पाँच करोड लागतमा ‘आवास गृह’ बनाउँदै कर्णाली सरकार

सुर्खेत, ९ माघ ।
कर्णाली प्रदेश भौगोलिक रुपमा विकट छन् । हुम्ला, मुगु र डोल्पाका नागरिकलाई प्रदेश राजधानी वीरेन्द्रनगर आउनै हप्तादिन लाग्छ । औषधि उपचार र सरकारी कामका लागि राजधानी आउँदा दुर्गमका नागरिकले समय र पैसा दुबै खर्चिनु पर्छ । वीरेन्द्रनगरमा आउन सहज छैन । पूर्वाधार विकास कमजोर हुँदा आउजाउ गर्न सहज छैन ।
जेनेतन राजधानी झेर पनि वीरेन्द्रनगरको बसाई महंगो छ । जसकाकारण आर्थिक रुपमा विपन्न नागरिकका लागि वीरेन्द्रनगरमा बस्न र औषधि उपचार गर्न मुश्कील पर्छ । एकातिर प्रदेशको विकटता र अर्काेतिर गरिवी । यही समस्यालाई मध्यनगर गर्दै कर्णाली प्रदेश सरकारले राजधानीमा आउने दुर्गमका नागरिकलाई सस्तो र सहज रुपले बास दिनेगरी ‘कर्णाली नागरिक अतिथि आवास गृह’ बनाउने भएको छ । अथिति गृहमा विशेषगरी उपचारका लागि राजधानी बाहिरबाट आएका विरामी र अन्य नागरिकले सस्तो दरमा बास बस्न पाउने छन् ।
‘उपचारका लागि राजधानी बाहिरबाट आउने विरामीलाई सस्तो दरमा बास दिनका लागि अतिथि आवास गृह बनाउन लागेका छौँ’ कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले भने, ‘वीरेन्द्रनगर नगरपालिकासँग समन्वय गरेर पूर्वाधार निर्माण गर्छाँै ।’ प्रदेशसँग आफ्नै जग्गा नभएका कारण वीरेन्द्रनगर नगरपालिकालाई अथिति आवास गृह निर्माणको जिम्मा दिन लागिएको हो ।
नगरपालिकाले वडा नं. ६ को राम मन्दिर (सिटी हल पछाडि) को जग्गामा अथिति आवास गृहका लागि प्रस्ताव गरेको छ । ‘राम मन्दिर क्षेत्रमा अतिथि आवास गृह बनाउने प्रस्ताव भएको छ’ नगरप्रमुख देवकुमार सुवेदीले भने, ‘तर यही नै फाइल होइन, बजेट आएपछि जग्गाको टुंगो लगाउँछौँ ।’
आवासगृह बनाउने नगरपालिकाको योजना अनुसार नै प्रदेशले बजेट विनियोजना गरेको भन्दै उनले जग्गा अभाव नहुने बताए । ‘नगरपालिकाको योजना अनुसार प्रदेशले बजेट व्यवस्थापन गरेको हो, अहिले राम मन्दिर क्षेत्रलाई प्रस्ताव गरेका छौँ’ नगरप्रमुख सुवेदीले भने, ‘ त्यहाँ सम्भव नभए पनि बजार क्षेत्रमै अतिथि गृह बनाउछौँ ।’
आवास गृहको लागि नगरपालिकाले जग्गा अभाव नहुने जनाएको छ । कोरोना महामारीमा आवास गृह बनाएपछि विरोध हुनेसक्ने भन्दै नगरपालिकाले प्रदेश सरकारले उपचारका लागि आउने नागरिकका लागि आवास गृह भनेर बजेट विनियोजना गरेको हो । तर आवास गृहमा विरामीसहित दुर्गमबाट आउने नागरिक समेतले सेवा पाउने छन् ।
आवास गृह निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक बर्षमा पाँच करोड बजेट विनियोजना गरेको छ । सोही बजेट कार्यान्वयन गर्न प्रदेशले नगरपालिकालाई जिम्मा दिने तयारी गरेको छ । प्रदेशले बजेट नगरलाई बजेट दिएपछि जग्गाको एकीन गर्ने र पूर्वाधार निर्माण सुरु गर्ने नगरपालिकाको योजना छ ।
उत्तरगंगामा किरियापुत्री भवन
प्रदेश सरकारले किरियापुत्री भनव पनि बनाउने भएको छ । वीरेन्द्रनगर–२ उत्तरगंगा मन्दिर क्षेत्रमा किरियापुत्री भवन बनाउन लागिएको हो । भवन निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक बर्षमा एक करोड बजेट छुट्याएको छ । वीरेन्द्रनगरमा घर भएका नागरिकले मृतको काजकिरिया गर्नका लागि भवन बनाउन लागिएको हो ।
धार्मिक परम्परा अनुसार आफन्तको निधन भएका परिवारले १३ दिनसम्म काजकिरिया गर्ने चलन छ । काजकिरियाको समयमा सान्त्वना दिन आफन्तहरु आउने गर्दछन् । तर घर नभएका अर्थात भाडामा बस्नेहरुका लागि मृतकको काजकिरिया गर्नु सहज हुँदैन । धर्ममा कट्टर विश्वास गर्ने व्यक्तिहरुले भाडावालालाई काजकिरिया नै गर्न दिँदैनन् । यही समस्यालाई ध्यानमा राखेर प्रदेश सरकारले किरियापुत्री भनव बनाउन लागेको हो ।






