बाली जोगाउन रातभर जाग्राम

दिपेन्द्र शर्मा १२ चैत्र । सल्यान कालिमाटी गाउँपालिका–७ काप्रेचौर सल्यानकी भीमसरा बुढा बर्षौंदेखि बारीमै जाग्राम बसेर रात बिताउने गरेकी छन् । बारीमा रात बिताउनु उनको रहर होइन, बाध्यता हो । उनी वर्षामा बर्खेबाली जोगाउन बारीमै रात बिताउन बाध्य छन् भने आजभोलि तरकारी र गहुँ जोगाउन बारीमा जाग्राम बस्छिन् ।

काप्रचौरकै टेकबहादुर बिकको पीडा पनि भीमसराकोभन्दा फरक छैन। उता गोठमा बाँधेका बाख्रा बाघले खाइदिने गरेको छ । विशेषगरी निकुन्ज क्षेत्रभित्र बस्ती भएकाले उनीहरू दुईजना मात्र होइन, यहाँका अरु किसान पनि यसरी नै रातभरि बारीमै बालीनाली रुँगेर जाग्राम बस्ने गरेका छन् । बाँके राष्ट्रिय निकुन्जमा बढ्दै गरेका जंगली जनावरले बालीमा क्षति पुर्याउन थालेपछि सल्यान काप्रेचौरका बासिन्दा बारीमै रात बिताउँदै आएका हुन्।

सरकारले ०६७ सालमा काप्रेचौरसम्म बाँके राष्ट्रिय निकुञ्जमा समेटेपछि जंगली जनावरले गाउँलेलाई हैरान पारेका छन्। बँदेल, बाँदर र दुम्सीले मकै, गहुँ‚ फलफूल, तरकारीमा क्षति पुर्याउँछन् भने बाघले गोठभित्रै आएर घरपालुवा जनावर खाइदिने गरेको छ । वन्यजन्तुकै कारण अधिकांश स्थानीयले बाली लगाउन छाडेका छन् । ‘बाली लगाएर के गर्ने ? पाक्ने बेलामा जंगली जनावरको बथान आएर सबै बाली नष्ट गरिदिन्छ,’ स्थानीय निर्मला बुढाले भनिन्, ’बाली लगाउँछौँ तर जनावरले सखाप पारिदिन्छ, अब त उठिबास नै लाग्ला जस्तो भैसक्यो, वर्षभरि खान पुग्ने जग्गा बाँझो हुन थालेपछि बाहिरको खाद्यान्नको भर पर्नुपरेको छ ।’

राष्ट्रिय निकुञ्जसँगै मध्यवर्ती क्षेत्रमा पर्ने काप्रेचौर, आम्बास, स्वयम्बास, कुसुमतरा, हाउखोला, बाटुलेलगायत गाउँका बासिन्दाले जंगली जनावरबाट क्षति बेहोर्नु परेको मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष डम्बर पुनले बताए । एकातिर निकुञ्जले वन जंगल र वन्यजन्तुको संरक्षण गरे पनि अर्कोतर्फ भने निकुन्ज क्षेत्रभित्र बसोबास गर्ने स्थानीयले लगाएको बाली जोगाउन नसकेको उनले बताए। उनले भने, ’बाघले समेत घरभित्रै पसेर गाई–बाख्रा मार्ने, मान्छेलाई समेत बारम्बार आक्रमण प्रयास गर्ने गरेको छ ।’

निकुन्जको मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तुलाई हानी पुग्ने कुनै पनि गतिविधि गर्न नपाइने र यसको संरक्षण गर्नुपर्ने भएपछि वन्यजन्तुले नै जनजीविका प्रभावित बनाइरहेको छ। यस क्षेत्रमा ५ सयभन्दा बढी घरपरिवार बसोबास गर्छन् । तर जंगली जनावरका कारण ती सबै प्रभावित छन्। समस्याको दीर्घकालीन समाधान खोज्न स्थानीयले माग गरेका छन् ।

जंगली जनावरले प्रत्येक वर्ष बालीनालीमा क्षति गर्दै आए पनि क्षतिपूर्ति पाउन नसकेको किसान केशर बिसीको दुखेसो छ । रातपर्ने बित्तिकै बाघ आहारा खोज्दै बस्तीमा छिर्ने गरेको तर सम्बन्धित निकायले जंगली जनावरको सुरक्षामा मात्र ध्यान दिएको तर बस्तीको सुरक्षामा कुनै चासो नदिएको गुनासो गरे । स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन नसकेको कालिमाटी गाउँपालिका–७ का वडाध्यक्ष नैनसिंह रानाले बताए।

बालीनालीमा वन्यजन्तुले ठूलो क्षति पु¥याउने गरेका कारण थोरै बजेटले तारजाली लगाउन नपुग्ने उनले बताए। वडाबाट निकुन्जका जनावरले गरेको बाली क्षतिको विवरण निकुन्जमा पठाए पनि न्यून मात्रामा राहत दिने गरेको उनको गुनासो छ।

बाली जोगाउन रातभर जाग्राम

खानेपानी गुणस्तर जाँच गर्न सुर्खेतमा प्रशिक्षण

बाली जोगाउन रातभर जाग्राम

एमालेले गर्याे वडा भेला

Leave a comment

Your email address will not be published. Required fields are marked *