हात चाट्दै गजेन्द्रकाे कटाक्ष : प्रतिपक्षको हालत जुम्लाको भालु जस्तै

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले प्रमुख प्रतिपक्षी दलको हालत हिउँदमा खान नपाएको भालुको जस्तै भएको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै कर्णालीका सांसद महतले प्रतिपक्षी दलप्रति कटाक्ष गर्न जुम्लाको किस्सा सुनाएका हुन् ।
महतले अर्थमन्त्री जनार्दन शर्माले जनतालाई पढेर बजेट ल्याएका कारण राम्रो बजेट आएको दाबी गरे । त्यसपछि उनले भने, हाम्रो जुम्लातिर हिउँद याममा भालुले के गर्छ रे भन्दा, खान नपाएपछि बर्खामा मकै खाएको हात यही त हो नि भनेर चाट्छ रे, मह खाएको हात यही त हो नि भनेर यसरी (हात चाटेको संकेत गर्दै) चाट्छ रे । म्याल, स्याउ आलु र ओखर खाएको हात यही हो भनेर चाट्छ’ संसदको रोष्टममा उभिएर हात चाटेको भावसहित सांसद महतले भने, ‘अहिले प्रतिपक्षलाई हिउँद याम लागेका छ । अरू धेरै भन्दिन ।’
अर्थमन्त्रीले जनतालाई पढेर बजेट ल्याउनु भएको छ, यसअघि डाक्टर पढेकाहरु कसैसँग सल्लाह नगर्ने, मै जान्ने हुँ भनेर आउने गरेकोमा यसपटक सबैसँग सल्लाह गरेर बजेट ल्याएको हुँदा ठिकै लागेको छ । त्यसैले समर्थन गरेको छु’ महतले भने ।






