रग्बी फिप्टिनमा नेपालको डेब्यु

काठमाडौं, ९ असार ।

नेपाली रग्बी टोलीले ढाकाको आर्मी रंगशालामा पहिलो अन्तर्राष्ट्रिय रग्बी फिप्टिनको आधिकारिक खेल खेलेको छ । ढाकास्थित आर्मी रंगशालामा पहिलो अन्तर्राष्ट्रिय रग्बी फिप्टिनको आधिकारिक खेल खेल्ने क्रममा बंगलादेशविरुद्ध नेपाली खेलाडी (नीलो) । नेपालले यसअघि रग्बी सेभेन मात्र खेल्दै आएको थियो ।

प्रतिद्वन्द्वी बंगलादेशले पनि पहिलो आधिकारिक रग्बी खेलेको हो । ‘बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज २०२२’ नाम दिइरहेको रग्बी १५ मा घरेलु टोली बंगलादेशले जित रचेको छ । खेलमा बंगलादेशले नेपाललाई ३१–७ स्कोरले हरायो ।
कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेका थिए । नेपालले ७ खेलाडीले खेल्ने रग्बी सेभेन मात्र खेल्दै आएको थियो ।

विश्व रग्वी महासंघको मुख्य प्रतियोगिता १५ खेलाडीले खेल्ने रग्बी फिप्टिन हो । त्यसमा भाग लिएपछि मात्र नेपाल विश्व रग्बी महासंघको पूर्ण सदस्य बन्न पाउँछ । नेपालका प्रशिक्षक टंकराज गिरीले सञ्चारकर्मीसँग भने, ‘यो ऐतिहासिक उपलब्धिको साक्षी हुन पाउँदा गर्व लागेको छ । अब नेपालको रग्बीमा अगाडि बढ्ने ढोका खुलेको छ ।’

कप्तान क्षेत्रीले पहिलो आधिकारिक प्रतियोगिता खेलेपछि भने, ‘रग्बी सेभन खेलेको दशक बढी भइसक्यो । बल्ल आज आएर आफ्नै कप्तानीमा फिप्टिनको खेल खेल्न पाएँ । ज्यादै खुसी छु , अब हाम्रो लक्ष्य रग्बीको डिभिजन ३ खेल्ने हुनेछ ।’ नेपाल अहिलेसम्म डिभिजनबिहीन छ । रग्बी फिप्टिन खेलेपछि अब त्यो बाटो खुल्नेछ ।

बुधबारको खेल निकै प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा बंगलादेशले जम्मा एक ट्राइ (५ अंक) मात्र बटुल्यो । घरेलु मैदानको फाइदा उठाउँदै बंगलादेशले दोस्रो हाफमा २६ स्कोर थपेर नेपाललाई दबाबमा राखेको थियो । खेलको अन्तिम समयमा भने नेपालले खेल पूर्ण रूपमा नियन्त्रण राख्दै एक ट्राइ (५ अंक) हान्न सफल भयो । विराट श्रेष्ठले उक्त स्कोर गरेका हुन् ।

यो सँगै उनी नेपालका लागि रग्बी फिप्टिनमा स्कोर गर्ने पहिलो खेलाडी बने । ट्राइ गरेपछि सिधा पोस्टमा कन्भर्सन (गोलपोस्टमा सिधा हान्ने) को अवसर पाउँछ । श्रीराम श्रेष्ठले उक्त कन्भर्सन मा स्कोर (२ अंक) गरेपछि नेपालको स्कोर ७ पुग्यो । विराट नेपाली टोलीका उपकप्तान हुन् । ३१ वर्षे उनले मैदान छिर्नु अघि भनेका थिए, ‘रग्बी खेलिकन अझैसम्म एक ट्राइ हानेको छैन । आज हान्ने हो ।’ बोलेजसरी नै उनले उत्कृष्ट स्कोर गरेका हुन् ।

 

खेलको ७५ औं मिनेटमा टोलीका अग्ला खेलाडी श्रीरामले मिलाइदिएको पास सदुपयोग गर्दै उनले बल लिएर स्कोरलाइनमा डाइभ हानेका थिए । बाग्लुङका विराट नेपाली रग्बी टोलीका पुराना खेलाडीमध्ये एक हुन  उनले करिअरको पहिलो स्कोर, त्यो पनि रग्बी फिप्टिनमा गर्न पाउँदा एकदमै खुसी लागेको सुनाए ।

स्रोत : कान्तिपुर

रग्बी फिप्टिनमा नेपालको डेब्यु

विश्व बजारमा इन्धनको मूल्य उच्च बिन्दुमा

रग्बी फिप्टिनमा नेपालको डेब्यु

कालिमाटी गाउँपालिका को गाउँ सभा सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *