कानुनी उपचार खोज्दै जुम्लाका डाक्टर : ‘आफ्नै घाउ सम्हाल्ने कि बिरामीको ?’

पुनम वि.सी.
सुर्खेत, १३ भदौं ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुको दिनचर्या अहिले फेरिएको छ । प्रत्येक दिन उनीहरु प्रतिष्ठानको चौरमा भेला हुन्छन् । ‘आफ्नै घाउँ सम्हाल्ने कि बिरामीको ?’, ‘स्वास्थ्यकर्मीमाथि हातपात गर्न बन्द गरौं’, ‘ज्यान जोगाउनेको ज्यान नै जोखिममा’ जस्ता नारा लेखेका प्लेकार्ड प्रदर्शन गर्दै एक घण्टा जति धर्नामा बस्छन् र फेरि काममा फर्कन्छन् ।

प्रतिष्ठानको बाह्य विरामी हेर्ने विभाग ‘आउट प्यासेन्ट डिपार्टमेन्ट’ अर्थात ओपीडी सेवा धर्नाका बेला दैनिक एक घण्टा बन्द हँुदै आएको छ । दिउँसो २ बजेपछि, सेतो एप्रोन लगाएर काँधमा स्टेथस्कोप भिरेका डाक्टरहरु धर्नामा बस्छन अनि ३ बजेपछि फेरि ओपीडीतिर फर्किन्छन विरामीको चेकजाँचका लागि ।

अहिले हरेक दिन भईरहने स्वास्थ्यकर्मीहरको यो गतिविधिले प्रतिष्ठान भित्रको राजनीति बाहिर आउन थालेको छ । प्रतिष्ठानमा चिकित्सक र स्वास्थ्यकर्मी नै सुरक्षित नभएको भन्दै उनीहरु धर्नामा बस्न बाध्य छन् ।

जिम्मेवारीपनि छ, नागरिकलाई स्वास्थ्य सेवा दिनु, उपचार गर्नु र ज्यान जोगाउनु । आफ्नो जिम्मेवारीको साथसाथै अधिकारका लागि उनीहरु बाध्यात्मक रुपमा दैनिक एक घण्टा धर्नामा बस्न बाध्य भएका छन् । भदौै २ गते प्रतिष्ठानमा कार्यरत एक चिकित्सकलाई त्यहाँ कार्यरत कर्मचारीले कुुटपिट गरे ।

प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लाका आकस्मिक कक्षमा कार्यरत डा. करण साहमाथि प्रतिष्ठान प्रशासनका कर्मचारीले हातपात गरेका थिए । प्रतिष्ठान प्रशासनका कर्मचारी धनबहादुर शाहीलाई हदैसम्मको कारवाहीको मागसहित अहिले प्रतिष्ठानका चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन । घटना लगत्तै चिकित्सकहरुले भदौ ३ र ४ गते हातमा कालोपट्टी बाँधेर काम गरे । ५ गते आकस्मिक बाहेकका सबै सेवा ठप्प पारे ।

त्यसअघि नेपाल चिकित्सक संघको केन्द्रिय उपाध्यक्ष सहितको टोली जुम्ला पुगेर घटनाबारे बुझेर फर्किएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको थियो । तर पछिल्लो समयमा प्रहरीको अनुसन्धान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गठित छानबिन समितिलाई सघाउन र घटनामा नकारात्मक प्रभाव पर्नसक्ने भन्दै खबरदारी गर्न उनीहरुले आन्दोलनका कार्यक्रम जारी रारिएको छ । उनीहरुले शाहीलाई चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐनबमोजिम कारबाही हुनुपर्ने माग गरेका छन् ।

विभिन्न बहानामा दोषीहरुलाई उन्मुक्ति दिने कार्यले दूरदराजमा कार्यरत स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने भएकोले निष्पक्ष छानबिन र अनुसन्धान हुनुपर्नेमा उनीहरुको जोड छ । यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले डाक्टर कुट्ने शाहीलाई ४५ दिनका लागि निलम्बन समेत गरेको छ ।

आरोपित शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र प्रतिष्ठानले छानबिन समिति बनाएर घटनाको छानबिन गरिरहेकाले चिकित्सकहरुले यस अघिका आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए ।

घटनाको सीसीटीभी फुटेजलगायतले घटना छानविनका लागि धेरै समय लाग्दैन । तर प्रतिष्ठानको कार्यकारी परिषद्को बैठकले अस्पताल निर्देशक डा. पुजन रोकायाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्ने समय दिइएको छ ।

‘घटना छानविका लागि त्यत्रो समय लाग्नुपर्ने होइन ।’ नेपाल चिकित्सक संघ, जुम्लाका उपाध्यक्ष डा. कमल थानीले भने, ‘सीसीटीभी लगायत प्रत्यक्षदर्शी जुटाउने हो भने एकै दिनमा सकिन्थ्यो । उहाँहरुको पनि प्रक्रिया होला ।’ समितिमा डा. पुजन रोकाया, डा. अनुपमंगल समाल र प्रतिष्ठानका कानुनी सल्लाहकार मीनबहादुर महत रहेका छन् । घटनाका विषयमा अहिले देशैभरका चिकित्सकहरु एकजुट भएका छन् ।

भएको के हो ?
भदौ २ गते बिहीबार बिहान ९ बजे प्रतिष्ठान प्रशासनतर्फका चौथो तहका कर्मचारीसमेत रहेका शाही छोराको टाँका काट्न भन्दै इमरजेन्सी विभागमा पुगेका थिए । तत्कालका लागि बिरामी हेर्न व्यस्त रहेको जनाउँदै डा. साहले बिहान ११ बजेतिर टाँका काटिदिने प्रतिक्रिया दिए । शाहीको छोराको टाँका काट्ने विषयमै उनीहरुबीच विवाद हुँदा शाहीले हातपात गरेको डा. थानीले दाबी गरे ।

‘बिहानपख इमरजेन्सी वार्डमा बिरामीको भिडभाड नै थियो । डा. साहले बच्चाको घाउ नपाकिसकेको भन्दै हतार नगर्न शाहीलाई सल्लाह दिए । ‘अहिले म बिरामीसँग छु । ११ बजेतिर भेटेर हेरौंला’ भन्नुभएको सुनियो,’ उपाध्यक्ष डा. थानीले भने, ‘शाहीले तैले मेरो काम नगर्ने भन्दै साहमाथि जाईलागे ।’ यो कार्यले सिंगो प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मी नै कर्मचारीबाट असुरक्षित हुनुपर्ने अवस्था आएको डा. थानीको टिप्पणी छ ।

डा. साहले आप्mनो टाउको र पेटमा चोट लागेको भन्दै सीसीटीभी फुटेजसहित जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका छन् । प्रहरीले आरोपित शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

‘सीसीटीभी फुटेजमा स्पष्टरुपमा चिकित्सकमाथि हातपात भएको देखिन्छ ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन तथा प्रवक्ता डा. रमेश भट्टराईले भने, ‘कर्मचारीले चिकित्सकमाथि हात हाल्न नहुनु पर्ने हो, हात हालेर समस्या भयो ।’

चिकित्सकको माग के ?
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ दफा ३ मा ‘स्वास्थ्य उपचारको विषयलाई लिई स्वास्थ्यकर्मीलाई घेराउ, अपमानजनक व्यवहार वा हातपात गर्न नहुने उल्लेख छ । प्रतिष्ठान प्रशासनका कर्मचारी धनबहादुर शाहीमा समेत ऐनको सोहि दफा आकर्षित हुने भएकाले सोहि बमोजिम नै कारवाही गर्नुपर्ने चिकित्सकहरुको माग छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन बमोजिम उक्त कसुरमा कसुरको मात्रा अनुसार पाँच हजार रुपैयाँदेखि बीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । यसैगरी स्वासथ्य संस्थामा तोडफोड, आगजनी वा यस्तै कुनै कार्य गरेको कसुरमा तीन लाख रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद वा दुई सजाय हुनसक्ने व्यवस्था छ ।

कानुनी उपचार खोज्दै जुम्लाका डाक्टर : ‘आफ्नै घाउ सम्हाल्ने कि बिरामीको ?’

YUGAAWHAN NATIONAL DAILY (2079-05-13)

कानुनी उपचार खोज्दै जुम्लाका डाक्टर : ‘आफ्नै घाउ सम्हाल्ने कि बिरामीको ?’

YUGAAWHAN NATIONAL DAILY (2079-05-14)

Leave a comment

Your email address will not be published. Required fields are marked *