आज पनि मुलुकभर भारी वर्षाको सम्भावना

काठमाडौं,१६ असार ।
हाल देशभर मौसममा सामान्य बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर (नेपालको दक्षिणी भू–भाग नजिक) रहेको छ ।
प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन÷ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
स्रोत : सेतोपाटी






