रहेका बैंकहरुमा चेक साट्न जानेहरुको संख्या करिव ५० प्रतिशतले घटेको छ । यो प्रारम्भिक तथ्यांक मात्र हो । बैंकले प्रदान गरेका ‘मोवाइल एप्लिकेशन’ तथा अन्य ‘डिजिटल’ वित्तइी सेवाका कारण अत्यावश्यक सेवा खरिदका लागि नागरिकहरु खाताको चेक बोकेर बैंक दोडिरहनुपर्दैन । हालको समयमा डिजिटल भुक्तानी क्षेत्रमा नागरिकको आर्कषण समेत बढेको उनले बताए ।
एटीएम सेवाका सम्वन्धमा नगरभित्र तीन स्थानमा चौबीसै घण्टा सञ्चालनमा रहेका एटीएमहरु पर्याप्त भने होइनन् । भौगोलिक रुपमा हेर्दा सबै नागरिकको पहुँच यी स्थानमा भने हुँदैन । ‘बैंकर्स एसोशिएसन आफैमा नियामक निकाय हैन् तर बैंकका गतिविधिमा भने हामीले सहजीकरण र समन्वयकारी भूमिका निर्वाह गरेका छौं । पोखरेलले भने, ‘वीरेन्द्रनगरस्थित टेम्पो पार्क र धुलियाविट क्षेत्रमा समेत एटीएम सञ्चालन आवश्यक ठानेका छौँ । हाम्रो बैठकमा समेत यो विषयमा छलफल भएको छ ।’
अर्को विषय भने चौबीसै घण्टा एटीएम सेवा प्रवाह गर्न बैंकहरुलाई सुरक्षा चुनौती समेत बढ्छ । यसका लागि सुरक्षा निकायसँग समेत बैंकहरुले सहकार्य गर्ने गरेको उनले बताए । यसका साथै वीरेन्द्रनगरका अन्य पूर्वाधारले समेत सेवा विस्तारमा कठिनाई पुर्याउने गर्छन् ।
सञ्चालनमा रहेका एटीएमको समेत चौबीसै घण्टा सेवा सञ्चालन बनाईराख्नका लागि वीरेन्द्रनगरको विद्युत र इन्टरनेट क्षेत्रका पूर्वाधारले समेत कठिनाई ल्याउँछन् । ‘वीरेन्द्रनगरमा बत्तिसमेत गईराख्छ, ईन्टरनेटमा समेत समस्या आईरहन्छ ।
यसले पनि एटीएमलाई प्रभाव पार्ने हो’ उनले भने, ‘बैंकको आफ्नो सर्भरको विषयमा भने अहिले धेरै बैंकले आफ्नो मोबाइल एप तथा सफ्टवेयरहरु अपडेट भईरहेका हुन्छन् ।’ वीरेन्द्रनगरमा साँझपछि अत्यावश्यक सेवा प्रवाहको विषयमा सुर्खेत उद्योग वाणिज्य संघले समेत गत हप्ताको शुक्रबार सार्वजनिक अपिल जारी गरेको थियो । कर्णालीकाे राजधानी समेत रहेकाले वीरेन्द्रनगरमा रात्रिकालिन व्यवसायलाई समेत चलायमान राख्ने गरी मुख्य बजार क्षेत्रको व्यवसायिक गतिविधिलाई रात्रिकालिन समयमा थप समय निरन्तरता दिन संघले अपिल गरेको छ ।
युग संवाददाता । । २१ चैत्र २०७९, मंगलवार १२:०१