बेवारिसे बच्चाकी आमा अन्जु्

लक्ष्मी भण्डारी
सुर्खेत,८ असार ।

तीन महिना अघि वीरेन्द्रनगर —१२ की अन्जु गुरुङ बिहान चाढे चार बजे गाई दुहुन भनेर उठिन् । गाई दोहोएर चुलोमा दुध बसालिन र मोबाइल हेर्न लागिन् । उनले टिकटक लाइभमा बच्चाको विषयमा कुरा उठेपछि चासो दिएर हेरिन् । त्यहाँ कुमारी आमाको बच्चा जन्मिएको र बच्चालाई लैजाने कोही नभेटिएको थाहा पाइन् । कसैले छोरा भएपछि पाल्न लैजाने नत्र नलैजाने भनिरहेको अन्जुले थाहा पाइन् । ‘

मेरो पढाई नभएकाले भदैनीलाई म्यासेज गर्न लगाए’ उनले भनिन्, ‘घरको सरसफाई सकेर खाना बनाए र उक्त बच्चा भएको ठाउँमा पुगे ।’ त्यहाँ पुग्दा एक जना १७ वर्षिय कुमारी आमाले बच्चा जन्माएको दुई दिन भएको थियो । ती कुमारी आमाको अवस्था नाजुक थियो । घरपरिवारलाई थाहै थिएन । कालिकोट घर भएकी ती १७ वर्षिय किशोरी वीरेन्द्रनगरमा कोठा भाँडामा बसेर पढ्दै आएकी रहिछन् ।

 

एक जना युवकसँग माया पिरती बसेको रहेछ । विवाह गर्छु भनेर सम्बन्ध राखेको र गर्भवती भएको थाह पाएपछि ती युवक फरार भएछन् । सुरुवातमा गर्भवती भएको थाह नपाएकी ति किशोरी पछि थाह पाउँदासम्म गर्भपतन गर्न नमिल्ने अवस्था आएछ । यो अवस्थामा उनी परीक्षाको निहुँ गरेर घरमा पनि गइनन् । किशोरीका साथीहरुले उनलाई सहयोग गरेका रहेछन् । बच्चालाई कसैले लगेर पालिदिए हुन्थ्यो भन्ने सोचमा रहेछन् ।

त्यहाँ पुग्दा ती बहीनीको टिठ लाग्यो अनि बच्चा मैले हेरिदिन्छु बहिनी आफ्नो भविष्य बनाउनुहोस्, पढ्नुहोस् भनेर बच्चा लिएर आए’अन्जुले भनिन्, ‘ती किशोरी पनि खुसी भइन् उनलाई तीन हजार रुपियाँ केही किनेर खानुहोला भनेर दिए र घर फर्किए।’ अहिले अन्जुले ल्याएको नवजात शिशु तीन महिनाकी भएकी छन् । बट्टाको दुध खुवाएर हुर्काएकी छन् । सुर्खेतको तरंगा स्थित भेरी नदीको किनारमा बेवारिसे हिडेका थिए पाँच वर्षे बालक ।

गाउँलेहरु मिलेर खाना दिन्थे, कहिले भोकै हिड्थे उनी । बुवा कमाउन इण्डिया गएपछि फर्केनन् उतै विवाह गरेर बसे । आमाले अन्तै विवाह गरेर गएपछि उनी घरमा एक्लो भए । बच्चाको अवस्थाबारे अन्जुको दीदी पर्नेले सुनाइदिए । अन्जु बच्चा भएकै ठाउँ पुगिन् । ‘स्याउ र सुन्तला लगेर भेट्न गए उसले आफ्नो आमा जस्तो मानेर झम्टिएर रोयो ।

म पनि रोए’ अन्जुले भनिन्, ‘त्यो बच्चाले तपाईसँग जान्छु भन्यो र सँगै लिएर आए ।’ एक वर्ष यही बस्यो । यहीको स्थानीय विद्यालयमा पढाएकी थिइन् अन्जुले । एक वर्षपछि बालकको बुवा घरमा आएपछि छोराको खोजी गरेछन् र लिन भनेर आए । ‘बच्चाले रोयर बुवासँग जान्न यही बस्छु भन्यो’ आँखाभरी आँशु बनाउँदै उनले भनिन्, ‘उसलाई पठाएर फर्किदा म पनि रुदै फर्किए ।

सुरुमा त बच्चाले फेरि दुःख पाउने होकी भनेर दिन मानिनन् । पछि कागज बनाएर मात्र बच्चालाई सुम्पिइन् । ‘ अन्तिममा त्यो बच्चालाई नयाँ कपडा किनेर दिए, खानेकुराहरु दिएर उसको बुवासँग पठाए ।’ उनले भनिन् । त्यसैगरी दैलेखका एक दम्पती आफ्नो काखको बच्चालाई हुर्काउन नसक्ने
अवस्थामा थिए । बच्चालाई खानेकुराको अभावमा ख्याउटे हुँदै गएको थियो । आर्थिक अवस्था निकै दयनीय रहेको ती दम्पती रोगले ग्रस्त भएका रहेछन् । बच्चाको अवस्थाबारे अन्जुले आफन्तबाट बुझ्ने मौका पाइन् । गाउँलेहरु उक्त बच्चालाई बाच्न गाह्रो छ भनिरहेका थिए । तर, अन्जुले जसरी पनि उक्त बच्चालाई बचाउँछु भनेर लिन गइन् ।

अभिभावकले आफ्नो बच्चा अन्जुलाई सुम्पिए । उनले औषधी गर्नको लागि उक्त बच्चालाई काठमाडौसम्म पनि लगिन् । दुई महिनाकी ती बच्चा अहिले शिशु कक्षामा पढ्न जाने भएकी छन् । यी त उदाहरणमात्र हुन् । अन्जु विगत पाँच वर्षयता बेवारिसे अवस्थाका सात जना बालवालिका हुर्काएकी छन् । उनका आफ्ना तीन वटा छोराछोरी छन् ।

‘म अहिलेसम्म १२ जना छोराछोरीको आमा भइसके’ उनी भन्छिन्, ‘मलाई सबैभन्दा प्यारो शब्द नै आमा भनेको लाग्छ ।’ अधिकांसले आफ्नै बच्चा हुर्काउन पनि झिजो मान्ने गर्छन् । कतिपयले एक, दुई बच्चा हुर्काउन पनि हम्मे हम्मे परेको बताउँछन् । कतिले त बच्चाहरुलाई हेरचाह केन्द्रमा पठाउने गर्दछन् ।

तर, बेवारिसे अवस्थामा रहेका दर्जन बढी बालवालिकालाई खोजेरै हुर्काउँदै आएकी छन् अन्जु । सडकमा रहेका बेवारिसे वालवालिका हुन् या कोही सालनालसँगै भेटिएका बच्चा घरमा ल्याएर पालनपोषण गर्दै आएकी छन् । कमलो स्वाभावकी अन्जु जो सुकै बच्चालाई पनि दुःख पाएको देख्न सक्दिनन् । उनले थाह पाउने बित्तिकै उद्धार गर्न जान्छिन् ।

‘मेरो सानैबाट बच्चाहरुलाई दुख पाएको देख्न नसक्ने बानी छ । बाटामा बच्चाहरु देखेपनि माया लागेर आउँछ’ उनी भन्छिन्, ‘बच्चा कतै समस्यामा परेको देख्ने बित्तिकै रुन मन लाग्छ ।’ सेवा नै धर्म भएकाले बालवालिकाको उद्धारको काममा लाग्छु भनेरै यो काममा लागेको
उनी बताउँछिन् । उनको यो पुण्य काममा श्रीमान र छोराछोरीले पनि साथ दिएका छन् ।

‘सुरुवातमा यस्तो झन्झट काममा नलाग भन्नुहुन्थ्यो पछि उहाँलाई नै ती बच्चाको माया लाग्न थालेछ’ अन्जुभन्छिन्, ‘अहिले त केही भन्नुभएको छैन श्रीमानले पनि, काममा सहयोग गर्दै आउनुभएको छ ।’ सामान्य परिवारमा जन्मिएकी उनी सानैबाट संघर्ष गर्दै आइन् । अहिले उनी घरमा गाई फर्म सञ्चालन गरेकी छन् । उनको आम्दानीको श्रोत भनेकै दुध बिक्री गर्नु हो । त्यही दुध खुवाएर आफुले ल्याएका बच्चाहरु हुर्काउँदै आएकी छन् ।

फर्ममा अहिले सात वटा गाई रहेका छन् । गाई फर्म सञ्चालन गरेकी अन्जुले कहिबाट पनि अनुदान भने प्राप्त गरेकी छैनन् । ‘कसरी ल्याउँछन्, कहाँबाट ल्याउनुपर्छ केही थाह छैन’ उनी भन्छिन्, ‘अहिलेसम्म कहीबाट पनि सहयोग  प्राप्त गरेको छैन ।’

बेवारिसे बच्चाकी आमा अन्जु्

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *