कर्णालीमा उम्मेदवार सिफारिस गर्न एमालेलाई गुटले समस्या, गठबन्धमा ‘गन्जागोल’

सुर्खेत, ९ बैशाख ।
बिहीबारदेखि देशभर स्थानीय निर्वाचनको सरगर्मी बढेको छ । सबै जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचनको माहोल तातिएको हो ।
मुख्य निर्वाचन कार्यालयले स्थानीय तहमा मतपत्र वितरण, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अनुशिक्षण लगायतका गतिविधि गर्ने छ । स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले मनोनयनदर्तासहित सम्पूर्ण निर्वाचन प्रक्रिया सुरु गर्ने छन् ।
निर्वाचन कार्यतालिका अनुसार यही ११ र १२ मनोनयन दर्ताको समय तोकिएको छ । वैशाख १२ आउन अब तीन दिनमात्र बाँकी छ । मनोनयन दर्ता गराउने समय नजिकिए पनि कर्णाली प्रदेशमा भने उम्मेदवार सिफारिसमा भने दलहरु चुनेका छन् ।
माओवादी केन्द्रले वैशाख ५ गतेभित्रै सबै उम्मेदवारको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्न परिपत्र नै गरेको थियो । एमालेलाई पनि वडालाई ३ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न भनिएको थियो ।
काँग्रेसले पनि वैशाख ६ गतेमात्रै स्थानीय र प्रदेश तहका पदाधिकारीहरुलाई परिपत्र गर्दै उम्मेदवारको नाम सिफासिर गर्न भनेको थियो । तर ति दलहरुले तोकिएको समयमा उम्मेदवार सिफारिस गर्न सकेनन् ।
ठूला दलहरुमात्रै नभइ साना दलहरुले पनि निर्वाचनको हप्ता दिनअघि उम्मेदवारको नामावली सिफारिस गर्न परिपत्र गरेका थिए । साना दलले पनि तोकिएको समयमित्र उम्मेदवार सिफारिस गर्न सकेका छैनन् ।
सबै दलहरुले गुटगत समस्या र आकांक्षीहरु धेरै भएपछि उम्मेद्वार सिफारिस गर्न ढिलाई गरेका हुन् । ठूला दलहरुमध्ये एमालेमा गुटगत समस्या छ भने सत्तारुढ गठबन्धन आफै अन्यौलमा छ ।
‘उम्मेदवार सिफारिसमा पार्टीभित्र खासै समस्या छैन, सबैलाई मिलाएर लिंदा केही ढिलाई मात्र भएको हो’ एमालेका एक प्रदेश कमिटी सदस्यले भने, ‘फरक– फरक समूहका आकाँक्षीका कारण सर्वसम्मत हुन नसकेको मात्र हो ।’
एमालेले दैलेखका केही पालिकामा निर्वाचनबाट उम्मेदवार टुङ्गो लगाएको थियो । कर्णाली प्रदेशका अध्यक्ष विनोद शाहले अहिले उम्मेद्वारको सिफारिसका लागि अन्तिम छलफलहरु भइरहेको बताउँछन् । ‘उम्मेदवार छान्नका लागि विभिन्न कमिटीका बैठकहरु बसिरहेका छन्’ उनले भने, ‘दश गतेभित्र कर्णालीका सबै जिल्लामा उम्मेदवार टुङ्गाउँछौँ ।’
एमालेले कर्णालीका कुनै पनि जिल्लामा उम्मेदवार छानि सकेको छैन । आकांक्षीहरु धेरै हुनु र फरक गुटका नेतालाई मनाउन नसकेपछि उम्मेदवार सिफारिसमा समस्या भएको हो । यस्तै सत्तारुढ पाँच दलिय गठबन्धन भित्र भने गन्जागोलको अवस्थामा छ । गठबन्धन हुने नहुने एकीन नभएपछि जिल्लाहरुमा गठबन्धनका दलहरुले उम्मेदवार सिफारिस गर्न सकेका छैनन् ।
‘जिल्लाबाट नै उम्मेदवारको लिस्ट आइपुगेको छैन’ नेपाली काँग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले भने, ‘जिल्लामा सहमति हुन बाँकी रहेका कारण उम्मेदवार सिफारिसमा ढिलाई भएको छ ।’ प्रदेशका सबै जिल्लामा तालमेल हुनसक्ने अवस्था नभएपछि जिल्लाबाट उम्मेदवारको लिस्ट आउन ढिलाई भएको उनको भनाइ छ ।
प्रदेशका दश जिल्लामध्ये सल्यान, रुकुमपश्चिम र हुम्लामा गठबन्धन नहुने निश्चित भइसकेको छ । जाजरकोट र हुम्लामा सहमतिको वातावरण बनेको छ । यद्यपी ति जिल्लाहरुमा पनि सहमतिको एकीन खाका तयार भइसकेको छैन । सुर्खेत, दैलेख, कालीकोट र डोल्पामा गठबन्धन छलफलमै छन् ।
उम्मेदवारका लागि धरौटी रकम तोकियो
यस्तै निर्वाचन आयोगले उम्मेदवारका लागि धरौटी रकम तोकेको छ । निर्देशिकाको दफा ३६ बमोजिम वडा सदस्य पदको लागि पाँच सय रुपैयाँ, वडा अध्यक्ष पदको लागि एक हजार रुपैयाँ धरौटी राख्नुपर्छ ।
त्यस्तै अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख पदको लागि एक हजार पाँच सय रुपैयाँ र गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको सदस्य पदको लागि पाँच सय रुपैयाँ धरौटी राख्नु पर्ने छ ।
यद्यपि, महिला र दलित वा अल्पसंख्यक समुदाय वा ‘आर्थिक रुपले विपन्न’ (वार्षिक पारिवारिक आय पचास हजार रुपैयाँभन्दा कम भएको भनी सम्बन्धित स्थानीय तहले सिफारिस गरेको) व्यक्तिको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था पनि निर्देशिकामा छ ।
धरौटी राखेको बैंक भौचर वा नगदी रसिद मनोनयनपत्रको साथमा संलग्न गर्नुपर्ने व्यवस्था छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दुई दिन (११ र १२ गते) मनोनयन दर्ताको समय तोकेको छ । १२ गते अपरान्ह मनोनयन भएका उम्मेद्वारको सूची प्रकाशन गर्ने आयोगको तयारी छ ।
राप्रपाले आज उम्मेद्वार टुङ्गाउने
यस्तै राप्रपाले सुर्खेतमा आज (शुक्रबार) उम्मेदवार टुङ्गो लगाउने भएको छ । बिहीबार बसेको जिल्ला कमिटी बैठकले आज साँझसम्म सबै उम्मेदवार टुङ्गाउने निर्णय गरेको हो ।
विहीबार उम्मेदवार छनौट गर्ने उद्देश्यले जिल्ला कमिटी बैठक बसेको थियो । तर आकांक्षीहरु धेरै भएपछि थप छलफल गरेर आज उम्मेदवार टुङ्गाउने निर्णय गरिएको एक नेताले जानकारी दिए। राप्रपाले जिल्लाका नौवटै स्थानीय तहमा उम्मेदवार दिने तयारी गरेको छ ।
खुले मुख्य निर्वाचन र निर्वाचन कार्यालय
यसैबीच कर्णाली प्रदेशका सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र हरेक स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । दशवटै जिल्लाका जिल्ला सदरमुकाम मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले कर्णाली सबै पालिकामा निर्वाचन कार्यालय स्थापना गरिको जानकारी दिए । सुर्खेतको वीरेन्द्रनगरमा जल तथा मौसम विज्ञान कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना ग िर ए क ा छ ।
मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्य र वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले कार्यालयको शुभारम्भ गरेका छन् । मुख्य निर्वाचन अधिकृत आचार्यले मतपत्र वितरण, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अनुशिक्षणलगायतको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै हुने जानकारी दिए ।
उम्मेदवारको मनोनयन दर्तालगायतका कार्य भने सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयबाट हुनेछन् । िन र्व ा च न क ा र्य ा ल य स्थापनासँगै निर्वाचन अधिकृत पनि सम्बन्धित निर्वाचन कार्यालयमा पुगेका छन् ।





