कुलबहादुर-तुलि स्मृति पुरस्कार वितरण

वसन्त कुमार शर्मा
सल्यान
सल्यानको बागचौर नगरपालिका-८ मा रहेको कालिका माध्यमिक बिद्यालयमा कुलबहादुर, तुली स्मृति पुरस्कार वितरण गरिएको छ । शनिवार आयोजित पुरस्कार वितरण कार्यक्रममा २०७७ सालको एसईई परिक्षामा उत्कृष्ट जीपीए प्राप्त गर्न सफल भएका जेहेन्दार छात्र तथा छात्राहरुलाई पुरस्कृत गरिएको हो ।
एसईईमा उत्कृष्ठ जीपीए प्राप्त गर्न सफल विद्यार्थीहरुलाई छोराहरु लक्षिराम बुढाथोकी, हरिहर बुढाथोकी, लोकमान बुढाथोकी, गङ्गाराम बुढाथोकीले पुरस्कार वितरण गरेका हुन् । बुवा आमाले हामीहरुलाई पढाएको बिद्यालयमा स्मृति कोष स्थापना गर्न पाउँदा खुशी लागेको छोराहरुको भनाई छ ।
गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनमा प्रोत्साहन पुगोस भन्ने उद्देश्यका साथ दुई लाख बराबरको कुलबहादुर, तुली स्मृति पुरस्कार स्थापना गरिएको उनीहरुको भनाई छ । छात्रवृति अन्तर्गत प्रत्येक बर्ष अक्षयकोषबाट प्राप्त हुने ब्याजको ९० प्रतिशत रकम जेहेन्दार १ जना छात्रा र १ जना छात्र गरि २ जना विद्यार्थीलाई कुलबहादुर- तुलि बुढाथोकी स्मृति पुरस्कार प्रदान गरिने छ ।
बाँकी १० प्रतिशत रकम कोषमा जम्मा हुदै जाने छ । कार्यक्रममा २०७७ सालको एसईई परीक्षामा उत्कृष्ट जीपीए प्राप्त गरेका रिता बुढाथोकी, पवन बिकलाई स्मृति पुरस्कार प्रदान गरिएको हो । त्यस्तै २०७७ सालको एसईई परीक्षामा सहभागी भइ उत्कृष्ट जीपीए प्राप्त गर्ने सोही विद्यालयका छात्रा मेनका चन्द र छात्र एकराज हमाललसमेत पुरस्कृत भएका छन् ।
सल्यानका प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेत तथा उनका छोरा सुरेन्द्र बस्नेतले स्वर्गीय कुल बहादुर बस्नेतका छोराहरु नबराज बस्नेत र परिवर्तन बस्नेतले स्वर्गीय कुलबहादुर बस्नेतको सम्झनामा स्थापना गरेको “कुलबहादुर बस्नेत स्मृति पुरस्कार’’ समेत वितरण गरिएको छ । उक्त पुरस्कार बागचौर नगरपालिका वडा न ८ का वडाअध्यक्ष रोमु शाही र परिवारका तर्फबाट लक्षिराम बुढाथोकी र नबराज बस्नेत तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बहादुर चन्दले सामुहिक प्रदान गरेका थिए ।
पुरस्कार प्राप्त गर्ने विद्यार्थीलाई विद्यालयले उज्जवल भविष्यको शुभकामना दिदैं पुरस्कार स्थापना गर्ने दुबै परिवारलाई धन्यवाद दिएको छ ।





