ज्येष्ठ नागरिकलाई भत्ता बुझ्न सकस

कालीकोट,१० साउन ।
नरहरिनाथ गाउँपालिकामा रहेको बैङ्कमा आर्थिक वर्षको अन्त्यमा पैसा झिक्न थेगिनसक्ने भीड लाग्ने गरेको छ। कृषि विकास बैङ्क शाखा कार्यालय कुमालगाउँमा आर्थिक वर्ष २०७८र७९ को भुक्तानी लिन सेवाग्राहीको भीड लाग्ने गरेको हो।

स्थानीय बासिन्दा जीवन विश्वकर्माले सबै भुक्तानी प्रक्रिया बैङ्कबाटै गर्ने हुँदा चाप बढेको बताए । सरकारले वृद्धवृद्धाले पाउने सेवा सुविधा पनि बैङ्कमा खाता अनिवार्य गरेपछि कालीकोटका झन्डै १८ हजार वृद्धवृद्धा सकसमा परेका छन् । हिँड्न नसक्ने र सडकको पहुँचमा समेत नजोडिएका बस्तीबाट सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा जाने वृद्धवृद्धाका लागि बैङ्किङ प्रणालीले निकै दुःख दिएको स्थानीय उमेश विष्टले बताए ।
वृद्धवृद्धा दुःख गरेर वा घरका छोराछोरीको सहारामा बैङ्कसम्म आउने तर पालो नपाउँदा सकसमा परेको बताइएको छ। दुई दिन बस्न परेमा आएको भत्ताको ५० प्रतिशत पालो कुर्दै खर्च हुने भएकाले सामाजिक सुरक्षा भत्ता पाउनेका लागि निकै दुःखद भएको विष्टको भनाइ छ।
बैङ्कमा सेवाग्राहीको चाप निकै बढेपछि बैङ्कले समेत सूचना प्रकाशित गरेर समय तोकेको छ। बैङ्कले नौवटा वडा रहेको नरहरिनाथ गाउँपालिकालाई बैङ्कमा आउने दिनसमेत तोकेको छ। भुक्तानीका लागि वडाअनुसारको गते बैङ्कले तोकेको छ। बैङ्कले सूचना गरेता पनि नागरिकको भीड कम भएको छैन। योजनादेखि सामाजिक सुरक्षा भत्ता, कोरोना जोखिम भत्तालगायतका रकम वितरण हुने भएकाले भीडभाड कम नभएको बताइएको छ।
उता बैङ्कबाट भत्ता वितरण गर्दा निकै सकस हुने भएपछि जिल्लाको सान्नित्रिवेणी गाउँपालिकाले बैङ्कका कर्मचारीसहित प्रतिनिधि सबै वडामा पठाएर सामाजिक सुरक्षा भत्ता घरघरमै वितरण गर्ने कार्यपालिकाबाटै निर्णय गरेको जनाएको छ। स्थानीय निर्वाचनमा वृद्धवृद्धाको मत लिन घरघरमा भत्ता वितरण गर्ने नारा बनाए पनि अहिलेसम्म निर्वाचित जनप्रतिनिधिले कार्यान्वयन गर्न सकेका छैनन्
स्राेत ः गाेरखापत्र






