तमु ल्होसारको तयारी पूरा, भव्य रूपमा मनाइँदै

काठमाडौं, ९ पाैष ।

यसपटकको तमु ल्होसारको सम्पूर्ण तयारी पूरा भएको छ। यसपटक तमु गुरुङ समुदायले ’तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ’हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने भएको हो।

आज काठमाडौंको गोंगबुस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदमा पत्रकार सम्मेलन गर्दै तमु ल्होसार मूल आयोजक समितिले आफ्नो तयारी र तमु ल्होसारकोबारे जानकारी दिएको हो। तमु ल्होसार नेपाल मात्र नभएर विश्वभर मनाइने गरेको छ। नेपालको राष्ट्रिय पर्वमा घोषित तमु ल्होसारको अवसरमा सरकारले पुस १५ गते सार्वजनिक बिदा समेत दिँदै आएको छ।

हरेक वर्षझैं यस वर्ष पनि ’हि ल्हो’ (बिरालो वर्ग) वर्षलाई सबैको शुभ होस भनी तमु गुरुङ परम्पराअनुसार गुरुङ पूरोहित (खेगी) हरू पच्यु, क्ल्हेप्री, वोन्पो लम र लामा पुरोहितहरुद्वारा १४ गते रातको १२ बजे दुःख, दोखलोको ग्रह–दशा शान्ति पूजा गरी पुस १५ गते नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी ल्होसार मनाउने कार्य गरीने छ।

ल्होसार तमु (गुरुङ) हरूको सघन बस्ति भएको ठाउँहरूमा उहिलेदेखि धुमधामका साथ मनाउँदै आइरहेका पनि काठमाडौं उपत्यकामा तमु (गुरुङ) जातिहरूको बसोबास बढ्दै जाँदा काठमाडौंको टुँडिखेलमा भव्य रूपमा मनाउन थालिएको हो।

पुस १५ गते नेपालका प्रधामन्त्रीको प्रमुख आतिथ्यमा तमु ल्होसार सम्पन्न हुनेछ। ल्होसारको अवसरमा पुस १५ गते बिहान ९ बजे बसन्तपुरबाट तमु संस्कार संकृति झल्कने झाँकी सहित टुँडिखेल पुगेर भव्य रूपमा ल्होसार मनाउने तयारी रहेको छ।

यसै गरी तमु विद्यार्थी छोंज धिंले तमु ल्होसारको शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न गरेको छ। तमु ह्युलको सभाहलमा तमु ह्युल छोजंधी गुरूङ राष्ट्रिय परिषदका अध्यक्ष कर्ण गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले आफ्नो आधिकारिक वेवसाइटको समेत उद्घाटन गरेका छ।

यस्तै तमु ल्होसारको अवसरमा पुस १३ गते देखि लोक दोहोरि प्रतियोगिता, खेलकुद प्रतियोगिता पुरष्कार वितरण लगाएतका विविध गतिविधि रहने आयोजकले जनाएको छ।

सेताेपाटी 

Leave a comment

Your email address will not be published. Required fields are marked *