ढुवानी नहुँदा औषधि अभाव

सुर्खेत । ढुवानी समस्यका कारण हुम्ला जिल्ला अस्पतालमा औषधिको अभाव भएको छ । चालु आर्थिक वर्षमा खरिद गरेको औषधि ढुवानी नहुँदा र प्रदेशबाट प्राप्त हुने औषधि समयमा आपूर्ति नहुँदा औषधि अभाव भएको हो ।

एक साताभित्र औषधि नआए बिरामीको उपचारमा समस्या हुने जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए । उनका अनुसार अस्पताल आएका बिरामीको स्वास्थ्य परीक्षण गरेर फिर्ता पठाउनु पर्ने अवस्था आएको छ । अस्पतालमा १ महिनादेखि अधिकांश औषधिको अभाव भएको उनको भनाइ छ । अस्पतालमा दैनिक ८० देखि ९० बिरामी जान्छन् । अस्पतालमा भने सिटामोल, खोकीको सामान्य औषधिबाहेक अन्य औषधि नभएको उनको भनाइ छ । ‘इमर्जेन्सीमा चाहिने औषधि नहुँदा बिरामीको उपचारमै समस्या भयो,’ उनले भने, ‘हामीसँग ८०र९० प्रकारका औषधि हुनुपर्ने हो तर अहिले २०र२५ प्रकारका औषधि मात्र छन् ।’
अत्यावश्यकदेखि सबै प्रकार औषधि खरिद गरेर नेपालगन्ज विमानस्थलमा राखिएको भए पनि समयमा ढुवानी हुन नसकेको उनको भनाइ छ । उनका अनुसार प्रदेश आपूर्ति केन्द्र सुर्खेतसँग २ महिनाअघि ७५ प्रकारका औषधि माग गरे पनि अहिलेसम्म पठाएको छैन । ढुवानीका लागि सबै एयरलाइन्ससँग हारगुहार गर्दा पनि औषधिजस्तो संवेदनशील वस्तुसमेत ढुवानी गर्न नमानेको उनले गुनासो गरे ।
विशेषगरी शल्यक्रियाका आवश्यक पर्ने औषधि, सुत्केरी गराउँदा चाहिने औषधि, दम, निमोनिया, दीर्घरोगीले खाने औषधि अभाव भएको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालमा औषधि नभएपछि उपचारका लागि आएका बिरामीले निजी मेडिकलमा औषधि किन्नुपर्ने बाध्यता छ । १५ दिनदेखि अस्पतालमा भर्ना भएका खार्पुनाथ–५ का देवबहादुर शाहीले औषधि निजी फार्मेसीबाट ल्याउनुपरेको बताए ।






