सम्पादकीय : सदिक्षासहित शुभकामना

हिन्दू नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक आज गाउँशहर जताततै खुशियाली र उमगंका साथ मनाइँदैछ । धार्मिक मान्यता अनुसार शिवपार्वतीको मिलनसंग जोडिएको यो पर्वका धार्मिक र पौराणिकसंगै पारिवारिक, सामाजिक, सांस्कृतिक र आर्थिक पाटाहरु पनि जोडिएका छन । समयसँगै संस्कार र संस्कृतिमा परिवर्तन अवश्य आउँछ, यो अवश्यमभावी पनि छ । तर परिवर्तनका नाममा पर्वको महिमा र गरिमा घटाउने कार्यपनि स्वीकार्य हुँदैन ।
खासगरी शहर बजारमा तीज खर्चिलो र भड्किलो बन्दै गएको मात्र हैन पछिल्लो समय उत्ताउलो हुन थालेको र यसको मौलिकता हराउन थालेकोमा वयोवृद्धहरुको चिन्तालाई स्वभाविक र सम्वेदनशील रुपले लिनुपर्ने हुन्छ । तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ । धार्मिक संस्कारयुक्त तीज सर्वमान्य हुन्छ ।
तीजका दिन महिलाले लगाउने पहिरनले सांस्कृतिक महत्वपनि बोकेका हुन्छन । तर त्यहि पहिरनमा पछिल्लो समय अघोषित प्रतिष्पर्धा र गहना प्रदर्शनीको होडबाजीले समाजलाई भित्र भित्र धमिरालेझैं खोक्रो बनाउँदै लगेको सहजै अनुभूति गर्न सकिन्छ ।

गाउँघरको चलनअनुसार रोपाई लगायत बालीनाली रोपिसकेपछि थकान मेटाएर ऊर्जा थप्न मात्र होइन दिदीबहिनीहरुबीच गीतका माध्यमबाट सुख साटेर बढाउने र दुःख साटेर घटाउने मौका पनि हो तीज । तर यहि तीजलाई गहन प्रदर्शनी र अदृश्य प्रतिष्पर्धाको कारण बनाउँदै र बढाउँदै जाने हो भने दिदीबहिनी अनि साथीसंगी बीचको आपसी अपनत्व र स्नेह चाहिं कसरी बढला ?
हेर्दा साना र सामान्य लाग्ने यस्ता कतिपय व्यवहारले तीजको वास्तविक महत्व र उद्देश्यलाई ओझेलमा पार्दै जान थालेको हो कि ? प्रतिष्पर्धा होस् या आधुनिकताका नाममा कसैले पनि आप्mनो सदियौंदेखि चल्दै आएको रितिथिति, परम्परा, संस्कार र संस्कृति छोड्न हुँदैन र मिल्दैन पनि । केहि वर्षअघिसम्म खस आर्य समुदायका हिन्दू महिलाहरुले मात्र मनाउने तीज अहिले अन्य समुदायसम्म विस्तार भएको छ ।
निश्चयपनि यो संस्कृतिको फैलावट खुशीको कुरा हो । तीजको धार्मिक तथा सांस्कृतिक महत्व बुझेकै कारण अन्य समुदायले पनि यो पर्वलाई अंगालेका हुन, आत्मसाथ गरेका हुन भन्ने कुरा हामीले भुल्नु हुँदैन । अरु चाडपर्व मनाउने अन्य समुदायले तीजलाई मौलिक रुपमा मनाइँ रहँदा, सदियौंदेखि तीज मौलिक रुपले मनाउँदै आएको समुदायका महिलाले भने आधुनिकतामा नाममा तीजको विशेषतालाई ओझेलमा पार्नु तीजकै लागि अन्याय हुन्छ, संस्कृतिमाथिको अत्याचार हुन्छ ।
त्यसैले तीजलाई परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा खर्चिलो, भड्किलो र अश्लिल बनाउनु भने हुँदैन । यो पर्वको सांस्कृतिक महत्वको जगेर्ना गर्न विकृतिहरू हटाउँदै जानुपर्छ । आज तीज मनाई रहनुभएका सम्पूर्ण दिदीबहिनीले यो दायित्व वहन गर्नुहुनेछ भन्ने सदिक्षासहित तीजको शुभकामना ।






