सुर्खेत,१९ माघ ।
२०२२ सालअघि सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा थारू समुदायमात्रै बस्थे । औल लाग्ने डरले अरू जातिका मानिस दिनभरि काम गरेर राति गोठीकाँडा फर्किन्थे भने थारूहरूले मात्रै उपत्यका कुर्थे । अहिले पनि नगरपालिकाभित्र झन्डै ३५ गाउँमा थारूहरूको बस्ती छ ।
कर्णालीमा थारू समुदायको बसोबास रहेको एक्लो जिल्ला सुर्खेत हो । विसं. १९७५ मा दासप्रथा सहन नसकेर पश्चिम दाङबाट सुर्खेत सरेको थारू अगुवा लीलाधर थारूले बताए । उनका अनुसार पहाडका थारूहरूमा पछिल्लो समय धेरै परिवर्तन भएको छ ।
खरले छाएका माटाका घर हुने उनीहरू पछिल्लो समय पक्की घरमा आकर्षित भएका छन् । ‘अहिले थारू बस्तीमा परम्परागत घर देख्नै मुस्किल छ,’ लाटीकोइलीका नवीन महतराले भने, ‘अहिले थारू समुदायका धेरै युवाहरू विदेश गएका छन्, उनीहरूले कमाएको पैसाले पक्की घर बनाउने चलन बढ्यो ।’
उनका अनुसार अधिकांशले सुंगुर–बंगुर पाल्न छोडेका छन् । लगाउने रहनसहन पनि परिवर्तन हुँदै गएको उनले बताए । लगौटी र फरियामा देखिने थारूहरूले आधुनिक पहिरन लगाउँदा उनीहरूलाई छुट्याउनै मुस्किल भइसक्यो ।
युवापुस्ता आधुनिकतातिर लागेको वीरेन्द्रनगर–३ की रेक्कुमाया चौधरीले बताइन् । ‘नयाँ पुस्ताले गर्दा मौलिकता हराउँदै जाने हो कि भन्ने चिन्ता लाग्छ । तर पहिलाको दासत्व सम्झँदा त यो ठिकै पनि लाग्छ,’ उनले भनिन्, ‘सबै नेपाली भाषा मात्र बोल्न थाले, थारूका गीत चाडवाडमा मात्र सुनिन्छन् ।’ गैरसमुदायसँगको हेलमेलले युवापुस्ताले आफ्ना भाषा बिर्सिंदै गएको र रुचि नदेखाएको उनको भनाइ छ ।
तर पहिलेभन्दा अहिलेका थारूहरू आत्मनिर्भर बन्दै गएकाले उनी खुसी छिन् । उनका अनुसार थारूहरूमा चेतना बढ्दै गएपछि व्यवसाय, कृषि, शिक्षा र वैदेशिक रोजगारलगायतमा सकारात्मक परिवर्तन आएको छ । ७७ वर्षीया कुकुराम थारूले बाल्यकाल र अहिलेको अवस्था देख्दा आफैं चकित भएको बताए ।
‘हाम्रा पालामा काम गरेर पेटभरि खान पाउने अवस्था थिएन, अहिलेका हाम्रा केटाकेटी एक दिनमा काम गरेर हप्तादिन पुग्ने खर्च जुटाउन सक्ने भएका छन्,’ उनले भने, ‘मन लागेको खाएका छन्, मन लागेको गरेका छन् ।’ उनले झन्डै ४० वर्ष सुर्खेतकै जमिन्दारको जग्गामा खेती गरे । तर अहिलेसम्म आफ्नो नाममा एक टुक्रा जमिन पनि नभएकोमा उनी गुनासो गर्छन् ।
‘हाम्रा बुबा र आजाहरू (जिजुबाजे) ले दाङबाट हलिया प्रथा सहन नसकेनन् र हामी सुर्खेत आयौं, तर सुर्खेतमा पनि सोही प्रथाले छोडेन,’ उनले भने, ‘जति दुःख पायौं, हामीले जात र प्रथाकै आधारमा पायौं ।’ तर उनले आफ्नो नाममा नभए पनि चार वटै छोराको नाममा जग्गाजमिन भएकाले त्यसैबाट सन्तुष्टि मिलेको बताए ।
उनका दुई छोरा वैदेशिक रोजगारीमा छन् भने दुई छोराले वीरेन्द्रनगर बजारमा मजदुरी गर्छन् । सुर्खेतको २ नम्बर वडादेखि १२ नम्बर वडासम्म थारू समुदायको बसोबास छ ।
सुर्खेतको चारकुने, सुब्बाकुना, बिउराघारी, कोलडाँडा, नयाँबस्ती, फलाटे, जयपुर जोगीगाउँ, खोलीगाउँ, मसुरीखेत, तिलपुर पर्सेनी, कालीमाटी र बुदबुदीमा अहिले थारू बस्तीहरू छन् । ०६२÷६३ सालको राजनीतिक परिवर्तनपछि शिक्षा र रोजगारमा आफूहरूको आकर्षण बढेको थारू समुदायबाटै स्नातकोत्तर उत्तीर्ण मानबहादुर चौधरीले बताए ।
‘अहिले थारूहरू जनसंख्याको हिसाबले अल्पसंख्यामा परे पनि पहिलोको तुलनामा प्रशासनिक पहुँच बढेको छ,’ उनले भने, ‘कुनै लोकसेवा खुल्यो भने हाम्रा परिवारका १÷२ जनाले नाम निकालेकै छन् ।’ उनका अनुसार थारू समुदायमा ०३४ सालसम्म एलएलसी उत्तीर्ण गर्नेहरूको संख्या शून्य नै थियो । उनले यसबारे सोधपत्रसमेत तयार पारेका छन् ।
उनको अनुसन्धानअनुसार सुर्खेतमा ४ सय १८ एसएलसी र ५७ जनाले स्नातक तह उत्तीर्ण गरेका छन् । ‘अहिले बेरोजगार भए पनि मजदुरी गरेर हाम्रा युवाहरूले पैसा कमाउँछन्,’ उनले भने, ‘थारू बस्तीका झन्डै ४० प्रतिशत युवाहरू वैदेशिक रोजगारीमा गएका छन् ।’
थारू समुदायका ५ हजार ३ सय जना साक्षर भएको वीरेन्द्रनगर नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाको तथ्यांक छ । ५६ वर्षीय बाधु थारूले एक दशकयता समुदायमा झन्डै ९० प्रतिशत परिवर्तन देखिएको बताए । ‘कुनै बेला चुहिने छानाको घरमा एउटै कोठाभित्रै कोचाकोच गरेर २४ जनाको परिवारसम्म बस्थ्यौं,’ उनले भने, ‘अहिले त मेरै सिमेन्टवाला घर छ ।’ छोराछोरी पनि आफैं सक्षम भएकोमा खुसी लागेको उनले बताए । उनका दुई छोरा वैदेशिक रोजगारीमा छन् भने दुई छोराले निजी कम्पनीमा जागिर गर्छन् ।
कालोपत्रे सडक नभए पनि धेरै सुविधा नभएको उनले बताए । उनका अनुसार अहिले घरआँगनमै २४ घण्टा गाडी दौडिन्छ । खानेपानीको सुविधा घरघरमै छ भने स्वास्थ्यचौकी र वडा कार्यालय पुग्न ५ मिनेट पनि लाग्दैन । छोराछोरीले १५ मिनेट दूरीको विद्यालयमा पढ्न पाएको उनले बताए ।
कान्तिपुर
युग संवाददाता । । १९ माघ २०७९, बिहीबार १२:०३