पराजित भएपनि चुनावी वाचा कार्यान्वयनका लागि निर्वाचित नगरप्रमुखलाई हस्तान्तरण

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेसले बनाएको चुनावी प्रतिबद्धता निर्वाचित नगरप्रमुखलाई हस्तान्तरण गरेको छ ।
काँग्रेसबाट नगरप्रमुखका उम्मेदवार बनेका उपेन्द्र खड्काले निर्वाचित नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी) समक्ष उक्त वाचा हस्तान्तरण गरेका हुन् ।
उनले भने,‘ आफु पराजित भएपनि समग्र वीरेन्द्रनगरको विकास र समृद्धिमा हाम्रो पनि साथ छ भन्ने उद्देश्य हो । हामीले नगरपालिकाका १६ वटै वडामा पुगेर १६ वटा संकल्पसहितको चुनावी प्रतिबद्धता बनाएका थियौं । जुन कार्यान्वयन गर्न सकिने खालका छन् । त्यसलाई कार्यान्वयन गरिदिनका लागि हामीले निर्वाचित नगरप्रमुख समक्ष हस्तान्तरण गरेका हौं।’
खड्काले राजनीति कल्चलरलाई सुधार्नका लागि पनि आफ्नो प्रतिबद्धता हस्तान्तरण गरिएको बताए । हार–जित स्वभाविक प्रक्रिया नै हो । हारिसकेपछि पलायन हुने र जितेपछि मात्तिने जुन प्रचलन छ, त्यसलाई परिवर्तन गर्न जरुरी छ,’उनले भने ।
खड्काले असार १५ गते प्रस्तुत हुने नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा आफुले अघि सारेका संकल्पहरुलाई समेटिने विश्वास व्यक्त गरे । उनले भने,‘ मतदाताको घरघरमा पुग्दा हामी पराजित भएपनि तपाइँहरुसँग गरिएका वाचा पुरा गर्न पछि हट्नेछैनौं भनेका थियौं । आफु कार्यान्वयन गर्ने स्थानमा नपुगेकाले निर्वाचित नगरप्रमुख ज्युलाई कार्यान्वयनका लागि हस्तान्तरण गरेको हुँ।’
साथै उनले नगरपालिकाको कार्यान्वयन पद्धतिमा आफु निरन्तर निगरानी गर्ने पनि बताए । नगरप्रमुख मोहनमाया ढकालले प्रदेश राजधानीको विकासका लागि सबैको सहयोग, समन्वय आवाश्यक रहेको बताइन ।






