कर्णालीका आठ जिल्लाका ६४ पालिकामा सत्ताधारी गठबन्धन

सुर्खेत, १३ बैशाख ।
कर्णालीमा सत्तारुढ गठबन्धन ७९ स्थानीय तहमध्ये ६४ स्थानीय तहमा सहमति गरेको छ । सुर्खेतका ९ र रुकुम (पश्चिम) ६ स्थानीय तह बाहेक सबैमा भागबण्डा गरेको हो ।
सुर्खेत र रुकुम (पश्चिम) मा गठबन्धनका दलहरुले आफ्नै उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । तर, कर्णालीका ८ जिल्लामा गठबन्धनले तालमेल गरेको छ । गठबन्धनभित्रै नेताहरुमा केही असुन्तुष्टी भएपनि दलहरुले सिफारिस गरेका उम्मेदवारहरुले आफ्नो उम्मेदारी दर्ता गराइसकेका छन् ।
गठबन्धनको भागबण्डाविपरित कार्य गर्नेहरुलाई कडा कार्वाहीको सत्ता गठबन्धनबाट चेतावनी समेत दिइएको छ । हुम्लाका ७ स्थानीय तहमध्ये माओवादीले चार वटा स्थानीय तहको अध्यक्ष पाएको छ जसमा नाम्खा, सिमकोट, चखेली र ताँजकोट रहेको छ ।
उपाध्यक्षमा दुई स्थानीय तहमा पाएको छ जसमा खार्पुनाथ र सर्केघाट रहेको छ । कांग्रेसले तिन गाउँपालिका पाएको छ जसमा खार्पूनाथ, सर्केघाट र अदानचुली रहेको छ । उपाध्यक्षमा नाम्खा, सिमकोट पाएको छ । त्यस्तै समाजवादीले चखेंली, अदानचुली, ताँजकोटमा उपाध्यक्ष पाएको छ । हुम्लामा नगर पालिका छैन् ।
जुम्लामा ८ वटा स्थानीय तह रहेकोमा कांग्रेसले ४ वटा, माओवादी केन्द्रले ३ वटा र १ वटा समाजवादीले प्रमुख पाएका छन् । जसमा कांग्रेसले चन्दननाथ नगरपालिका, कनकासुन्दरी गाउँपालिका, सिजाँ गाउँपालिका, पातारासी गाउँपालिका पाएको छ । भने उपाध्यक्ष दुई वटा गाउँपालिकामा पाएको छ ।
त्यस्तै माओवादी केन्द्रले तीन वटा पालिकामा प्रमुख पाएको छ । जसमा गुठीचौर, तातोपानी र तिला गाउँपालिका रहेको छ । पाँच वटा पालिकाको उपप्रमुख पाएको छ । त्यस्तै समाजवादीले हिमा गाउँपालिकाको अध्यक्ष पाएको छ भने गुठीचौर गाउँपालिकाको उपाध्यक्ष पाएको छ ।
गठबन्धनबाट मुगुमा रहेको चार वटा पालिकामध्ये कांग्रेसले दुई वटा पालिका पाएको छ भने, माओवादी केन्द्र र समाजवादीले एक÷एक वटा पालिका पाएका छन् । कांग्रेसले मुगुको छाँयानाथ रारा नगरपालिका र मुगुम कार्मारोग गाउँपालिका पाएको छ भने, दुई वटा गाउँपालिकामा उपाध्यक्ष पाएको छ ।
माओवादी केन्द्रले खत्याड गाउँपालिका अध्यक्षसहित एक नगर उपप्रमुख पाएको छ । समाजवादीले सोरु गाउँपालिका अध्यक्षसहित मुगुम कार्मारोग गाउँपालिका उपाध्यक्ष पाएको छ ।
सोमबार दिउँसो सार्वजनिक भएको भागबण्डा अनुसार कालिकोटमा रहेका नांै स्थानीय तह मध्ये पाँच वटामा माओवादी केन्द्रले प्रमुख पाएको छ भने कांग्रेसले दुई प्रमुख तीन उपप्रमुख र समाजवादीले दुई स्थानीय तहको प्रमुख र दुई उपप्रमुख पाएको छ ।
चार उपप्रमुख माओवादीले पाएको छ । डोल्पामा आठ स्थानीय तह रहेकोमा कांग्रेसलाई एक पालिका प्रमुख मात्र दिइएको छ । बाँकी एक नगरपालिकासहित ४ वटा समाजवादी र तीन स्थानीय तहमा प्रमुखमा माओवादीले लिएको छ ।
कर्णालीमा धेरै स्थानीय तह समाजवादीले डोल्पामा पाएको देखिन्छ । सल्यानमा १० वटा स्थानीय तहमा चार वटा कांग्रेस, चार वटा माओवादी केन्द्र र दुई वटा समाजवादीले प्रमुख पाएका छन् ।
त्यस्तै गठबन्धनले जाजरकोटमा ७ स्थानीय तहमध्ये तीन कांग्रेस, तीन माओवादी र १ समाजवादीलाई भागबण्डा गरेका छन् । दैलेखमा ११ स्थानीय तह रहेकोमा ६ स्थानीय तह कांग्रेस, माओवादी केन्द्र २ र समाजवादी ३ स्थानीय तह दिने गरी भागबण्डा भएको कर्णाली प्रदेश सत्तारुढ गठबन्धनले प्रकाशित विज्ञप्तीमा उल्लेख गरेका छन् ।
सुर्खेत र रुकुम (पश्चिम) मनोनयन गर्ने अन्तिम समयसम्म र उम्मेदवारी फिर्ता लिने समयसम्म सहमति प्रयास गर्ने निर्णय सत्ता गठबन्धनले गरेको छ । तर, सत्ता गठबन्धनबाट सबै दलले आफ्नो तरिकाबाट सबै पालिकामा मनोनयन दर्ता गरेका छन् ।
सुर्खेत र रुकुम पश्चिम सहमति भएन
आठ जिल्लामा कर्णाली प्रदेशमा सत्ता गठबन्धनबीचको सहमति भएपनि दुई जिल्लाको सहमति जुट्न सकेको छैन । अन्य जिल्लामा पालिका भागबण्डा गर्ने सहमति जुटेपनि दुई जिल्लामा सहमति हुन नसकेको हो ।
पालिका भागबण्डाका विषयमा पाँच दिनदेखि जारी गठबन्धन दलहरूबीचको छलफल सकिएको छ । बिहीबारबाट जारी छलफल सोमबार बिहान टुंगिएको हो ।
दलहरूबीचको बैठकबाट आठ जिल्लामा पालिका भागबण्डाको टुंगो लागेको छ भने रूकुम पश्चिम र सुर्खेतमा कुनै सहमति जुट्न सकेको छैन । बाँकी रहेका यी दुई जिल्लामा १६ गतेसम्म सहमतिको प्रयास जारी राख्ने गरी छलफल टुंगिएको हो ।
उम्मेदवारी दिने अन्तिम दिन भएपनि फिर्ता लिन मिल्ने समय भने वैशाख १६ गतेसम्म तोकिएको छ । अहिले सहमति हुन नसकेको सुर्खेत र रूकुम पश्चिममा गठबन्धनमा रहेका दलहरूबाट छुट्टाछुट्टै उम्मेदवार पर्छ÷पर्दैन भन्ने खुलाइएको छैन ।
नेकपा माओवादी केन्द्र सुर्खेतका संयोजक जीतबहादुर रानाले अहिले यो बारेमा छलफल नभएको बताए । माओवादीकै एक नेताका अनुसार सुर्खेतमा कांग्रेसको र रूकुम पश्चिममा माओवादीको बलियो पकड भएकै कारण यी दुई जिल्लामा कुरा मिल्न नसकेको हो ।
माओवादीले सुर्खेतमा चिङ्गाड र चौकुने गाउँपालिका तथा रूकुम पश्चिमका सबै पालिकामा आफूले नेतृत्व लिने गरी बार्गेनिङ गरेको थियो । कांग्रेसले यसमा सहमति जनाउन नसकेको हो ।
गठबन्धन विरुद्ध उम्मेदवारी दिनेलाई अनुशासनको कारबाही
कर्णाली प्रदेशमा साझा उम्मेदवार विरुद्ध उम्मेदवारी दिनेलाई कारबाही गर्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । सहमतिमा पालिकाको भागबण्डा भएका कर्णालीका आठवटा जिल्लाहरुमा गठबन्धनका उम्मेदवारविरुद्ध लाग्ने नेता तथा कार्यकर्तालाई गठबन्धनभित्रका दलहरुले अनुशासनको कारबाही गर्ने भएका छन् ।
नेपाली काँग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसबारेमा गठबन्धनले विज्ञप्ति समेत जारी गरी जानकारी गराएको छ ।
गत साता बिहिवारदेखि गठबन्धन दलहरुबीच भएको छलफलबाट सुर्खेत र रुकुम पश्चिमका पालिकाबाहेक अरु आठ जिल्लाका पालिका भागबण्डा भईसकेको छ ।
सहमति अनुसार आठ जिल्लाका पालिकाहरुमध्ये नेकपा माओवादी केन्द्रले २५ पालिका प्रमुख र २६ उपप्रमुख लिने भएको छ । काँग्रेसले २५ प्रमुख र २३ उपप्रमुख पाएको छ भने समाजवादीले १३ पालिका प्रमुख र १६ उपप्रमुख पाएको छ ।
सहमति नभएको रुकुम र सुर्खेतका सन्दर्भमा भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समयसम्म पनि सहमतिको प्रयास जारी राख्ने गठबन्धनले विज्ञप्तिमार्फत जनाएको छ ।






