खानेपानी र सिँचाइको व्यवस्थाले स्थानीय खुसि

रुकुम पश्चिम, १० असार ।
वर्षौदेखि खानेपानी र सिँचाइको समस्या झेल्दैआएको रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ र ६ वडामा सिँचाइ, खानेपानी योजना निर्माण भएको छ । योजना सम्पन्न भएपछि वडा ५ को धनेखोला टोलका घरघरमा खानेपानी र बल्लेबासमा सिँचाइ सुविधा पुगेको छ ।
बल्लेबास पाइप सिँचाइ उपआयोजना र धनेखोला मुहान संरक्षण तथा खानेपानी उपआयोजना निर्माण सम्पन्न गरेर खानेपानी र सिँचाइको समस्या समाधान गरिएको हो । वर्षौदेखि खानेपानीको समस्या रहेको टोलका घरघरमै पानीका लागि धारा जोडेर स्थानीयलाई सहज बनाएको पूर्व वडाध्यक्ष लालबहादुर खत्रीले बताए । उत्पादनयोग्य भूमि हुँदा पनि सिँचाइको समस्या रहेकाले अब सो समस्या हटेको उनको भनाइ छ ।
स्थानीय अगुवा भीमबहादुर कुसारीले घरदेखि डेढ घण्टाको दूरीमा रहेको खानेपानी मुहान संरक्षण गरेर घर–घरमै खानेपानीको धारा जोड्न पाउँदा खुशी लागेको बताए । टोलका १९ ओटै घरमा खानेपानीको धारा आउन थालेको जानकारी दिनुहुँदै कुसारीले गाउँमा पाईप सिँचाई आयोजना पनि सम्पन्न गरेको बताउनुभयो । यसबाट करिब १०४ रोपनी जमिनमा सिँचाइ सुविधा पुग्ने उनले बताए ।

वत तथा वातावरण मन्त्रालयको पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) को सहयोगमा गाउँमा खानेपानी र सिँचाइ योजना पूरा गरिएको हो । आशा आयोजनाका जिल्ला संयोजक खिमराज वलीले आयोजनाको ११ लाख ९१ हजार १०३ र स्थानीय समुदायको दुई लाख ९७ हजार ७७६ रकम बराबरको श्रमदानबाट बल्लेबास पाईप सिँचाइ उपआयोजना निर्माण गरेको बताएका छन् ।
त्यसैगरी धनेखोला मुहान संरक्षण तथा खानेपानी आयोजनामा आशा आयोजनाको सात लाख ११ हजार ८९२ रकम लगानी भएको छ । जनश्रमदानबाट एक लाख ७७ हजार ९७३ रुपियाँ बराबरको लगानी छ । सानीभेरी गाउँपालिकाकै वडा ६ मा तीन वटा खानेपानी र सिँचाई आयोजना सम्पन्न भएको छ । उक्त वडामा कुकुरगारे सिँचाइ उपआयोजना, छहरा पाइप सिँचाइ उपआयोजना र लिस्नेखोला मुहान संरक्षण तथा खानेपानी उपआयोजना सम्पन्न भएका छन् ।
आशा आयोजनाका सब इन्जिनियर धनसिंह केसीका अनुसार कुकुरगारे सिँचाइ उपआयोजना चार लाख ८५ हजारमा सम्पन्न भएको हो । छहरा पाइप सिँचाइ उपआयोजना सात लाख ९१ हजार रुपियाँमा निर्माण भएको हो । त्यसैगरी लिस्नेखोला मुहान संरक्षण तथा खानेपानी उपआयोजना सात लाख ७४ हजार लागतमा सम्पन्न भएको के सि ले बताए ।
सिँचाई आयोजना निर्माण सम्पन्न भएपछि आयोजनाबाट ३९ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । करिब १२४ रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको स्थानीय डिलबहादुर खत्रीले बताए । त्यसैगरी लिस्नेखोला मुहान संरक्षण तथा खानेपानी उपआयोजना सम्पन्न भएपछि ३४ घरधुरीले घरमै खानेपानीको सुविधा पाएका छन् ।
स्रोत : गोरखापत्र






